केशव दाई, आइफाका नाममा कलंकको टिका नलगाउनुस् !

Prabhu Bank

आदरणीय केशव दाई, नमस्कार।

Saftey Pads

तपाईँलाई सम्बोधन गरेर यो पत्र लेखिरहँदा म केहि वर्ष पछाडि फर्किएको पनि छु। सम्बोधनमा दाई भनेर अपनत्व देखाउन खोजे पनि यो पत्र मैले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको कुर्सीमा विराजमान तपाई केशव भट्टराईलाई नै लेखेको हुँ। व्यक्तिगत रूपले तपाईंले मलाई चिन्नु हुन्छ या चिन्नु हुन्न,म त्यो प्रश्नको उत्तर खोजेर अहिले उठाउन खोजेको विषयको विषयान्तर गर्न पटक्कै चाहत्र। तर तपाईँलाई स्मरण गराउन मात्रै अलिकति पछाडि भने फर्किन चाहन्छु, आज भन्दा झण्डै ७ बर्ष अगाडि अर्थात २०६९ सालको पुस महिनामा सिङ्गो चलचित्र क्षेत्र आन्दोलित भएको थियो। तपाईँलाई याद हुनुपर्छ: चलचित्र क्षेत्रले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारसँग ९ बुँदे माग अघि सारेर झण्डै १ महिना लामो आन्दोलन गरेको थियो। ६ दिन सम्म हामी आमरण अनशनमा पनि बसेका थियौ, त्यही आमरण अनशनकारी मध्येको एउटा केटो आज तपाईँलाई यो पत्र लेखिरहेको छ। त्यसो त म अहिले फिल्म क्षेत्रमा छैन। एउटा फिल्म र दुई चार ओटा भिडियो अनि एक दुई चलचित्रमा गीत लेख्नु बाहेक मेरो चलचित्र क्षेत्रमा खासै योगदान छैन र पनि नेपालको चलचित्र क्षेत्रको असाध्यै माया लाग्छ दाई। झन् पुरै जिन्दगी यही क्षेत्रमा बिताएको नेपाली चलचित्र क्षेत्रको तपाई जस्तो हस्तीलाई कति माया लाग्दो हो? त्यहि आन्दोलनमा हाम्रा ९ बुँदे मागहरू मध्येको एक दुईटा बुँदा आजको प्रसङ्गमा स्मरणयोग्य छन्।

हाम्रो मागको पहिलो बुँदा थियो: चलचित्र विकास बोर्डलाई स्वायत्त गर। हाम्रो यो माग पुरा भएको मलाई आजसम्म पनि महशुस भएको छैन तर हाम्रो मागको दोश्रो बुँदाको स्मरण गरेपछि चाँहि हाम्रो आमरण अनशन, सयौँ चलचित्रकर्मीहरूको रिले अनशन अनि मुकेश ढकाल लगायतका साथीहरूले प्रहरीको लाठीबाट टाउको फुटाएको सङ्घर्षले सार्थक रुप लिएको प्रतित हुन्छ। दोश्रो बुँदा थियो: चलचित्र विकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको विषयमा निश्चित मापदण्ड बनाई चलचित्र क्षेत्रसँग प्रत्यक्ष संलग्नता रहेको व्यक्ति अनिवार्य गर। यो ७ वर्षको बिचमा बोर्डले ४ जना अध्यक्ष पाएको छ, सबैको नियुक्ति प्रक्रियाको मापदण्ड के थियो र के हो भन्ने विषय पट्टि मैले कहिल्यै सोचिनँ तर जब चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा जब सरकारले तपाईँलाई नियुक्त गर्ने निर्णय गरेको समाचार पढेँ, त्यो दिन मन खुशी थियो किनकि हाम्रो ७ वर्ष पुरानो त्यो माग पुरा भएको थियो। कसैले मानोस् या नमानोस नेपाली चलचित्रको इतिहाँसमा प्रत्यक्ष राजनीतिक रङ्ग नदलिकन, योग्यता अनि यहि क्षेत्रमा पूरा जीवन क्रियाशील रहने व्यक्ति बोर्डको अध्यक्षमा नियुक्त भएको मेरा लागि तपाईं नै पहिलो हो। मैले अघि पनि भने म अहिले चलचित्र क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्दिनँ र भविष्यमा करियर बनाउँछु भनेर फेरि चलचित्रमा आउने कुनै सोँच पनि छैन। त्यो आन्दोलनताका मेरा आदरणीय मित्रहरू मुकेश ढकाल, सुरेश दर्पण पोखरेल, एम एस अग्रज अनि निला बस्नेतहरू आज देश बाहिर छन्, तपाई जत्तिको चलचित्र क्षेत्रको हस्ती बोर्ड अध्यक्षमा नियुक्त भइरहँदा ती साथीहरू पनि पक्कै खुशी भएका होलान् भन्ने विश्वास गरेको छु। नेपालको चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा तपाई जत्तिको भुक्तभोगीका अगाडि मैले भन्ने कुराहरुले खासै अर्थ राख्दैन भन्नेमा म प्रष्ट छु। यो पत्रमा मैले उठाउन खोजेको विषय भने अलि फरक छ।

