वीरबलको चोर पत्ता लगाउने गधा

Prabhu Bank

एक दिन राजा अकबरले आफ्नी रानीलाई उपहारस्वरूप निकै राम्रो र महँगो गलामा लगाउने हार किनेर ल्याएर दिन्छन् । रानीले हार आफ्नो गलामा लगाउँदै त्यो हारको प्रशंसा गर्छिन् र राजाप्रति कृतज्ञता प्रकट गर्छिन् । जब राति सुत्ने समय हुन्छ तब रानीले हार फुकालेर दराजमा राखेर सुत्छिन् तर भोलिपल्ट बिहान हेर्दा हार त्यहाँ भेटिँदैन।

Saftey Pads

राजाले आफ्नी रानी, रानीका सुसारे  र सिपाहीहरुलाई रानी सुत्ने कोठाको सबै तिर खोज्न भन्छन् । यसरी पनि हार नभेटेपछि राजा अकबरले मन्त्री वीरबललाई सबै कुरा बताउँदै चोर पत्ता लगाउन आदेश दिन्छन्।

सबै कुरा सुनेपछि वीरबलले हार चोरी भएकै ठहर गर्छन् र राजालाई रानीको सेवामा खटिएका सुसारे र उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई उपस्थित गराउँन भन्छन् र आफू (वीरबल) चाहिँ चोर पत्ता लगाउँने आफ्नो साथी लिएर तुरुन्त फर्कने बताउँदै बाहिर निस्कन्छन्।

जब वीरबल सभाहलमा एक गधा सहित प्रवेश गर्छन् तब सबै आश्चर्य चकित हुन्छन् । वीरबलले सबै सामु त्यो गधा नै चोर पत्ता लगाउने साथी भएको बताउँछन् र त्यसलाई एक अलग्गै कोठामा लगेर बाँध्छन्।

अनि वीरबलले सबै शङ्कास्पद तीन जना सुसारे र तीन जना सुरक्षाकर्मी गरि छ जनालाई लाइनमा उभ्याएर भन्छन् स्( “तिमीहरू सबै जना एक एक गरि त्यो गधा भएको कोठामा गएर त्यसको पुच्छर समाएर मैले हार चोरेको छैन भनेर भन्नू पर्नेछ र जब सबै जनाले यसो गरेर सकिए पछि म गएर गधालाई सोध्नेछु, हार कसले चोर्यो भनेर तब उसले बताउनेछ।“

जब शङ्कास्पद सबैजना एक एक गर्दै गधा भएको कोठामा गएर “मैले हार चोरेको छैन“ भन्दै फर्कन्छन् तब वीरबल पनि अन्तिममा गधा भएको कोठामा गएर फर्कन्छन् र सबै जनाका हात हेर्दै सुँघ्दै गर्छन् तब एक सुरक्षाकर्मीलाई यसैले हार चोरेको भनेर ठोकुवा गर्छन्।

सुरक्षाकर्मीले आनाकानी गर्दै भन्छः “मैले चोरेकै छैन, गधाको भनाइमा कुनै तुक, प्रमाण छैन।“

तब वीरबलले स्पष्ट गर्दै भन्छन्ः “त्यो गधाको पुच्छरमा मैले अत्तर लगाई दिएको थिए र अरु सबैको हातमा अत्तरको चिल्लो र वास्ना छ तर यो सुरक्षाकर्मीको हातमा केही पनि छैन, चलाखी स्वरुप यसले गधाको पुच्छर नै समाएन , त्यसैले चोर अरु कोही होइन, यही हो।“

यो तर्क सुनिसके पछि चोर मलिन अनुहार बनाउँदै हायलकायल हुन्छ, माफी माग्छ र हार फिर्ता गरिदिन्छ तर एक सुरक्षाकर्मीबाट भएको त्यो गल्ती राजा अकबरलाई सह्य हुँदैन र उसलाई देश निकाला गर्ने आदेश दिन्छन्।

Maruti Cement