ग्रीन कार्ड त्यागेर नेपाल फर्केकी बिनिशा भन्छिन्: ‘डलर कमाउने अमेरिका हैन जन्म दिने आमा रोजेँ !

Prabhu Bank

कथा बिनिशाको

Saftey Pads

लगभग एक दशक अगाडि सपनाको देश अमेरिकाको राजधानी वाशिंगटन डि.सी.मा पहिलो पाईला टेक्दा ललितपुरकी बिनिशालाई लागेको थियो, “अहा, स्वर्ग भनेको अमेरिका नै रहेछ।”

बिनिशा श्रेष्ठ

 

सपनाको देश अमेरिकाको बारेमा पढे सुनेकी बिनिशा त्यतिबेला अझ दंग परिन् जतिबेला आफ्नै आँखाले जता हेर्यो त्यतै बिकासै बिकासको चरम उत्कर्ष देखिन्। प्रकृतिको सुन्दरता मात्र देखेकी उनले मान्छेको उत्कृष्ट कला र बिज्ञानको चमत्कारले आफ्नो यात्रा क्लान्ति चटक्कै बिर्सिन्। बिज्ञान,प्रबिधि र सुशासनको उत्कृष्ट नमूना, लोक कल्याणकारी राज्य ब्यवस्था, ब्यस्त जीवनशैली, काम अनुसारको दाम अनि रहरलाग्दो शहर।यत्ति भएपछि के चाहियो र? ध्यान जति सबै अमेरिकामैँ एकाकार भयो।

बिनिशालाई लाग्यो: ‘वाह ! अमेरिका त अमेरिका नै रहेछ ! सबै जसो बलिउड र कलिउडका सम्वादमा कतै न कतै अटाउने अमेरिका नेपालका उच्च पदस्थ ब्यक्तिहरुको पनि किन रोजाई बन्दो रहेछ भन्ने कुरा बिनिशाले बुझिन्। ग्वाटेमाला र मेक्सिकोको मृत्युपथ हुँदै किन मान्छे अमेरिका छिर्छन् भन्ने देखि नेपालबाटअमेरिका छिरेका सेलिब्रिटीहरु समेत अमेरिकामैँ हराउँछन् भन्ने रहस्य अब रहस्य रहेन उनलाई। सपनाको देशमा उनी बिपनाकै पात्र बन्दाको खुशी त कुन तुलोले नाप्नु र?

समय रोकेर रोकिन्नथ्यो। आफ्नै रफ़्तारमा चलिरह्यो निरन्तर। तर बिनिशालाई बिस्तारै खास खास बेला आफ्नै शास रोकिएको जस्तो लाग्न थाल्यो। जीवनमा बाहिर देखिने कान्ति बिस्तारै भ्रान्ति बने जस्तै भान पो हुन थाल्यो। मानवीय स्वभाव नै हो रहेछ,आफूसंग जे छ त्यो क्रमश: कम प्रिय लाग्नेरहेछ, बिनिशालाई केही बर्ष अघि देखेका सुन्दर चिजहरु बिस्तारै फिका लाग्न थाले, हरेक हप्ता बैंक खातामा आईरहने मनग्गे डलरले पनि उनको खुशी किन्न सकेन। डलरको खोजीमा अमेरिका आए पनि त्यो डलरले खुशी किन्न सक्दैन भन्ने कुराबुझिन् बिनिशाले।

अमेरिकाको माटोमा आफ्नो सुगन्ध पाईनन् बिनिशाले। आफ्नो आँखा वरपर नभएका आफ्नै मातृभूमिका सपना र सम्बन्धहरु मिठा लाग्न थाले। आफ्नी आमा र आफ्नो जन्मभूमि स्वर्ग भन्दा पनि प्रिय लाग्छन् भनेर श्रीरामचन्द्रले त्यसै भनेका रहेनछन् भन्ने लाग्यो उनलाई। वैभव, अर्थ र यौवन भनेका भ्रम रहेछन्,जीवनको सार्थकताका लागि माटोको सुगन्ध र आफन्तहरुको साथ बिना सम्भव हुदैन भन्ने लागिरह्यो बिनिशालाई।आफ्नै आठ बर्षे छोराका बालापनका नाना भाँति प्रश्नले डराउन थालेकी उनको मनमा धेरै कुराहरु खेल्न थाले।

