किशाेरीमा महिनावारी : सामाजिक दृष्टिकाेण, भ्रम र यथार्थ

Prabhu Bank

शैलिका छेत्री-

Saftey Pads

नेपाली साहित्यमा धेरजसो नारीको हृदयस्तरमा उब्जिने विविध रीतिकालीन अनुभूतिलाई पन्साएर अधिकांश नारीको शरीर सौन्दर्य चिन्तनबारे कुरा धेरै हुन्छ । नारीका अरू आयामबारे बहस गर्ने परम्परा त भर्खर शुरू हुँदैछ । नारीलाई समाजको तेस्रो निम्नवर्गमा राख्ने प्रयास पुरानै हो । नारीलाई भोग्या वस्तु बनाउने पितृसत्ताको जग अहिलेसम्म पनि उत्तिकै बलियो छ । त्यसलाई भत्काएर नारी विमर्श गर्न सीमोन द बोउवाले धेरै चिन्तना अघि सारेका छन् ।
फेमिनिज्म अहिलेसम्म विभिन्न भ्रमहरूसितै बहसको सतहमा छ ।

उहिले उहिले फेमिनिज्मको कुरा उति नचल्दा समाजमा नारीलाई भोग्या वस्तु बनाउने कविताहरू चल्थ्यो–
‘सौताको रीस गर्नु पाप छ बहुत्
एकै दुवैका पति,
मर्दामा पनि जानुपर्छ जसले
मिलेर सै सती ।’
अहिले नारी विमर्श समाजमा आइसकेको छ । पितृसत्तामाथि धावा बोलिसकिएको छ ।

०००
वास्तवमा नारीत्व पुरुष सत्ताअगाडि कतै पनि कमजोर अनि लाचार थिएन । पितृसत्ताले आफ्नो शासन सुविधाका लागि नारीलाई कमजोररूपमा व्याख्या गर्दै आयो । जसले समाजलाई एकखाले मनोविज्ञान प्रदान ग¥यो । नारी आफैंले पनि त्यो सत्तामुनि आफूलाई कमजोर ठान्थे वा ठान्न बाध्य थिए । म यहाँ ती विषयतिर अहिले जान्नँ ।

नारी त प्रकृतिको त्यो मलिलो भूमि हो, जसको पृष्ठभूमिमा परेको एक थोपा बीउले पनि समग्र समाजको निर्माण गर्छ । नारीको हृदय कोमल त हुन्छ नै तर कोमललाई कमजोरको पर्यायवाची बनाइयो । तर नारी आफैंमा शक्तिहरूको बीज हो । नारीले कहिल्यै त्यो शक्तिको दाबी आफ्नो निजी स्वार्थका लागि गरेन ।

घोर द्वन्द्व, घात–प्रतिघात, विघ्न–बाधा अनि कठिन समस्यासित पनि शान्त र स्थिर बनेर जुझ्ने क्षमता नारीसित छ । हिन्दू धर्मग्रन्थहरूले नारीलाई ब्रह्मको अति रहस्यमय सृष्टि मान्छ । पूर्वविद्वानहरूले धर्मशास्त्रमा पूर्ण–ब्रह्मको कल्पना गर्दा शिवको अर्धनारीश्वरको विग्रह रूपलाई बयान गरेका छन्–
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’
अर्थात् जुन समाजमा नारीको सम्मान हुन्छ, त्यही देवताको वास हुन्छ ।

शारीरिकरूपले पनि नारी अनुपम सृष्टि हो । नारीको शरीरलाई प्रकृति अनि विज्ञानको अति रहस्यमय रसायनशाला मानिन्छ । त्यसै कारण ऊ एउटी कलिलो बालिकादेखि किशोरी, सम्पूर्ण नारी, प्रौढ नारी अनि वृद्ध नारी बन्छे । नारीको यस्तो परिवर्तनको प्रत्येक मोडमै नारीको सौन्दर्यको आआफ्नै गरिमा छ ।

कलिली बालिकाबाट नारी बन्ने प्राकृतिक क्रीडामा नारीको शरीरमा दुई विशिष्ट रासायनिक सन्देशवाहक एस्ट्रोजन अनि प्रोजेस्ट्रोनको नाट्यक्रीडाले लगातार नारी शरीरमा परिवर्तन ल्याइरहने कुरा विज्ञानले गर्छ ।

