चलचित्र विकास बोर्डले १९ औँ बार्षिकोत्सव मनायो, चलचित्रकर्मी सम्मानित

Prabhu Bank

काठमाण्डौ । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको १९ औं बार्षिकोत्सव मनाएकोे छ । सोमबार काठमाण्डौमा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा भव्य रुपमा वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा लामो समय देखि चलचित्र क्षेत्रमा आवद्ध चलचित्रकर्मीलाई सम्मान गरिएको छ ।

Saftey Pads

विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना चलचित्रलाई डिजिटल प्रविधिमा ढालेको छ । जसमा ‘आमा’, ‘हिजो आज र भोली’, ‘जीवनरेखा’, ‘के घर के डेरा’, ‘सिन्दुर’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘कुमारी’, ‘बदलिदो आकाश’ र ‘शान्तिदीप’ रहेका छन् ।

कार्यक्रममा नेपालको पहिलो अभिनेत्री भुवन चन्द, अभिनेता भुवन केसी, अभिनेता शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, साउण्ड इन्जिनियर प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी निर्देशक तोशी आकी इतोह, चलचित्र पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी (आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई सम्मान गरिएको छ ।त्यस्तै बोर्डले गत वर्ष प्रदर्शनमा आएका तीन चलचित्र ‘बुलबुल’, ‘कथा ७२’ र ‘गोपी’लाई पनि विशेष सम्मान गरेको छ ।

चलचित्रकर्मीहरुलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, साउनबाट सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने, चलचित्र छायाङ्कनका लागि सुविधासम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा १८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्ने बताए । उनले नेपाली चलचित्रको उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजुलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिवद्धता जनाएका छन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले तीन वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार असार २७ गते राष्ट्रपति भवनमा बाडिँने बताएका छन् । बोर्डले यो बर्ष ३ करोड रुपैयाँ सरकारको सहयोग र १७ करोड आन्तरिक श्रोतबाट उठाउने लक्ष्य राखेको पनि उनले बताए ।

Maruti Cement