छोराको बालापनका चालाहरु बिश्लेषण गर्दै जाँदा बिनिशाले निकट भविष्यमै आउनसक्ने मन अमिलो हुने दृष्यहरु आँखाको ढकनी वरपर देखिन्। सन्तानको खुशीका लागि अमेरिका भाँसिनु प्रत्युत्पादक जस्तै पो लाग्यो उनलाई। राति अबेर गरी कामबाट घर फर्कने श्रीमान, जन्म दिने बाबु आमा बिनाका चाड पर्व, साथी भाइ बिनाका फगत हर्ष आदिले अमेरिकी जीवन झूठा झूठा लाग्न थाले। छोराछोरीको भविष्य बनाउने नाममा हामीले कमाउने पैसाले परिवार, समाज र राष्ट्रलाई बिर्सेजस्तो लाग्न थाल्यो बिनिशालाई।

आफैलाई जन्म दिने आमा बाबु बिरामी पर्दा एक मुठी तातो पानी खुवाउन नपाउँदाको पीडाको अगाडि आफूले कमाएको पैसा खोटो लाग्न थाले पछि बिनिशाले आफ्नो नेपाल फर्कने चाहनालाई  बलियोसंग समाईन्, समय र सन्दर्भ नमिलेर आफ्नै बाबु आमा मर्दा पनि मुख हेर्न नपाएका सन्तानहरु, मोबाईल फोनमा अरब भएका लोग्नेको जवानी ढल्किएको हेरेर बसेका लाखौँ श्रीमतीहरु, मेसेन्जरमा मात्र देखिने लाखौँ बाबुहरु सबै सबैका दु:ख महशुस गर्न थालिन् अनि एउटा वकपत्र लेखिन्: ‘आठ बर्षे छोरासंग डराउन थालेकी छु, अब छिट्टै नेपाल फर्कन्छु।’

उनको वकपत्र एक लाख भन्दा बढिले शेयर गरे, उनका सबै आफन्त लगायत साथीहरुले वाह वाह गरे। केहिले भने उनको लेख पढेर ओँठ लेप्र्याए। सस्तो लोकप्रियताको लागि लेख लेखेर ईमोसनल ब्ल्याकमेल गरेको आरोपसम्म लाग्यो उनलाई। तर त्यो लेख लेख्ने बेलामा नै उनको देश फर्कने अडान बलिष्ठ भईसकेको थियो। उनको दृढतामा उनका आफ्नै श्रीमानले होस्टेमा हैँसे गरेका थिए। उनको आठ बर्षे छोराका कैयौँ प्रश्नहरुको उनीसंग जवाफ थिएन। ह्वाई पिपल आस्क मी, ‘ह्वेयर आर यु ओरिजिनल्ली फ्रम’ देखि अमेरिकी समाजमा आफ्नै बाबुआमालाई प्रयोग गर्ने ‘आईम गोन्ना कल दि पुलिस’ जस्ता शब्दहरुले कटक्क मुटुनिरै ठोक्थे।

तिनै बिनिशा अमेरिकाको सबै सुखभोग र सुबिधा छाडेर कुनै दुबिधाबिना दुई महिना अघि आफ्नो श्रीमानलाई छोडेर आफ्नी २० महिनाकी काखे छोरी र आठ बर्षे छोरो लिएर सधैका लागि नेपाल फर्किईन्। अमेरिकामा भएको उनको सम्पत्ति बेच्न केहि समय लाग्ने हुनाले उनका श्रीमान भने संगै फर्कन सकेनन्। उनी पनि ६ महिना भित्र फर्कनेछन्।

अमेरिकाको लामो बसाईमा उनलाई कुनै अप्ठेरो परेन, आफूसंगको सीप र योग्यताले कुनै दु:ख पनि गर्नुपरेन तर त्यहिबेला नेपालको बिग्रेको राजनीति, भ्रष्टाचार र दण्डहीनता देख्दा उनको मन अमिलो भईरहन्थ्यो। नेपालीकै पसिनाले सिंचेर अरबहरु हरियाली हुन्छन् भने नेपाल किन बन्न सक्दैन भन्दै आफैसंग उत्तर मागिरहेकी थिईन्। अमेरिकाबाट फिल्म र संचारमा स्नातकोत्तर, अमेरिकामै स्थापित नेपालको हस्तकलाको व्यापार, घर, छोराछोरीको लागि शिक्षा अथवा अमेरिकामा नपुग्दो केही नहुँदा पनि जे गर्ने हो, नेपालमै गर्नुपर्छ भन्ने मात्र होईन, आफ्ना छोराछोरीलाई नेपालकै शिक्षा र संस्कार दिएर हुर्काउनु, पढाउनुपर्छ भनेर नेपाल फर्केकी बिनिशामा आएको यो दृढता चलचित्रको कथा जस्तो लाग्दछ।

नेपालको जीवनशैली, कमाई आदि अमेरिकामा जस्तो नहोला, तर नेपालकै माटोमा हुर्केका हामीले यहि ठाउँमा मेहनत किन नगर्ने भन्ने बिनिशाको अठोट छ। जन्मभूमि प्रतिको हाम्रो दायित्वबोध गराएर बिनिशा एक आदर्श बनेकी छिन्। उनले हाँस्दै भनिन्, मैले डलर कमाउने अमेरिका हैन जन्म दिने आमा रोजेँ।’

नेपाल फर्केपछि के गर्दैछिन् बिनिशा?