एस्ट्रोजन अनि प्रोजेस्ट्रोनको मिल्दो नृत्यमा, १०–१२ वर्षीय अबोध बालिकालाई अचानक परिवर्तनमा नयाँ अनुभव दिन्छ । त्यो नारीको प्रजनन शक्तिको अनौंठो उर्वरक मोड हो ।

मेन्स्रुएसन : एक स्वाभाविक घटना

पिरियड्सलाई नारी प्रजनन चक्रको प्राकृतिक अङ्ग मानिन्छ । तर समाजमा त्यही एउटा टाबो बनेर बसेको छ । मानौं पिरियड्स एक महान् अपराध हो । धर्मग्रन्थहरूले आफ्नै मूल्य थोप्ने र पितृसत्तालाई सघाउने हुनाले पनि पिरियड्सलाई लिएर समाजमा धेरै नकारात्मक सोचको विकास भएको हो ।

पिरियड्स त स्वाभाविक क्रिया हो । नारीको गर्भाशयबाट रक्त योनीमार्ग भएर प्रत्येक महिना निस्कने गर्छ । त्यसैले पिरियड्स नारीको शरीरमा प्रत्येक महिना ५ दिन वा कसैमा ७ दिनसम्म चलिरहने स्वाभाविक गायनिकोलजिकल घटना हो । पिरियड्सको प्रभावमा नारीले औसतमा ६ महिनामा ३० दिन र सालमा ६० दिन अनि सम्पूर्ण जीवनकालमा ३००० दिन यो स्वाभाविक प्रक्रियालाई फेस गर्छन् । आमतौरमा किशोरीको जीवनको १० देखि १५ वर्षको उमेरमा पिरियड्सको शुरूवाती चरण हो ।

यसअगाडि किशोरीको मस्तिष्कमा रहेको पिट्यूटरी ग्रन्थीद्वारा गोनैडोट्रोपिन नामक रासायनिक सन्देशवाहकको व्यापक प्रभावमा रहन्छ । नारीको सानो भुँडीभित्र हुने गर्भाशय, जसको दुईपट्टि सानो बदाम आकारमा बनिएको अण्डाशय हुन्छ । त्यहाँबाट प्रत्येक महिनामा सैकडौं अण्डा बनिने गर्छ । किशोरी जब यौवनको दैलोमा पुग्छे, उसको शरीरमा रासायनिक सन्देशवाहकको मिल्दोजुल्दो प्रभावले किशोरीको शरीरमा गर्भाशयलाई नियन्त्रित गर्ने अण्डाशय हर्मोन एस्ट्रोजेन अनि पोजेस्ट्रोनको अत्यन्त संवेदनशील असर देखिन्छ ।

यौवनावस्थाको संवेदनशीलतासित किशोरी

एस्ट्रोजेन अनि पोजेस्ट्रोनको प्रभावमा किशोरीको शरीर मात्र प्रभावित नरहेर उसको भावनाको स्तरलाई पनि यो हर्मोनले परिवर्तनको बाटोमा हिँडाउँछ । सानी बालिकाबाट उत्साहपूर्ण किशोरी बन्नेबेला (८–१३ वर्षको आयुमा) किशोरीको स्तनमा अचानक परिवर्तन देखापर्छ ।

यसप्रकारको सुन्दर परिवर्तनले ल्याएको शारीरिक विकाससित किशोरीको जनेन्द्रियबाट सेतो वा पहेँलो रङको चिपचिप पदार्थको स्राव प्रवाह हुने गर्छ । र त्यसको महिनादिनमा किशोरीको प्रजनन अङ्गबाट प्रथमचोटि मेन्स्रुएसन रक्त स्वतः प्रवाहित हुन थाल्छ ।

त्यहाँ बिस्तारै ब्रेस्ट टिस्यू मास थुप्रिँदा सधैं सपाट अनुभव हुने स्तन बिस्तारै विकसित बनेर ‘ब्रेस्ट बडस्’ बनिसकेको हुन्छ । किशोरावस्थामा हर्मोन्सले शरीरमा ल्याएको यस्तो व्यापक परिवर्तन, अद्भुत प्राकृतिक घटना भए तापनि बालिका पोजिटिभ पेरेन्टल शिक्षाको अभावले हीनभावनामा ग्रसित पनि बन्ने गरेको पाइन्छ ।