अस्ति भर्खर टिकेट नबिकेर जापानको उडान स्थगित गरेको निगमलाई टिकट बिक्ने ठाउँमा ६ सय बढिलाई चाँहि किन निशुल्क बोक्नु परेको होला दाई हाम्रो सरकारलाई?

नेपालमा सरकारको प्रत्यक्ष संलग्नतामा आइफा अवार्ड हुने भन्ने विषयबारे बाहिर आएका थुप्रै तथ्यहरू हेरिसकेपछि सुनिसकेपछि यो पत्र लेख्ने आँट गरेको छु। केशव दाई, भारतीय नीजि कम्पनीले नेपालमा गर्ने भनिएको फिल्म अवार्डबारे कुरा गरौँ। समाचारहरूका अनुसार सरकारले अवार्डका लागि नगद मात्रै ४४ करोड सहयोग गर्ने, वायु सेवा निगममा ६ सय बढि भारतीय कलाकारको नि:शुल्क आवतजावतको व्यवस्था गर्नुपर्ने, नाडाले शो रुमका सवारी साधन दिनुपर्ने र होटेल एशोसियसनले नि:शुल्क आवासको व्यवस्था गर्नुपर्ने विषय बाहिर आएका छन्। जनस्तरबाट राज्यको ढुकुटीबाट विदेशी अवार्ड गर्न पाईँदैन भन्ने आवाज उठेपछि मेरो समाजवादी सरकार भन्छ: ‘अवार्डका लागि राज्यले १ पैसा सहयोग गर्दैन, आवश्यक रकम पर्यटन बोर्ड र काठमाण्डौ महानगरपालिकाले गर्ने हो।’ म बडो दोधारमा छु यो पर्यटन बोर्ड र महानगरको पैसा चाहिँ हाम्रो सरकारी रकम हो कि होइन? के त्यो दुवै निकायमा हुने रकम राजश्व वापतको रकम होइन?यदि पर्यटन बोर्ड र काठमाण्डौं महानगर सरकारी निकाय नभएर नीजि हुन् भने आइफा मात्र किन अलि बढि पैसा मागेर ओस्कार नै गरौँ दाई । अब नीजि क्षेत्रकै कुरा गरौँ न त: ती चण्डाल भारतीय कलाकारका लागि शो रुमका गाडी प्रयोग गर्न दिने रे। यो नीजि सम्पत्ति हो उनीहरूले जसलाई प्रयोग गर्न दिन्छन् उनीहरूको कुरा हो। तर यो अवार्ड सकिसकेपछि ती गाडीहरू धोई पखाली गरेर फेरि तपाई हामीलाई नै बेचिन्छ होला है दाइ? भावनात्मक रूपले हेरौँ न! के ती गाडीहरू डिप्रिसिएसन कटाएर सेकेन्ड ह्याण्ड मूल्यमा बेचिने हो र हामीलाई? अब अर्को विषयमा जाऔं: भारतीय कलाकारलाई नेपाल वायुसेवा निगमको नि:शुल्क आउने जाने सुविधा बारेमा सोचौँ त ! निगम त सरकारी हो नि हैन र ? अनि नेपालका संस्थानहरु मध्ये भ्रष्टाचारले सबै भन्दा बढि थिलो थिलो भएको पनि वायुसेवा निगम नै हो। अस्ति भर्खर टिकेट नबिकेर जापानको उडान स्थगित गरेको निगमलाई टिकट बिक्ने ठाउँमा ६ सय बढिलाई चाँहि किन निशुल्क बोक्नु परेको होला दाई हाम्रो सरकारलाई? अनि आवासको कुरा गरौँ: सरकार भन्छ आवास होटलहरुले निशुल्क उपलब्ध गराउँछन। देशमा भएका औलामा गन्न सकिने तारे होटलमा निशुल्क २ रात पाहुना राखेर पर्यटन क्षेत्रको विकास हुन्छ कि विनाश मलाई बुझाई दिनु पर्यो दाइ । पर्यटन क्षेत्रको विकास गर्ने भए कर्णालीका मान्छेलाई ५० प्रतिशत छुटमा एकरात पाँचतारे होटेलमा बस्ने अफर घोषणा गरौँ न, आन्तरिक पर्यटनकै संभावना यति बलियो भएको ठाउँमा पर्यटन प्रवर्धन गर्न तारे होटलमा नि:शुल्क बास रे।

