साझा पार्टीको कूटनीतिक निर्देशिका जारीः विदेशीहरूसँग राजनीतिक भेटघाट गर्न नपाइने

Prabhu Bank

काठमाण्डौं।साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयले हरेक साप्ताहिक रुपमा प्रकाशन गर्ने सूचनापाटीको मङ्गलबारको अङ्क मार्फत साझाले १३ बुँदे कूटनीतिक निर्देशिका सार्वजनिक गरेको हो। साझाले जारी गरेको निर्देशिका अनुसार पार्टी केन्द्रीय समितिका कुनैपनि नेताहरू विदेशी दुतावासको औपचारिक कार्यक्रममा सहभागी हुन पाउने छैनन्, सहभागी हुनै पर्ने कार्यक्रम भएमा पार्टीको विदेश विभागको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ।

Saftey Pads

निर्देशिका अनुसार विदेशीहरूसँग हुने कुनैपनि राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति अनिवार्य गरिएको छ। राजनीतिक भेटघाटका लागी स्वीकृतिसँगै विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। विदेशी दुतावासका सदस्यहरू वा विदेशीहरूसँग हुने राजनीतिक भेटवार्ताका लागि विभागको स्वीकृति लिए पनि नेताहरूले पार्टी कार्यालय या कुनै तेश्रो तटस्थ स्थानमा मात्रै भेटघाट गर्न पाउने छन्। यसैगरी निर्देशिकामा पार्टीका नेताहरूले दुतावासका सदस्यहरूलाई आफ्नो निजी निवासमा बोलाएर भेटघाट गर्नपनि रोक लगाइएको छ, आफ्नो निवासमा भेट्नुपर्ने अवस्था आएमा पार्टी नेताहरूले विदेश विभागको स्वीकृति अनिवार्य रुपमा लिनुपर्नेछ।


पार्टीको विदेश विभागले भेटघाटका लागि स्वीकृति दिएको कुनैपनि दुतावासको सदस्य अथवा विदेश विभागको स्वीकृति आवश्यक पर्ने विदेशीहरूसँग हुने भेटबारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिने र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि अनुरोध गर्ने व्यवस्था गरिएको छ। पार्टीको केन्द्रीय समितिका नेताहरूलाई कुनैपनि गुप्तचर निकायका सदस्यहरूसँग भेट्न भने पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।


नेपालमा राजनीतिक दलहरू र सरकारी निकायका जिम्मेवार व्यक्तिहरूले समेत जथाभावी कूटनीतिक भेटवार्ता गर्दा बेलाबेलामा आलोचना हुने गरेको छ भने यस्तो प्रकारका भेटघाटका कारण देशमा वैदेशिक हस्तक्षेप बढेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्। साझा पार्टीले भने कूटनीतिक सम्बन्धलाई व्यवस्थित गर्न भन्दै १३ बुँदे कूटनीतिक निर्देशिका नै जारी गरेको छ। साझामा पार्टीले विदेश विभागको जिम्मेवारी संयोजक रवीन्द्र मिश्रलाई दिएको छ।


हेर्नुस्, साझा पार्टीको १३ बुँदे कूटनीतिक निर्देशिकाः

१.केन्द्रीय समितिका सदस्य कुनै पनि दूतावासमा तिनको औपचारिक कार्यक्रम या पार्टीको विदेश विभागले अनुमति दिएको काममा बाहेक अन्य अवस्थामा जाने छैनन्।

२. कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति आवश्यक पर्नेछ। र, त्यस्ता भेटघाटमा विदेश विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानुपर्नेछ।

३. विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य तथा विदेशीहरूसँग हुने भेटघाट या त साझा पार्टीको कार्यालय या कुनै तेस्रो तटस्थ स्थानमा गर्नुपर्नेछ।

४. पार्टीको केन्द्रीय समितिका सदस्यले दूतावासका राजदूत लगायतका विदेशी कर्मचारीलाई घरमा बोलाउने छैनन्। बोलाउनै परेको अवस्थामा विदेश विभागको स्वीकृति लिनुपर्नेछ।

५. विदेश विभागले स्वीकृति दिएको कुनै पनि विदेशी दूतावासका सदस्य अथवा विदेश विभागको स्वीकृति आवश्यक पर्ने विदेशीहरूसँग हुने भेटघाट बारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिनु पर्नेछ र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिनेछ।

६. पार्टीको केन्द्रीय समितिका सदस्यले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेटघाट गर्न पाउने छैनन्।

७. अनपेक्षित रूपमा हुने या गराइएको भेटबारे पार्टीको विदेश विभागलाई तुरून्तै जानकारी गराउनु पर्नेछ।

८. पार्टीका केन्द्रीय नेतालाई कुनै दूतावास या अन्तराष्ट्रिय गैरसरकारी संस्थाले राजनीतिक अर्थ र असर राख्ने कुनै कार्यक्रममा सिधै आमन्त्रण गरेमा, सम्बन्धित नेताले त्यस्तो आमन्त्रण पार्टी मुख्यालय मार्फत पठाउन आग्रह गर्नु पर्नेछ। पार्टीको विदेश विभागले उक्त कार्यक्रममा पार्टीबाट कसैलाई पठाउने या नपठाउने र पठाएमा कसलाई पठाउने भनेर निर्णय गर्नेछ।

९. राजनीतिक अर्थ र असर नराख्ने आमन्त्रणबारे विदेश विभागलाई जानकारी गराए पुग्नेछ। त्यस्ता भेटहरू  स्वविवेकको निर्णयमा हुन सक्नेछ तर त्यसबारे कुनै आशङ्का भएमा विदेश विभागसँग सल्लाह माग्नुपर्नेछ।
१०. संवेदनशील विषयहरूमा आवश्यक पर्दा विदेश विभागले परराष्ट्र मन्त्रालयको राय, स्वतन्त्र परराष्ट्र मामिला विज्ञ तथा परराष्ट्र मन्त्रालयका भूतपूर्व शिष्टाचार महापालहरूसँग सुझाव सल्लाह लिन सक्नेछ।

११. यस निर्देशिकामा उल्लेख नगरिएको विषय या जटिलता उत्पन्न भएमा सम्बन्धित केन्द्रीय सदस्यले त्यसबारे विदेश विभागलाई जानकारी गराउनु पर्नेछ र विदेश विभागले सो विषयमा अन्तिम निर्णय लिनेछ। यो निर्देशिकालाई पार्टीको कुन तहसम्म लागू गर्ने भन्नेबारे पार्टी विस्तार हुँदै जाँदा निर्क्यौल गरिने छ।

१२. यस प्रकारको निर्देशिका आजसम्म कुनै पनि पार्टीले पालना नगरेको परिप्रेक्ष्यमा यो निर्देशिका पालना गर्दा कहीँकतै छिमेकीहरूसँगको सम्बन्धमा अप्ठ्यारो पर्न सक्ने अवस्था आएको खण्डमा त्यसबाट जोगिन केन्द्रीय सदस्यहरूले पार्टीको यसै कुटनीतिक निर्देशिकालाई आफ्नो सीमाका रूपमा बुझिदिन आग्रह गर्न सक्नेछन्।

१३. यस निर्देशिकाको उल्लङ्घन भएमा विदेश विभागले स्पष्टीकरण सोधी अनुशासनको कारवाहीका लागि सिफारिश गर्न सक्नेछ।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने
Maruti Cement