तर, यो परिवर्तन यतिमै सीमित रहँदैन । ८–१४ वर्षको कलिलो यौनवास्थामा जननाङ्गमा बिस्तारै प्यूभिक हेयर्स उम्रिन थाल्छ । त्यसको साथमा किशोरीको हाइटमा पनि ४.५ इञ्चको बढोत्तरी हुन्छ । हात, खुट्टा, टाउको पनि बढ्छ । त्यसरी किशोरीको हिप डायामिटरमा विकास आएर उसको कमरको दुई भाग पनि हिप डायामिटरसित भित्र पस्दै जान्छ ।

यसरी किशोरीको शरीर कालान्तरमा नारीको शरीर बन्दै गएको हुन्छ । तर, यसप्रकारको सुन्दर परिवर्तनले ल्याएको शारीरिक विकाससित किशोरीको जनेन्द्रियबाट सेतो वा पहेँलो रङको चिपचिप पदार्थको स्राव प्रवाह हुने गर्छ । र त्यसको महिनादिनमा किशोरीको प्रजनन अङ्गबाट प्रथमचोटि मेन्स्रुएसन रक्त स्वतः प्रवाहित हुन थाल्छ ।

किशोरीको शरीरमा मेन्स्रुएसन प्रक्रिया सुचारूढङ्गमा कार्यशील बन्न कतिपयलाई लामो समय लाग्न पनि सक्छ ।

यी प्राकृतिक प्रक्रिया हुन् । तर पिरियड्सबारे उसका अभिभावकहरूले नै ज्ञानभावले विभिन्न भ्रमहरू दिने सम्भावना हुन्छ । अभिभावकलाई पिरियड्सबारे ज्ञान हुनु अनिवार्य छ ।

मेन्स्रुएसन प्रक्रिया

रासायनिक सन्देशवाहकले गर्भाशय हर्मोन एस्ट्रोजन अनि पोजेस्ट्रोनलाई नारी गर्भाशयमा महिनाको एकपल्ट परिपक्व अण्डा बनिने सङ्केत दिन्छ । यस अवधिमा परिपक्व बनेको अण्डा पुरुष शुक्राणुसित सेक्स प्रक्रियाद्वारा निषेचित भएमा त्यो निषेचित अण्डा फिलोपियन टिब्यूअलको मार्ग भएर गर्भाशयको मोटो पोषक अस्तर (एन्डोमेट्रियम) मा आएर टाँसिन्छ, अनि त्यहीँबाट नौ महिनाको लामो अवधिमा एउटा विकसित शिशुको निर्माण हुन्छ ।

तर, पुरुष शुक्राणुद्वारा नारीको अण्डा निषेचित हुन नपाएमा त्यो अण्डा फिलोपियन टिब्यूअलको मार्ग भएर गर्भाशयमा आउँछ अनि लगातार कम्पनको प्राकृतिक प्रक्रियाबाट गर्भाशयबाट अण्डासहित गर्भाशयको भित्तामा गर्भावस्थाका निम्ति थुप्रिएको पोषक एडोमेट्रियमको मोटो परत अस्तर लगायत म्यूकस, गर्भाशय रक्तको रूपमा प्रत्येक महिना योनीमार्गमा रसिन्छ । जसलाई बायोलोजिकल संसारमा मेन्स्रुएसन भनेर बुझिन्छ ।

प्रत्येक महिना गर्भावस्थाका निम्ति एक पिरियड चक्रको पहिलो दिनदेखि गनिने गर्छ । पिरियड चक्र नारीमा २८ दिनको लामो अवधिमा आए तापनि वयस्क नारीमा पिरियड चक्र २४ देखि ३२ दिन अनि किशोरी नारीमा २१ देखि ४५ दिनको अवधिपछि देखापर्छ । पिरियड चक्र नारी गर्भाशयमा रासायनिक संवेदवाहक एस्ट्रोजन अनि पोजेस्ट्रोनको स्तरमा आएको वृद्धि एवं गिरावटबाट नियन्त्रित भएको हुन्छ ।