पूर्व पत्रकार रवीन्द्र मिश्रको ‘नेपाल फर्कौँ  महाअभियान’ सम्बन्धि लेखबाट प्रभावित भएर अमेरिकाको ग्रीनकार्ड नै त्यागेर नेपाल आएकी ललितपुर निवासी बिनिशा अहिले नेपाल फर्कौं महाअभियानकी एक सशक्त अभियन्ता बनेर  ‘नेपाल फर्कौँ  महाअभियान’को संयोजन गर्दैछिन्। उनको इमेलमा ‘म पनि फर्किन्छु’ भन्ने धेरै सन्देशहरु आईरहेका छन्।

यति मात्र हैन केहि नेपाल फर्कने दृढनिश्चयी साथीहरुको सहयोगमा केही महिना अघिदेखि ‘नेपाल फर्कौँ  महाअभियान’ भन्ने अभियानको वेवसाईट नै तयार गरेर फर्केकाहरुको रुचि र योग्यतालाई संबोधन गर्ने प्रयत्न गर्दै छिन्। देश फर्कन चाहनेहरुको योग्यतालाई लक्षित गरी टिम निर्माण, सम्पर्क बिस्तार, सामूहिक लगानी तथा परामर्श मार्फत नेपाल फर्किन चाहने र फर्कि सकेकाको लागि उत्प्रेरणाको काम गर्दै आएकी छिन्।

बिभिन्न संस्थाले आयोजना गरेका मोटिभेसनल सेमिनारमा उनले उत्प्रेरक वक्ताको रुपमा आफ्ना अमेरिकी अनुभव बाँड्न थालेकी छिन्। त्यति मात्र हैन उनले सुदूरपश्चिम प्रदेशका केहि जिल्लामा गएर अति बिपन्नहरुलाई लुगा कपड़ा पनि बाँडेर आईन्। गरीबी भनेको के हो भन्ने कुरा बिनिशाले आफ्नै आँखाले देखेपछि अब राजनीतिमा लागेर गरीबी र बेथिति बिरुद्द बिजय प्राप्त गर्ने अठोट पनि गरेकी छिन् बिनिशाले। साझा विवेकशील पार्टीको प्रदेश नं ३ को सदस्यमा समेत मनोनित भएपछि उनको दिनचर्या अझ ब्यस्त बनेको छ।

आँखै अगाडिका आफ्ना जन्म दिने आमा बुबा र आफन्तहरुको अगाडि आफूलाई पाउँदाको अलौकिक आनन्दको उनी शब्दमा बर्णन गर्न सकिरहेकी छैनन्। नेपाल फर्किएपछिको आफ्नो अनुभव सुनाउन उनलाई भ्याई नभ्याई छ। संस्कार र धर्मप्रतिको दायित्वबोध गराउन आफ्नो आठ बर्षे छोरालाई ध्यान बस्न सिकाउन उनले एक हप्ता गुम्बामा समेत राखिन्, जहाँ छोराले बौद्द दर्शन र मेडिटेशन सम्बन्धि धेरै कुरा सिकेका छन्।

सबै कुरा सिस्टममा चलिरहेको अमेरिकाको बानी परेकी बिनिशालाई नेपालमा धेरै समस्या भए पनि समाधान गर्न नसकिने कुनै समस्या छैनन् भन्ने कुरामा प्रतिबद्ध र दृढ देखिन्छिन्। “मरुभूमिमा बनेको लस भेगास त उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ भने नेपाल त स्वर्गको टुक्रा पो हो त!” उनले हाँस्दै भनिन्।

यसका अलावा उनी नेपाली पत्रिका डट कममा नियमित स्तम्भकारको रुपमा आउँदैछिन्। उनको ललितपुरमा ‘फारअवे क्राफ़्ट्स’ नामक आफ्नै हस्तकलाको उद्योग पनि छ जसको नेटवर्क नेपालदेखि अमेरिकासम्म रहेको छ। उनका प्रेरणादायी विचारहरु सुन्न, उहाँकै नेपालस्थित ‘फारअवे क्राफ्ट्स’को बारेमा जान्न, आफ्ना कुराहरु शेयर गर्न, लगानी तथा सहकार्य गर्न उनलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ। त्यसैगरी नेपाल फर्कौँ महाअभियान बारे बुझ्न https://www.nepalfarkaun.org/ मा हेर्न सकिन्छ।

प्रस्तुति : सरगम भट्टराई

Maruti Cement