विप्लव समूहका गतिविधि नियन्त्रणमा प्राथमिकता दिनुसः गृहमन्त्री



काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहका गतिविधि नियन्त्रणमा प्राथमिकतामा दिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रुपमा खटिन लागेका सात डिआईजीलाई मंगलबार शान्ति सुरक्षा र सुशासन बलियो बनाई जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

प्रतिपक्षले साना विषय पनि उछालिरहेकाले सचेततापुर्वक काम गर्नुपर्ने उनको भनाई छ । तस्करीका नयाँ रुट खुलेको सुनिएको र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गरेकाले त्यसमा सचेत हुन भनेका छन् । विप्लव समूहका गतिविधि नियन्त्रण, राजावादी र विखण्डनवादिका गतिविधि पनि निगरानीमा राख्न उनले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रम भेट्न बालुवाटार पुगे प्रचण्ड

गत शुक्रबार गृहले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको थियो । प्रदेश नम्बर १ मा ठाकुर ज्ञवाली, प्रदेश नम्बर २ मा प्रद्युम्न कार्की, प्रदेश नम्बर ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश नम्बर ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाएको थियो ।