एबनर्मल पिरियड्स

कैयौंपल्ट नारीको शरीरमा पिरियड अनियमित बन्ने गर्छ । कति नारीमा पिरियड चक्र महिनामा एकपल्ट नभएर दुई वा तीन महिनाको अन्तरालमा अत्यन्त पीडादायी पिरियड्स (डिसमेनोरिया) वा हेभी पिरियड्स (मेनोरेजिया) भएर नारीलाई शारीरिक रूपमा कमजोर बनाउँछ । यस्ता अनियमितताका मुख्य कारणहरू मेडिकल संसारमा प्रचलित रहेको पाइन्छः
– पलिसिस्टिक ओवरी डिसीज (पीसीओएस)
– पेल्विक इन्फ्लेमेट्री डिसीज (पीआईडी)
– प्रि–मैच्योर ओवेरियन इएन्फिशियन्सी
– यूटेराइन ऐब्नार्मलिटीन
– इटिङ्ग डिसअर्डर, जस्तैः एनोरेक्सिया, बुलिमिया
– भावनात्मक तनाव (इमोशनल स्ट्रेस)
– चुरोटको अत्याधिक सेवन
– अल्कोहलको अधिक सेवन
– मेनोपज
– एनिमिया इत्यादि ।

यसप्रकारको बायोलोजिकल तथ्यपछि मेन्स्रुएसन नारी गर्भाशयबाट प्रत्येक महिनाको २८ दिन (२१–४५ दिन)को अवधिपछि स्त्री जनेन्द्रियबाट रक्त प्रवाहित हुने स्वाभाविक प्रक्रिया हुन्छ । मेन्स्रुएसन रक्तमा विशेष गरेर म्यूकस, एडोमेट्रियमका अधिकांश अंश, रक्त ल्यूकोसाइट अनि गर्भाशयको अण्डा ग्रन्थीले बनाएको अनिषेचित अण्डा हुन्छ ।

वास्तवमा, गर्भधारण नारी गर्भाशयमा नभएको खण्डमा पोषण एडोमन्ट्रियमको सतह अति वृद्ध बनेर आफैं नै बायोलोजिकल प्रक्रियाद्वारा टुक्रिने गर्छ अनि अन्तमा रक्त प्रवाहको माध्यमबाट नारी गर्भाशयबाट निस्किन्छ । त्यसपछि मात्र नारी गर्भाशय फेरि अर्कोपल्ट गर्भावस्थाका निम्ति तयार बन्ने गर्छ ।

त्यसोभए मेन्स्रुएसन, ‘the funeral’ या ‘the unfertilized ovum’ हो, जसको दुःखद मरणमा नारी गर्भाशय प्रत्येक महिना दुःखले रून्छ अनि उसको त्यो आँसु चाहिँ मेन्स्रुएसनको रूपमा बाहिर निष्काषित हुन्छ । यही कारण लाग्छ, यस्तो स्वाभाविक बायोलोजिकल प्रक्रियालाई किन पूरातन समाजले मेन्स्रुएसन ट्याबु बनाएर हेरेका होलान् ?

मेन्स्रुएसन ट्याबु

समाजमा मेन्स्रुएसन नारी सम्बन्धित अहं समस्या रहेकोले समाजमा नारीलाई मेन्स्रुएसनको अतिसाधारण चक्रमा पनि अशुद्धीकरणको स्तरमुन्तिर दबाउने प्रयासमा देखिन्छ समाज । सायद त्यसरी नै समाजमा अज्ञानताको परतमुनि कैयौं मेन्स्रुएसन ट्याबुलाई प्रख्यात बन्ने बाटो प्राप्त भएको हुन सक्छ ।

