अनि जाग्छ जनता र ढल्छ सरकार



एउटा यस्तो परिकल्पना
जहाँ
जनताका सन्तति
जनताबाट चुनिएर जनताकै लागि
केही गरून्
यस्तो गरून्
जहाँ पुजा गरिरहेका
भगवान् पनि बिर्सन सकियोस्।

जनताको त्यो सन्तान
जब कुर्सीमा पुग्छ
केही समुहको प्रलोभनमा
शक्तिको भोकमा हराउछ
सरकारको एउटा पात्र
आफैलाई सरकार देख्छ।
नानाथरी हुकुम जारी गर्छ सरकार।
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

हिजोको त्यो जनता
जब साथमा सुरक्षाकर्मी देख्छ
शक्तिशाली भएको भ्रममा
सुरक्षाकर्मीकै जोड घटाउ थाल्छ
सुरक्षा माग्ने कमजोर जनता
सरकारको सुरक्षा चुनौती देख्छ।
जनता बढी सुरक्षित देख्छ सरकार।
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

हिजोको त्यो प्रतिनिधि
जब साथमा मिष्ठान्न भोजन देख्छ
भोक माथि विजय गरेको भ्रममा
भोजनमा पनि कमिशन खोज्छ
भोजन माग्ने भोका जनता
सरकारका कटु बिरोधी देख्छ
जनता अन्नले पुरिएको देख्छ सरकार
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

हिजोको त्यो गरिब
जब जनताका तिरोमा सुखसयल गर्छ
गरिविले कहिले नछोएको भ्रममा
जनताकै तिरोमा आफ्नो भाग खोज्छ
तिरो तिर्ने गरिव जनता
सरकारका भ्रष्टाचार बिरोधी देख्छ
जनताकै अरबौको फोकटमा सक्छ सरकार
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

हिजोको त्यो योद्धा
जब कानुन बनाउने ठाउमा पुग्छ
यो कानुनले कहिले नछुने भ्रममा
कानुन माथी कानुन ल्याउछ
अदालत धाउने कमजोर जनता
सरकारका कानुन बिरोधी देख्छ
कानुन आफ्नै फाइदामा बनाउछ सरकार
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

हिजोको त्यो जनता
जब केही देशको भ्रमण गर्छ
यो देश फेरि कहिले नचाहिने भ्रममा
आफ्नै सम्पदामा प्रहार गर्छ
संस्कृति जोगाउने कमजोर जनता
सरकारकै सम्पदा बिरोधी देख्छ
संस्कृतिको बिरुद्धमा हतियार झिक्छ सरकार।
अनि
सरकार जनतानै शत्रु ठान्छ
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार

सरकार!
कुर्सीको, सुरक्षाकर्मीको, भोजनको
जनताको तिरोको, कानुनको र हतियारको
हामीलाई फुर्ती नदेखाएकै बेस।
किनकी
न कुनै कुर्सी कालजयी छ
न कुनै हतियार बलियो
जब जनताको चित्त दुख्छ नि!
तब आवाज फुट्छ, मसाल बल्छ
अनि जाग्छ जनता र ढल्छ सरकार।

के तपाईले हाम्रो फेसबुक पेज लाईक गर्नुभयो?