सम्पादकीय : निरन्तर यात्राको पहिलो पाईला प्रारम्भ

Prabhu Bank

नेपाली पत्रकारिता जगतले एउटा सिंगो ईतिहास बोकेको छ। विश्व बजारमा भित्रिएका प्रविधिहरुलाई यथासम्भव प्रयोग गर्दै नागरिकको सूचना पाउने हक कुनै न कुनै रुपले नेपालका सञ्चार माध्यमहरुले संरक्षण गरिरहेकै छन्।नागरिकको सूचनासँग मात्र कहाँ हो र ? नेपालको ईतिहासमा भएका परिवर्तनका आन्दोलनमा नेपाली प्रेस जगतले परिवर्तनका पक्षमा आफूलाई संधै उभ्याउदै आएको छ। त्यसो त नेपाली सञ्चार जगत कमजोरी रहीत हो भनेर ठोकुवा गर्नु पनि उचित देखिदैन तर सञ्चार जगतमा देखिएका कमजोरी र समस्याहरुका नाममा प्रेस घाँटी निमोठ्नु लोकतान्त्रिक शासन व्यवस्था भएको देशको चरित्र पक्कै पनि होईन। नेपाली सञ्चार जगतमा अस्वस्थ प्रतिस्पर्धा देखिएको पनि सत्य हो। हामी छापा, रेडियो र टेलिभिजनको युग हुँदै अनलाईन माध्यम सम्म आईपुगेका छौं, यद्यपि छापा, रेडियो र टेलिभिजनको आज पनि आफ्नो ठाउँमा उत्तिकै महत्व छ तर नागरिकको पहुँचका हिशाबले भन्ने हो भने अनलाईन सञ्चार माध्यम धेरै नागरिकका लागि सजिलो माध्यम बन्न पुगेको छ।

Saftey Pads

नागरिकको सबैभन्दा बढी पहुँच रहेको अनलाईन सञ्चार माध्यममा सत्य, तथ्य, निष्पक्ष र कहिल्यै नसुनिएका अनि कहिल्यै नहेरिएका नागरिकका कथा प्रकाशन प्रसारण गर्ने उद्देश्यले हामीले आजदेखि नेपाली पत्रिका डटकमको प्रकाशन आरम्भ गरेका छौं। नेपाली पत्रिका सयौं अनलाईनहरुको भीडमा स्थापना भएको नयाँ अनलाईन अवष्य हो तर नेपाली पत्रिकाको सम्पादकीय टिम र समाचार कक्ष नेपाली पत्रकारिता जगतका दिग्गजहरुले भरिएको छ, जस्को पुष्टि नेपाली पत्रिकाले आगामी दिनमा प्रकाशन गर्दै जाने सामग्रीहरुले गर्नेछन भन्नेमा हामी विश्वस्त छौं। सयौं अनलाईनहरुको भीडमा स्थापित हुन नेपाली पत्रिकालाई चूनौतीहरुको सामना पक्कै गर्नुपर्नेछ तर एक नंबर बन्ने दौडमा हामी कहिल्यै गुणस्तरहीन र कपोकल्पित सामाग्रीहरु प्रकाशन गर्ने छैनौ, यो हाम्रो प्रतिवद्धता हो। नेपाली पत्रिकाले राजनीतिक, सामाजिक या संस्थागत रुपले कुनै धार समाउने या पक्षपोषण गर्ने छैन तर नागरिकको असली प्रवक्ता बन्ने लक्ष्यमा भने नेपाली पत्रिकाको टिम अनवरत लागिरहने छ।

पछिल्लो समय नेपालको अनलाईन पत्रकारितामा देखिएको भाईरल बन्ने रोगले नेपाली पत्रिकालाई कहिल्यै छुने छैन भन्नेमा हामी स्पष्ट छौं। समाचारमा गुणस्तर, पत्रकारितामा जिम्मेवार भन्ने मूल नारालाई स्थापित गर्न नेपाली पत्रिकाको टिम नेपालका हरेक वस्तीमा पुग्ने छ। पत्रकारितामा आभारभूत मान्यता र न्यूनतम शर्तहरुको पालना गर्दै समाचारको विश्वसनियता पुष्टि भईसकेपछि मात्र हामी त्यस्ता सामग्री आम पाठकका लागि प्रकाशन गर्ने छौं।

विचार, अभिव्यक्ति,विश्लेषण र दृष्टिकोण जस्ता विषयमा हामी देशका विज्ञ, प्रवुद्ध वर्ग र आम पाठकका लागि समेत खुलामञ्चको रुपमा रहने छौं। नेपाली पत्रिकालाई पाठक सम्म पुर्याउँदा अवश्य पनि हामी, व्यापारी र कर्पोरेट हाउसहरु साथै सरकारी तथा गैरसरकारी निकायहरुसँग समेत जोडिने छौं तर समाचार अनि यसको मूल्य मान्यतामा हामी कहिल्यै व्यापार गर्ने छैनौ किनकि पत्रकारिताको व्यवसायिकता हाम्रो मूल धर्म हो, समाचारको व्यापार होईन। पाठकको आकर्षण बढाउने बहानामा हाम्रा सामाग्रीहरु र तिनका हेडलाईनहरु कहिल्यै पनि अतिरञ्जित गरिने छैनन्। हाम्रो विषयवस्तुको छनौट, कुनैपनि विषयवस्तुमा हामीले प्रयोग गर्ने भाषा र समाचार या सामाग्री प्रकाशन गर्ने हाम्रो शैलीले नै आम पाठकलाई हामी सम्म तान्ने छ भन्नेमा हामीलाई कत्ति पनि शंका छैन।

अनलाईन पत्रकारितामा हामीले गर्ने सभ्य प्रयोगले नै हाम्रा विज्ञापनदाताहरु हामीसँग आकर्षित हुनेछन भन्ने पनि विश्वास लिएका छौं। शुभारम्भको यो सुखद दिनमा हामी हाम्रो सञ्चालक संस्था डिजिटल सञ्चार प्रा.लि.का साझेदार, सम्पादकीय टिमका साथीहरु, समाचार कक्षका मेहेनती पत्रकार साथीहरु, शुभचिन्तकहरु, आम पाठक र विज्ञापनदाताहरुमा समेत पत्रकारिताको न्यूनतम मूल्य र मान्यताबाट कहिल्यै बिचलित नहुने र निरन्तर आम पाठकको सत्य तथ्य र निष्पक्ष समाचारको भोक मेटाउने लक्ष्यबाट कहिल्यै बाटो नबिराउने प्रतिवद्धता व्यक्त गर्दछौं।

Maruti Cement