अहिले पनि पुरानो मान्यताले नारीलाई पिरियड प्रवाहमा मन्दिरमा प्रार्थना, पवित्र पुस्तकको पठन, प्रसादको सेवन गर्न नहुने तथा भुइँमा सयन गर्ने, घरको मुखियालाई नछुने, पिरियड स्रावमा अमिलो अचार नखाने इत्यादि ट्याबुहरूमा बाँधेर राख्छ । जसको कुनै वैज्ञानिक आधार नै छैन ।
यतिमात्र नभएर नारीलाई पिरियड्स रक्त लागेको लुगा सबैको आँखा छलेर बिहानीको प्रथम प्रहर वा रात्रिको अँध्यारोमा सफा गर्न लगाउँछ परम्परा । त्यसरी नै मान्यताले पिरियड्समा नारीलाई प्रयोग हुने कपडा सूर्यको किरणमा नसुकाएर, घरको कुनातिर झुण्ड्याउन बाध्य बनाउँछ ।

जहाँ ती किशोरीजस्तै कैयौं अन्य किशोरी पनि मेन्स्रुएसन निम्ति आएका हुन्छन् । त्यही घरमा चन्द्रमाले किशोरीलाई प्रजननका निम्ति तयार पारेकोमा अनौठो उत्सव मनाइन्छ । र त्यस घरलाई चलाउने ट्राइबल समाजका वरिष्ठ नारीले किशोरीलाई प्रजनन बारेमा महङ्खवपूर्ण जानकारी दिने गर्छन् ।

यसरी सूर्यको किरणबाट मेन्स्रुएसन कपडा टाढा रहनाले त्यही पिरियड्सको लुगाबाट ब्याक्टेरिया अनि फल डिसीजबाट पीडित बन्छन् नारी । रक्त लागेको प्याड÷कपडालाई वंशीकरणका निम्ति प्रयोग गरिन्छ भन्ने भ्रममा नारीलाई सैनिटेरी प्याड/कपडालाई जमिनमुनि डिसपोज गर्न लगाएको भेटिन्छ, पुरातन समाजमा । त्यसरी अत्यन्त गोपनीय राखिन्छ समाजमा पिरियड्सलाई तर संसारको कतिपय कुनातिर मेन्स्रुएसन ट्याबुलाई पोजिटिभ दृष्टिले हेर्ने प्रख्यात् मान्यताहरू पनि छन् ।

सेन्ट्रल अफ्रिकाको हन्टर ट्राइब Mbedjele ले मेन्स्रुएसनलाई शक्तिशाली, उर्वरक तथा चोखो प्रक्रिया मान्ने गर्छ । त्यसैले यस ट्राइबलका नारीलाई पिरियड्समा सम्पूर्ण शारीरिक आरामको छुट दिइन्छ, त्यसैले Mbedjele ट्राइबल नारीले मेन्स्रुएसनलाई ‘My biggest husband is the moon’ भन्ने गर्छ ।

जाइरियामा पनि Mbuti ट्राइबले मेन्स्रुएसनलाई चन्द्रमाको पवित्र उपहार मानेर किशोरीलाई प्रथमचोटि पिरियड शुरू हुँदा, किशोरीलाई ट्राइबल समाजले बनाएको ‘मेन्स्रुएसन घर’मा राखिन्छ । जहाँ ती किशोरीजस्तै कैयौं अन्य किशोरी पनि मेन्स्रुएसन निम्ति आएका हुन्छन् । त्यही घरमा चन्द्रमाले किशोरीलाई प्रजननका निम्ति तयार पारेकोमा अनौठो उत्सव मनाइन्छ । र त्यस घरलाई चलाउने ट्राइबल समाजका वरिष्ठ नारीले किशोरीलाई प्रजनन बारेमा महत्वपूर्ण जानकारी दिने गर्छन् ।

पाश्चात्य समाजमा पिरियड अत्यन्त स्वाभाविक प्रक्रिया मानिन्छ । त्यसैले यहाँको समाजमा मेन्स्रुएसनप्रति जागरूकता रहेको छ । यहाँ नारी पूर्णतः स्वतन्त्र छ । तर भारतमा मेन्स्रुएसनमाथि कुन्नि किन हजारौं मिथहरूको मान्यता छ र यस्तो मिथको चलनचल्तीको कारण नारीलाई घरबाट मेन्स्रुएसन अनि मेन्स्रुएसन सम्बन्धित बिरामीलाई गोपनीय राख्न किशोरावस्थादेखि नै सिकाइन्छ ?

