भारतीय संसदमा नेपाली भाषामा शपथ



काठमाडौं

भारतीय संसदमा दुई सांसदहरुले नेपाली भाषामा शपथ लिएका छन् ।

सांसद राजु विष्ट र इन्द्रहाङ सुब्बाले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिएका हुन् । भारतीय संसदको तीन नेपाली सांसदमध्येको दुई सांसदले आज नेपाली भाषामा शपथ लिएका हुन् ।

हालैको लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार विष्ट, सिक्किमको सिक्किम क्रान्तिकारी मोर्चाबाट सुब्बा र उत्तरखण्डमा भाजपाबाटै माला राज्यलक्ष्मी शाह सांसद बनेका हुन् ।

यसअघि २२ मार्च १९७१ मा दार्जिलिङका सांसद रतनलाल ब्राहृमणले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिने कोसिस गरेका थिए । तर उनलाई नेपाली भाषामा शपथ लिन दिईएका थिएन ।

२० अगस्ट १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत नेपाली भाषालाई भारतीय भाषाका रूपमा भारत सरकारले मान्यता प्रदान गरेको हो ।

नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा परेको ४ वर्षपछि सन् १९९६ मा दार्जिलिङबाटै सांसद बनेका आरबी राईले पहिलोपल्ट नेपाली भाषामा शपथ ग्रहण गरेका थिए ।