काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं जन्मोत्सव मनाइरहँदा विद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली रेड कार्पेटमा कालो जुत्ता लगाएर टक–टक हिँडिरहे ।
विगत तीन दिनदेखिको लगातारको वर्षाका कारण बाटोमा टेक्ने ठाउँ थिएन । तर, प्रधानमन्त्रीका लागि हिलोमाथि नै रेड कार्पेट बिछ्याइएको थियो ।
आजैको अवसर पारेर नवनिर्मित उपकुलपति कार्यालयको उद्घाटन गर्नु थियो, विद्यालयलाई । तर, उद्घाटन स्थलसम्म जाने बाटोमा टेक्नेको लागि ओभानो ठाउँ थिएन ।
प्रधानमन्त्री ओली सो ठाउँसम्म रेड कार्पेट टेक्दै पुगे । उनी त्यहाँ पुगेसँगै आमसर्वसाधारण तथा सरोकारवालाहरूको आँखा उनको कार्पेटमाथिको पाइलामा पुग्यो ।
यत्तिबेला सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना गर्नेको लर्को लागेको छ ।
प्रधानमन्त्री रेड कार्पेटमा हिँडिरहेका तस्वीर राख्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरूले आफ्नै किसिमले विश्लेषण तथा आलोचना गरेका छन् ।
रातो कार्पेटबीच आलोचनाः
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार प्रधानमन्त्रीलाई कार्पेटमा देखेर आफ्नो आधिकारिक ट्विटरमा फोटोमा फोटोले देखाएको भन्दा गहिरो अर्थ बोकेको लेखेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘यो फोटोले फोटोमा देखिएभन्दा धेरै गहिरो अर्थ बोकेको छ। यसले ओलीजी, उनको सरकार/सहयोगी र समग्रमा नेपाली राजनीति बाँचेको भ्रमपूर्ण धरातललाई पनि प्रतिविम्वित गर्छ । साथै, त्यो हिलो/मैलो सहँदै हरेक ५ वर्षमा तिनै नेतालाई रेड कार्पेट विछ्याउने हाम्रो समाजको विडम्वनालाई पनि उजागर गर्छ ।’
यस्तै समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफ्नो आधिकारिक ट्विटरमा देशको प्रमुख ज्ञान उत्पादन केन्द्रले आफ्नो हविगत छोप्न कार्पेट बिछ्याएको भनी टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘देशको प्रमुख ज्ञान उत्पादन केन्द्र टियूको यस्तो हविगत छोप्न रातो कार्पेट विछ्याउने प्राज्ञहरू,त्यसमाथि धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला? विश्वविद्यालय भित्र मन्दिर बनाउने पैसाले यो हिलाम्मे बाटो पिच गर्न सकिन्नथ्यो? यस्तो उल्टो वुद्धि हुनेले के पढाउलान्रु’
त्यस्तै एचबी ताम्राकार नामका अर्का ट्विटर प्रयोगकर्ताले पनि सो तस्वीर हेरेर व्यङ्ग्यात्मक शैलीमा लेखेका छन् ।
उनले प्रधानमन्त्री ओलीले कार्पेटतिरमात्रै हेरेको टिप्पणी गर्दै कार्पेटमा मात्रै नभएर सबैतिर हेर्नुपर्ने व्यङ्ग्यात्मक सत्य लेखेका छन् ।
उनले लेखेका छन्, ‘काकाको नजर रेड कार्पेटतिर मात्रै छ, यसो दाँयाबाँया पनि हेरिदिनु पर्यो । जनताको प्रश्नको जवाफ ठाउँको ठाउँ मिल्थ्यो कि? दलबलसहित काका फिल्डमा निस्केछन्, अब केही हुन्छ कीरु’
प्रधानमन्त्री ओलीको तस्वीर देखेर एकपछि अर्को टिप्पणी गर्नेको ओइरो लाग्न थालेको छ ।
प्रधानमन्त्री ओली रेड कार्पेटमा हिँडेको तस्वीर सार्वजनिक भएपछि अमृत नाम गरेको ट्विटर प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘हिले माछा खोज्दै प्रधानमन्त्री’ !
त्यसैगरि सोझो चोर नामका अर्का ट्विटर प्रयोगकर्ताले प्रधानमन्त्रीलाई कार्पेटमा देखेर प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओली रेड कार्पेटमा हिँडिरहँदा मनमा कस्तो होला भनेर जिज्ञासा राखेका छन् ।
उनी पनि ट्विटरमा लेख्छन्, ‘यसरी हिँड्दा प्रधानमन्त्रीलाई के आउँदो हो मनमा है!’
‘लाजसरम भन्ने सकिएपछि के गर्नु? हिलोमाथि रेड कार्पेट, हुन त समृद्धि आएको लक्षण होला’ अर्को ट्विटर प्रयोगकर्ता चिरिन्जिबी आचार्यले गाली शैलीमा लेखेका छन् ।
त्यस्तै प्रधानमन्त्रीलाई रेड कार्पेटमा देखेर ट्विटरमा एभरेष्ट नाम भएका अर्का प्रयोगकर्ताले निकै व्यङ्ग्यत्मक शैलीमा लेखेका छन् ।
उनले लेखका छन्, ‘पानी परेको बेलामा निकै माटो मलिलो हुने र हिलोजस्तो देखिने, तर गएर टेक्दा हिलो नहुने र घाम लाग्दा पिच हुने नेपालको एकमात्र नियम तोडेर बनाइएको बाटो’