पात्ले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना



काठमाण्डौ । ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्ले स्थित ‘पात्ले स्वास्थ्य चौकी’मा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ग्रामिण क्षेत्रको स्वास्थ्य चौकीबाट बर्थिङ सेन्टरको अभावमा गर्भवति महिला तथा नवजात शिशुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई मध्येनजर गर्दै बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित वान हार्ट नेपाल नामक संस्थाको प्राबिधिक सहयोगमा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए । वान हार्ट नेपालले पात्ले स्वास्थ्य चौकीका लागि करिब २ लाख मूल्य बराबरको उपकरणहरु सहयोग गरेको छ ।

ग्रामिण क्षेत्रका गर्भवति महिलाहरुलाई सुरक्षित गर्भजाँच तथा सुत्केरीका लागि प्रोत्साहन गर्न उपकरण बहुउपयोगी हुने वडा अध्यक्ष सुनुवारको बिश्वास छ । स्वास्थ्य चौकीमा उपकरण उपलब्ध भएसँगै बिशेषज्ञ चिकित्सक सहितको बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी छ । साथै स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गराउने महिलालाई वडापालिकाबाट प्रोत्साहान स्वरुप नगद रकम प्रदान गर्नेछ ।

अन्य सम्बन्धित समाचार:  आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?

गर्भअवस्थाका महिलाहरु प्रसुति हुनुभन्दा एक हप्ता अघि नै स्वास्थ्य चौकी पुगे उनीहरुलाई खाना तथा बासको समेत निःशुल्क ब्यवस्था गरिएको अस्पतालले जनाएको छ । वडाले नियमित जाँचपछि स्वास्थ्य चौकीमै सुत्केरी हुने महिलालाई एक हजार रुपैया प्रदान गर्ने पनि वडा अध्यक्ष सुनुवारले बताए ।

यसले ग्रामिण क्षेत्रका गर्भवति महिलाहरुलाई बर्थिङ सेन्टरको अभावमा घरैमा प्रसुति गराउनुपर्ने बाध्यता हटेको छ । असुरक्षित रुपमा घरैमा सुत्केरी हुने महिलाहरुलाई स्वास्थ्य चौकीसम्म ल्याउनका लागि विभिन्न कार्यक्रम सार्वजनिक गर्ने वडाको तयारी छ । यसले सुत्केरी अवस्थामा हुने मुत्यु तथा बाल मुत्युदरलाई समेत घटाउने वडापालिकाले जनाएको छ ।