बालुवाटार जग्गाको कालो कथाः ‘मामाले मलाई धम्की दिएर जानु भो’

बालुवाटार जग्गा प्रकरणमा नातेदारसँगको लेनदेन विवाद

काठमाण्डौं। बालुवाटारको २९९ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने योजनाकारका रुपमा चिनिएका शोभाकान्त ढकालले आफ्नै भान्जीबुहारी नाता पर्ने शान्ता खनाललाई धम्की दिएको खुलासा भएको छ। बालुवाटार जग्गा प्रकरणमा नातेदारसँगको लेनदेन विवादका क्रममा ढकालले भान्जी नाता पर्नेलाई धम्की दिएका हुन।

शान्तासँगको लेनदेन विवादको टेलिफोन रेकर्डको अडियो सर्वोच्च अदालत पुगेपछि बालुवाटार जग्गा प्रकरणको थप कालो कथा सार्वजनिक भएको हो। सर्वोच्च अदालतलाई श्रोत उल्लेख गर्दै कान्तिपुर दैनिकले टेलिफोन रेकर्डको उक्त अडियो आफ्नो युट्युब च्यानलमा प्रकाशित गरेको छ।

”हिसाब किताबको भनेको मामाले एकचोटी आउनु भो मलाई धम्की दिएर जानु भयो होइन।” लेनदेन विवादका क्रममा ढकालसँग भएको टेलिफोन संवादमा शान्ताले भनेकी छन्।

सार्वजनिक भएको अडियो रेकर्डमा ढकालले जग्गा मिलाइदिने नाममा आफ्नो भान्जी नातापर्ने शान्ता खनालबाट पैसा लिएको र सो रकम बालुवाटारको जग्गा हत्याउन मुद्दा मिलाउँदैमा सकिएको बताएका छन्। उनले टेलिफोन कुराकानीमा अख्तियार, जिल्ला प्रशासन र सर्वोच्च समेतमा मुद्दा मिलाउँदा पैसा सकिएको बताएका छन्। अडियोमा उनले पटक पटक भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले जग्गामा पैसा लगानी गरेको उल्लेख गरेका छन्।

संवादका क्रममा ढकालले “तपाईंको मात्रै होइन, हाम्रो पनि कति पैसा गएको छ,’ शान्ता खनालसँगको करिब साढे तीन घण्टाको कुराकानीका क्रममा ढकालले भनेका छन्, ‘राणाहरूले गरेको मुद्दा सर्वोच्चमा पुग्यो, अख्तियारमा गयो । सबैसँग मुद्दा लड्दा कम हैरान त थिएन नि । मैले तपाईंको पैसा ल्याएर उहाँ बुझाएको हो । पैसा बुझ्ने मान्छे जिउँदै छ, सोधे हुन्छ ।’ ढकालले पैसा पुर्याउने र बुझ्ने व्यक्तिको नाम उल्लेख गरेका छैनन् ।

२ दशक अघि निम्न आर्थिक हैसियतका शोभाकान्तले आफ्नो दिनचर्या चलाउन सानोतिनो ‘जग्गा दलाली’ सुरु गरेका थिए । त्यसक्रममा ढकालले खनालसँग ऋण माग्ने, आफूले जग्गा तथा ब्याजमा लगानी गर्ने र प्रतिफल खाएर साँवा सहितको मूलधन फिर्ता गर्न थालेका थिए । उनले बालुवाटारको जग्गामा पनि चलखेल सुरु गरेका थिए ।

शान्ताका अनुसार ढकालले बालुवाटारको राम्रो ठाउँको जग्गा छ, अहिले नै लगानी गरे पछि भाउ पर्छ भनेर १० लाख रुपैयाँ लिएका थिए। तर ढकालले पैसा पनि फिर्ता नदिएको र जग्गा पनि नदिएको शान्ताको आरोप छ। रकम फिर्ता माग्दा झूटो मुद्दा लगाएको शान्ताको दाबी छ। उनका अनुसार दोस्रोपटक ढकालले ३ लाख फेरि मागे । अनि शान्ताका भाइ रञ्जनलाई समेत थप ४ आना जग्गा दिने भनी २ लाख भारतीय रुपैयाँ लिए ।

करिब १६ लाख रुपैयाँ फिर्ता मागेपछि ढकालले आफूविरुद्ध साढे २ करोड रुपैयाँको फर्जी मुद्दा लगाएको जनाउँदै रकम फिर्ताका लागि आफूले पटकपटक कुरा गरेको खनालले बताइन । तिनै कुराकानीका क्रममा रेकर्ड भएको अडियो फाइल सर्वोच्च अदालतमा पुगेको हो। त्यही अडियोमा आधारित भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारे छानबिन गरिरहेको छ । खनालले कबुलअनुसारको जग्गा वा ब्याजसहितको रकम फिर्ता गर्न भनेपछि ढकालले सरकारी जग्गा आफ्नो नाममा पार्ने क्रममा मुद्दा मिलाउन खर्च भएको जवाफ दिएका हुन् ।

ढकाल र रामकुमार सुवेदीलगायतको समूहले नक्कली मोही खडा गरी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हत्याएको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । २०४९ सालताका राणा परिवारका नाममा सरकारीजग्गा हस्तान्तरण भएको थियो ।

२०६७ सालमा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा फेरि मोहीका नामबाट ढकाल र सुवेदीले जग्गा आफ्नो नाममा ल्याएका थिए । त्यस क्रममा विभिन्न सरकारी निकायहरूमा फाइलहरू पुगेको र निकै उल्झन बेहोर्नुपरेको ढकालले उक्त कुराकानीमा बताएका छन ।

कान्तिपुरको युट्यूब च्यानलमा प्रकाशित शोभाकान्त ढकाल र शान्ता खनालबीचको संवाद सुन्नुहोस्।

कान्तिपुरमा प्रकाशित अडियोको आधारमा प्रकाशित समाचार

तपाईंको प्रतिक्रिया/टिप्पणी