ओलीको ‘भ्यागुताकी बच्ची’ अगाडि बाबुरामको ‘निदुली ज्योतिषी’

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुताको बच्चीको कथा सुनाउँदै समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई व्यङ्ग्य गरेपछि अध्यक्ष भट्टराईले पनि निदुली ज्योतिषीको कथा सुनाउँदै त्यसलाई कटाक्ष गरेका छन् ।

Saftey Pads

प्रधानमन्त्री ओलीले भ्यागुताको बच्चीको कथा सुनाउँदै थपेका थिए, ‘नेपालमा पिएचडी गर्नेहरु थुप्रै छन्, मानिलिउँ एउटाले मात्रै पिएचडी गरेजस्तो डाक्टर…डाक्टर…डाक्टर!’

प्रधानमन्त्री ओलीले आफूमाथि गरेको व्यङ्ग्यको खिलाफमा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीलाई निदुली ज्योतिषीको संज्ञा दिँदै काकताली परेर यो स्थानसम्म आइपुगेका बताएका छन् ।

उनले आफ्नो आधिकारिक ट्विटरमा लेखेका छन्, ‘‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ ! त्योसँगैं निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए, भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?”

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

कथामा अध्यक्ष भट्टराईले यस्तो लेखेका छन्:

निदुली बाहुन साँझमा ससुराली पुगेछन् ।

सासू भित्र सेलरोटी पकाउँदै रहिछन् । ज्वाइँ बाहिर पिँढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् ! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् ! ज्वाइँले भनेछन्, रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार? ठ्याक्कै रोटीको सङ्ख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् । गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन् अब पर्यो फसाद ! भोलिपल्ट बिहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन् ।

भाग्दै जाँदा बाटोमा उखुबारीमा गधा चर्दै गरेको देखेछन् ! के खोज्छस् दृष्टिविहीन, आँखा ! ज्वाइँ ससुराली घर फर्केर सुतेछन्, भोलिपल्ट जोखाना हेरेझैँ गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् ! अब के चाहियो? निदुलीका ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाएछन् र हराएका हीरा, जवाहरात पत्ता लगाउन भनेछन् । बस्न कोठा दिएछन् ! अब पर्यो महाफसाद ! भागौं, पहरा छ ! कोठामै बर्बराएछन् ‘रोटी गनीगनी जैसी कहाएँः धोबीको गधा उखुबारी पाएँ, अब आयो निदुली तेरै काल !’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ ! उसको नाउँ पनि निदुली रहेछ ! उसले रूँदै आएर भनिछ ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु ।’ निदुली राजज्योतिषी बनेर धनधान्य भएछन् ! अब आफै बुझौँ हाम्रो अहिलेको राजज्योतिषी को हो !

Maruti Cement