त्यसैले यहाँ नारी मेन्स्रुएसन सम्बन्धित पालिप्स, फायब्रायड, एडोमीट्रिओसिस, पेल्विक इफ्लेमेट्री डिसीज (पीआईडी), एडिनोमायोसिसजस्ता हेल्थ समस्यामाथि कुरा गर्न लजाउँछन् ।
तर, अहिलेको अत्याधुनिक युगमा जागरूक नारी समाज पनि छन्, जसले पिरियडस्लाई ‘हैभ अ हैप्पी पिरियड’को क्याटगोरीमा राखेर हेर्ने संस्कारसित बाँचेको देखिन्छ ।

शहरमा मेन्स्रुएसन

शहरमा नारीहरूको कतिपय समाजले खुलेर प्रब्लम फ्री पिरियडस् अनि मेन्स्रुएसन हायजीनको जानकारी राख्छ । पिरियड्सको शुरूआती दिनमा पिरियड ब्लड एब्जार्पशन निम्ति प्रयोग गरिने लग्न व एक्स्ट्रा एब्जार्पशन गर्ने प्याड वा कम्ति फ्लोको दिनमा प्रयोग हुने सामान्य प्याड प्रत्येक २ वा ३ घण्टामा चेन्ज गर्ने कुरामा जोड दिन्छ यो नारी समाज ।

हुन पनि मेन्स्रुअल ब्लड एकपल्ट योनीबाट प्याडमा एब्जब भएपछि, त्यही ब्लड व जननाङ्गको चिसेनीबाट अनेकौं सङ्ख्यामा जीवाणुहरू उब्जिने गर्छ । यहीँबाट नारीमा यूरिनरी ट्रेक्ट इन्फेक्सन, वजाइनल इन्फेक्सन अनि स्किन रेश हुने खतरा बढेर जान्छ ।

पिरियडसमा नारीलाई नियमित रूपमा नुहाउने अनि प्रत्येक प्याड चेन्जमा वजाइनल रीजनलाई केवल पानीले मात्र सफा राख्ने मान्यतामा हुन्छन् शहरिया नारी ।

शहरमा नारीले प्रि–मेन्स्रुअल सिन्ड्रोमबारे खुलेर कुरा गर्छन् । मेन्स्रुएसन शुरू हुनुअघि हुने चिडचिडापन, अनिद्रा, कम्मर दर्द, पिम्पलस्, पेट फुलिनु, स्तनमा भारीपन, टाउको दुख्नु, थकान अनुभव हुनु इत्यादि समस्याबारे जागरूकता चाहिन्छ । शहरिया नारीले एबनर्मल पिरियड्सका तीन प्रमुख समस्याबारेमा पनि चर्चा गर्छन् ।

सेकन्डरी एमेनोरिया स्यस समस्यामा प्रत्येक महिना आउने पिरियड दुई वा तीन महिना निम्ति बन्द हुन्छ, यो समस्या पूर्णतः हर्मोन्सको गडबडीबाट उब्जेको हो ।

हैभी पिरियड्स (मेनोरेजिया), यस समस्यामा नारीले नर्मल पिरियड्सभन्दा धेरै ब्लिडिङ फेस गर्नुपर्छ । पिरियड्सको अवधि पनि मेनोरेजियामा नौदेखि दश दिनसम्म हुन्छ ।

पेनफुल पिरियड्स (डिसमेनोरिया), गर्भाशयमा प्रोस्टग्लैडिन केमिकलको स्तर बढेर जाँदा प्रत्येक पिरियडमा टाउको दुख्नु, कमर दुख्नु, डायरिया अनि पिरियड्स क्राम्प्स मुख्य समस्या हुन्छ ।

नारीमा आफ्नो शारीरिक समस्याबारेमा जागरूकता बढेको छ । र यही जागरूकतामा बाँच्ने गर्छन्, अत्याधुनिक युगका शहरीया नारी । तर, पिरियड्समा अज्ञानता अनि गरिबीले ग्रामीण नारीको हालत देहाती गाउँमा कस्तो बन्दो हो ? सायद, गाउँका नारीले पिरियड्सको समस्यालाई लाजको परतमुनि दबाएर बाँच्न बाध्य छन् ।

