सांसदलाई बजेट चरम बेइमानी र राष्ट्रघातः साझा



काठमाण्डौ । साझा विवेकशील पार्टीले प्रस्तुत वार्षिक वजेटमा अर्बौं रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको घोषणाको भत्सर्ना गरेको छ । सांसदलाई बजेट छुट्याउने कामलाई चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघातको संज्ञा दिएको हो । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार प्रेस विज्ञप्तिमार्फत सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण गर्न खोजिएको भन्दै त्यो सबैभन्दा घातक सिण्डिकेटमा परिणत हुने दाबी गरे ।

संघीय संसदका सांसदलाई प्रतिसांसद ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरुले पनि आइतबार प्रस्तुत वार्षिक बजेटमा अरबौँ रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको भन्दै साझा विवेकशील पार्टीले कडा भर्त्सना गरेको छ । ‘भौतिक विकासका लागि नीति, योजना र कार्यान्वयनका पक्षसँग जोडिने नयाँ कानुनको निर्माण या विद्यमान कानुनको परिमार्जनका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर सांसदहरुलाई नै पूर्वाधार आयोजनाका लागि बजेट छुट्याउनु स्पष्ट रूपमा राज्यदोहन हो । यसले ‘योजनावद्ध विकास’ होइन गाउँ–गाउँ, पहाड–पहाडमा ‘डोजर विनास’ मात्र निम्त्याउँछ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रम भेट्न बालुवाटार पुगे प्रचण्ड

त्यस्तै साझा विवेकशील पार्टीले सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिस्कार गरी सुसंस्कृत राजनीतिको सन्देश दिन आग्रह गरेको छ । साझा पार्टी बाट प्रदेश नम्बर ३ मा प्रतिनिधित्व गर्ने सांसद शोभा शाक्यले भने सांसदलाई छुट्याइएको बजेट नलिने सार्वजनिक रुपमै घोषणा गरिसकेकी छिन् ।