विद्यार्थीको कोटा बढाइदिन वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग



काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले विद्यार्थीहरुको सिट संख्या बढाइदिन माग गरेका छन् । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति रौनियारले २५० सिट र्पुयाउन माग गरेका हुन् । चिकित्सा शिक्षा ऐन आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो ।

बैठकमा समिति सदस्य उमेश श्रेष्ठले पनि सक्षम मेडिकल कलेजहरुका हकमा सिट संख्या बढाउनु उपयुक्त हुने बताए । जति धेरै सिट दिन सक्यो उति धेरै विद्यार्थी विदेश पढ्न जान रोकिने र मेडिकल कलेजहरु पनि आर्थिक रुपमा सक्षम हुने उनको भनाइ थियो । उपसमितिले बुधबार मेडिकल कलेजले लिइरहेको शुल्कका विषयमा छलफल गर्न प्रतिष्ठानका उपकुलपति रौनियारलाई बोलाएको हो । छलफलमा उपकुलपति रौनियारले आफुहरुले सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको दाबी गरे ।

अन्य सम्बन्धित समाचार:  सुनचाँदी व्यवसाय सङ्कटमा परेपछि मजदूरले पेशा परिवर्तन गर्न थाले