गाउँमा मेन्स्रुएसन

गाउँमा शिक्षा अनि जागरूकताको कमीले कतिपय गरिबीको रेखामुन्तिर गनिने ग्रामीण नारी समुदाय मेन्स्रुएसन ट्याबुबाट अत्यन्त पीडित छन् । यस्ता अत्यन्त गरीब नारीको हिस्सामा आफ्नो शरीरको अङ्गलाई ढाक्ने कपडा पनि हुँदैन वा कतिपय गरीब घरमा पिरियड्समा प्रयोग गरिने दुईभन्दा पनि कम्ति, सानो, पातलो चित्रो कपडा मात्र हुन्छ ।

यस्ता नारी समुदायका निम्ति पिरियड्समा ‘हायजनिक स्यानिटरी प्याड’ जस्तै ‘एब्जार्बेन्सी’, ‘लेन्थ वा फ्लो प्याड’ अनि ‘मटीरियल कन्फर्ट प्याड’ किन्नु भनेको परिवारलाई एक हप्तासम्म भोको राख्ने विकटपूर्ण स्थिति हुन सक्छ ।

त्यसोभए यस्तो गरिबी हालतमा त्यस्ता नारीले ‘पिरियड् एब्जार्पसन’ निम्ति के प्रयोग गर्छन् ? प्रश्न यस्ता गरीब नारीलाई जटिल छ ।

ती गरीब नारीको शरीर ढाक्ने कपडालाई गरिबीपनले यतिको चित्रो बनाइसकेको हुन्छ । त्यस नारीको कपडामा उध्रेको भ्वाङको सीमारेखालाई कुनै पनि आश्वासन बोक्ने सियो–धागोले पनि सिलाउन नसक्ने अवस्थामा हुन्छ । खुला पोखरी वा नदीको घाटमा नुहाएपछि पनि यस्ता नारीलाई परम्परागत गरिबीको चोटले त्यही मैलो कपडाले शरीर ढाक्न बाध्यता पर्छ ।

प्रतिमहिना प्रजनन चक्रले ल्याएको मेन्स्रुएसनजस्तो सामान्य कुरा पनि यस्ता नारीका निम्ति ठूलो समस्या नै ठहरिन्छ । समस्या अत्यन्त गम्भीर छ, पिरियड ब्लड एब्जर्व गर्न कुन कपडा त्यसबेला नारीले प्रयोग गर्लान् ? शरीरको लाज ढाक्ने फाटेको कपडा पिरियडमा प्रयोग गरे पनि नारी शरीरको अङ्गलाई पुरुष सत्ताको कुदृष्टिबाट कसरी जोगाउन सक्ला ?

त्यसैले भारतका गरीब देहाती गाउँका ८० प्रतिशत नारी तथा बेघर सडकमा आश्रय लिइरहेका मगन्ते नारीले महिनाको त्यो रक्त प्रवाहित दिनमा स्यानिटरी प्याड वा कपडाको सट्टामा कुन पदार्थको प्रयोग गर्छन् त ?

यस प्रश्नको उत्तर भारतीय नारी समाजलाई अत्यन्त मार्मिक कुरा थियो । जसलाई समाजअगाडि कतिपय जागरूक युवा क्लबका सदस्य तथा हिन्दी फिल्म ‘प्याडमेन’ले उजागर गर्ने प्रयास चलाए । गरीब नारीले पिरियड एब्जोर्पशनका निम्ति प्याड वा कपडाको सट्टामा सुकेको गोबरको ढेला, सुकेका पत्ताहरू, चिम्टे माटोको ढेला, सुकेको रूखको खस्रो बोक्रा, बलुवा प्रयोग गर्ने तथ्यचाहिँ फर्निस्ड बाथरूममा प्रयोग गर्दै पिरियडस्मा सैनिटेरी हायजीनबारे कुरा गर्ने जागरूक समाजलाई लज्जास्पद विषय नै हो ।

