यू–२३ का गोलरक्षक कार्की भुटान प्रस्थान



काठमाडौं
नेपाली यू–२३ राष्ट्रिय टोलीका गोलरक्षक अर्पण कार्की भुटान प्रिमियर लिग खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल यू–१९ टोलीका कप्तानसमेत रहेका कार्कीले पारो एफसीबाट पहिलो पटक भुटानी लिग खेल्न लागेका हुन् ।

यसअघि पनि नकआउट फुटबलमा पारो एफसीबाट खेलिसकेका कार्कीलाई त्यसबेला गरेको उत्कृष्ट प्रदर्शनकै कारण यस पटक पनि डाकिएको हो ।

कार्कीले यसअघि पारोबाट नकआउट प्रतियोगिता जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेलेका थिए । सो प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनका कारण पारो एफसी च्याम्पियन बनेको थियो ।

६ महिनासम्म चल्ने यो लिग आगामी २२ जुनबाट सुरु हुने छ ।