तुलसीपुर उपमहानगरपालिकाले अब जन्मिने छोरीलाई वार्षिक भत्ता दिने



काठमाण्डौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि जन्मिने छोरीलाई वार्षिक भत्ता दिने भएको छ । ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ सुरु भएपछि जन्मिने छोरीहरुलाई मासिक रु १०० का दरले वर्षमा एकमुष्ट १ हजार २०० भत्ता दिने भएको हो ।

‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिकरूपमा एकमुष्ट रु १ हजार २०० उपलब्ध गराउने नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउने र छोरीहरु २० वर्ष पुगेपछि मात्र एकमुष्टरूपमा झिक्न मिल्ने व्यवस्था गरिनेछ ।

अन्य सम्बन्धित समाचार:  सडकमा धान रोप्दै हरिसिद्धिका स्थानीय (फोटो फिचर)

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने प्रमुख पाण्डेको भनाइ छ ।