आखिर शहरमा फर्निस्ड बाथरूममा खर्च हुने टयलेट वाश, टिस्यू पेपर वा टयलेट पेपर कम्ति मात्रामा प्रयोग गरेर यस्ता गरीब नारीलाई पिरियड्समा साधारण न्यापकिन सरकारले प्रदान गर्न सके कति राम्रो हुन्थ्यो ! जसले गर्दा माथि उल्लिखित असामान्य चिजको प्रयोगले नारीको शरीरमा उब्जाउने भयप्रद यूरिनरी ट्राक्ट इन्फेक्सनका कारण वजाइनामा ब्याक्टेरियामार्फत सङ्क्रमित हुने गायनिकोलजिकल बिरामी शुरू हुने थिएन होला ।

यस्तै पिरियड हायजीन नारीमा नहुँदा गरीब नारीको प्रजनन अङ्गमा कहिल्यै निको नबन्ने घाउ बनिन्छ अनि त्यहीँबाट सरभाइकल क्यान्सरजस्तो भयानक रोगले नारीको मृत्युसम्म हुन्छ ।
उता अत्याधुनिक समाजका प्रतिनिधि अमेरिका, जर्मनी अनि अस्ट्रेलियाजस्ता विकसित देशमा नारीले पिरियडमा सिलिन्डर शेपमा बनिएको कटनको अत्याधुनिक पिरियड अवशोषित गर्ने प्याड अर्थात् ‘ट्याम्पून’ प्रयोग गर्छन् । यस्तो ट्याम्पूनको प्रयोग २ प्रतिशत चीनमा, ७० प्रतिशत यूरोपमा भए पनि नाइजीरिया, संयुक्त अरब अमीरात, तुर्की, केन्या, मारोको, थाइल्याण्डमा ट्याम्पूनको प्रयोग हुँदैन ।

समयसाथ टेक्नोलोजी पनि बढेर गएको छ र उन्नत टेक्नोलोजीले भर्खर मात्र स्यानिटरी प्याडभन्दा सस्तो अनि सुरक्षित ‘मेन्स्रुअल कप’ को निर्माण गरेको छ । यो ‘मेन्स्रुअल कप’ मेडिकल ग्रेड सिलीकनले बनिएको नम्य बेल शेपको अत्याधुनिक प्रयोगात्मक वस्तु रहेको छ । यस ‘मेन्स्रुअल कप’लाई पिरियड्समा योनीभित्र राखिन्छ अनि निश्चित घण्टाको अन्तरालमा ‘मेन्स्रुअल कप’ मा ब्लँड भरिएपछि, त्यसलाई सफा गरेर फेरि प्रयोगमा ल्याउने गरिन्छ । फेरि स्यानिटरी प्याडमा प्रयोग भएको कटनचाहिँ प्रयोगपश्चात् ब्याक्टेरिल प्रक्रियाबाट नष्ट भइहाल्छ भने यसमा प्रयोग हुने प्लास्टिकले प्याडको ब्याक्टेरिया नष्ट प्रक्रियामा अवरोध पु¥याउँछ र त्यहीँबाट पर्यावरणमा प्रदूषण फैलिने गर्छ ।

यसै विषयलाई ध्यानमा राखेर अहिले बनाइएको अत्याधुनिक उपकरण ‘मेन्स्रुअल कप’ लाई मानिएको छ ।

तर, अहिले पनि भारतका २० प्रतिशत नारी गरिबीको स्तरमुनि बाँच्ने हुनाले यस्ता नारी जमातले स्यानिटरी न्याप्किन पिरियडमा प्रयोग गर्न सक्तैनन् । यस्तोमा जति नै समाज जागरूक भए पनि, यो जागरूकता समाजले नारी समुदायमा फैलाउनुपर्छ । अनि समाजका जागरूक सत्ताले सकेसम्म प्रत्येक पछाडिएका नारी समाजबाट अज्ञानता मेटाउने प्रयास गर्नुपर्छ ।

(समाजका तत्कालीन मुद्दा र प्रतिनिधि सन्दर्भबारे बहस गर्न रुचाउने छेत्री दार्जिलिङमा रहेर नेपाली भाषामा कलम चलाउने एक सशक्त लेखिका हुनुहुन्छ । उहाँकाे हालै ‘एक हरफ बाटो’ निबन्धसङ्ग्रह साङ्ग्रिला बुक्स- इण्डियाले बजारमा ल्याएकाे छ । प्रस्तुत निबन्ध साेही कृतिबाट साभार गरिएकाे हाे ।)

Maruti Cement