यो समाजवादी सरकारलाई भनिदिनुस्: ‘हाम्रो प्रकृति र मौलिक संस्कृति देखाएर पर्यटकलाई आकर्षित गरौँ, नि:शुल्क जहाजमा बोकेर, नि:शुल्क आवास दिएर र करोडौ लगानीमा स्टेज बनाएर अनि सैनिक मुख्यालय छिर्न दिएर यिनले हाम्रो पर्यटन वर्ष सफल पारिदिने होईनन्, राष्ट्रिय सुरक्षामै धावा बोलिदिन्छन्।

अब अर्को प्रसङ्गमा जाऊँ: यो सबै भन्दा महत्वपूर्ण प्रसंग पनि हो। अवार्ड गर्ने स्थान चाहिँ सैनिक मुख्यालयको चौर रे ! सेना हरेक देशका लागि सबै भन्दा गौरवशाली संगठन हो। त्यहाँ अवार्ड गर्नुका पछाडिको रहस्य के हो? नेपालको राष्ट्रियतासँग जोडिएको विषय होईन र सैनिक मुख्यालय? यस्का पछाडिको प्रायोजित उद्देश्य के हो? हाम्रो देशको प्रधानमन्त्रीको निवासमा समेत भारतीय गुप्तचर संस्था रअ का अधिकारीहरु पुग्ने गरेका समाचार पढ्न र सुन्न अभ्यस्त भईसकेका हामीले ६ सय जना भारतीय कलाकारको साथमा सैनिक मुख्यालयको कम्पाउण्ड भित्र को को छिर्छन भनेर अनुमान गर्न सक्दैनौ र ? यो राष्ट्रिय सुरक्षाका लागि निकै संवेदनशील विषय होईन र? स्वाभाविक रूपले नेपालको चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले प्रत्यक्ष रुपमा यो कार्यक्रममा तपाईँ जोडिनुभएका थुप्रै समाचार पढेपछि यो पत्र लेखेको हूँ।

सवाल यो कार्यक्रमलाई कति पैसा दिने मात्रै होईन, सवाल कुन शो रुमका कति गाडी प्रयोग गर्ने भन्ने मात्रै पनि होईन, सवाल नेपाल वायुसेवा निगमलाई अझ कति डुबाउने भन्ने पनि रहेन, कुन होटेलमा कसलाई राख्ने भन्ने पनि रहेन तर सवाल राष्ट्रिय सुरक्षाको चाँहि हो दाइ, त्यसैले यो कार्यक्रम नेपालमा नगरौ दाइ । राष्ट्रिय स्वाभिमानलाई बन्धकी राखेर गरिने यो अवार्डमा प्रत्यक्ष जोडिएर कलंकको टिका नलगाउनुस दाई । नेपालको चलचित्र क्षेत्रले तपाईबाट खुबै आशा गरेको छ त्यसैले यो समाजवादी सरकारलाई भनिदिनुस्: ‘हाम्रो प्रकृति र मौलिक संस्कृति देखाएर पर्यटकलाई आकर्षित गरौँ, नि:शुल्क जहाजमा बोकेर, नि:शुल्क आवास दिएर र करोडौ लगानीमा स्टेज बनाएर अनि सैनिक मुख्यालय छिर्न दिएर यिनले हाम्रो पर्यटन वर्ष सफल पारिदिने होईनन्, राष्ट्रिय सुरक्षामै धावा बोलिदिन्छन्।लौन, हाम्रो स्वाभिमानमा यो भद्दा मजाक नगरौँ।

तपाईँलाई श्रद्धा गर्ने भाइ
सूर्यदिप रेग्मी
Maruti Cement