कहाँ दुख्छ घाउ..

-एलबी विश्वकर्मा

मेरो गाउँको नाम ‘डुमबाडा’ थियो। म त्यहाँ बस्ने भएकाले डुमबाडी थिएँ। अलि माथि दासबाडा र त्योभन्दा माथि दमाईबाडा छ। हामी दासबाडी र दमाईबाडीलाई विभेद गथ्र्यौं। अहिले पनि ठाउँ र गाउँकै कारण विभेद हुने गरेको छ। गाउँकै कारण धेरै पटक मैले विभेद सहेको छु। यो यसकारण कि मेरो गाउँको नाम ‘डुमबाडा’। र म त्यहाँ बस्ने भएकाले डुमबाडी।

अलि माथि दासबाडा र त्योभन्दा माथि दमाईबाडा छ। हामीले ती दासबाडी र दमाईबाडीलाई विभेद गथ्र्यौं। हुन त डुमबाडा, दासबाडा र दमाईबाडामा दलितहरूको बस्ती छ। त्यहाँ कहाँ कुन थरका मान्छेहरू बस्छन्। नामकरण सोहीअनुसार गरिएको छ। त्यो डुमबाडाका दुईवटा छुट्टै नाम छन्— नेटाकोट र दवाखौला। तर, त्यो नामले कसैले चिन्दैनन्। म डुमबाडी हुँ भन्नुपर्छ।

धेरै पटक मैले गाउँको नामकै कारण विभेद खेपेको छु। गाउँमा त विभेद सहेकै थिएँ। जिल्ला सदरमुकाम आउँदा झन् विभेद खेप्नु र्पयो। कक्षा ८ मा पढ्दै गर्दा बर्खामा विद्यालय छुट्टी भएपछि सदरमुकाममा ट्युसन पढ्न गएको थिएँ। डेरा खोज्दै जाँदा भाटबाडामा डेरा भेटियो। त्यहाँ भाट (क्षत्री)हरू बस्छन्। मैले पनि उतै कोठा भेट्टाएँ। साँझ छिप्पिन लागेको थियो। अनि एक जना लामो दारी पालेका मान्छे आएर सोधे। तपाईं नै हो कोठामा बस्ने ? हजुर म नै हो ! कता हो घर ? रामारोशन गाविस नेटाकोटा, दवाखौला हो। नेटाकोटा कुन ठाउँ ? डुमबाडा ! डुमबाडा ? उनले अचम्म मान्दै सोधे। मैले भने हजुर। एकैछिनमा बोली फेरियो, ए भाइ सुन। यो मेरो छोराको कोठा हो। ऊ धनगढीबाट आउँदै छ। घरकाले थाहा नपाएर कोठा दिइहाले अन्त कतै खोज है। अहिले रात परिसकेको छ। कहाँ बस्ने ? कहाँ खोज्ने ? गाउँ देखाउँदै ती बूढाले भने ऊ त्यहाँ। तिम्रा इष्टमित्र (नातेदार)हरू बस्छन्। त्यहाँ कोठा खोज्नु। यो गाउँमा कोठा पाइँदैन। अहिले होटलमा बस्नु है।

म केही समय अलमलमा परेँ अनि एउटा होटलमा गएर बसेँ। गाउँमा कसैलाई चिनेको थिइनँ। कहाँ जाने भन्ने भा’को थियो। भोलि बिहान उसले भनेको ठाउँमा कोठा खोज्न गएँ र उतै बसेँ। मलाई बिस्तारै थाहा भयो। ती बूढा सरकारी कर्मचारी रहेछन्। नागरिकता बनाउन गाउँमा जाँदा थाहा पाएका रै’छन्। म दलित बस्तीमा बस्ने मान्छे हो भनेर। त्यो गाउँमा दलितहरूलाई बास दिइँदैन रहेछ।

ममाथि विभेद भएको मलाई नै थाहा भएन। दलित भएकै कारण कोठा नपाइएको पछि मात्र थाहा भयो। यस्ता धेरै समस्या धेरै युवाले भोगिरहेका छन्। वास्तवमा भन्नुपर्दा दलितमाथि अदृश्य हिंसा भइरहेको छ। तर, हामीले यसको विरोध गर्न सक्दैनौं, न त हिंसा भएकै स्वीकार गर्न सक्छौं। किनकि हामीलाई थाहा हुन्न कि ममाथि विभेद भइरहेको छ।

मेजर दाइ

मेरो गाउँमा मेजर दाइ हुनुहुन्छ। उहाँको वास्तविक नाम धनसिंह टमटा हो। तत्कालीन द्वन्द्वरत माओवादीले उहाँको भूमिगत नाम मेजर दिएको थियो। सामान्य परिवारमा जन्मिनुभएका मेजर दाइसँग जग्गाजमिन एकदमै कम छ। उहाँ परिवार पाल्नका लागि रिती (साहु)को काम गर्न जानुहुन्छ। उहाँलाई अन्नबाली लाउने बेलामा भ्याइनभ्याइ हुन्छ। उहाँलाई बढी मात्रामा मल बोक्न धेरैले बोलाउने गर्छन्। पाँच छोराछोरी गरेर सात जनाको परिवार पाल्ने जिम्मेवारी उहाँको काँधमा छ।

मेजर दाइ खेती लगाउनुहुन्छ र ६ महिनापछि खेती पाकेपछि भाउजू गएर खलो उठाउनुहुन्छ। त्यही अन्नले परिवारको दुई छाक टारेको छ। उहाँको मात्र हैन, धेरैजनाको दैनिकी यसरी चलेको छ। म पनि परिवारको जेठो छोरा थिएँ। बाबा भारतमा सेक्युरिटी गार्डको काम गर्नुहुन्थ्यो। आमालाई घरायसी कामले भ्याइनभ्याइ हुन्थ्यो। गाउँमा एउटा चलन थियो। रितीहरूको खेतीवाडीको काम गर्न परिवारबाट हामी एकजना जानुपथ्र्यो। यसको मूल्य दिनभरि काम गरेपछि साँझबिहानको खानास्वरूप एक माना चामल दिने गरिन्छ र ६ महिनापछि खेती पाकेपछि एक कट्ठाभरि अन्न दिइन्छ। एक दिन म पनि मेजर दाइसँगै रितीको घरमा काम गर्न गएँ।

मल बोक्नुपर्ने थियो। विद्यालय छोडेर गएँ। रिती मेरो शिक्षक पनि हुनुहुन्थ्यो। उहाँको नाम गोविन्द साउद थियो। मलाई नै विद्यालयमा पढाउनु हुन्थ्यो। विद्यालय छोडेर उहाँको घरमा पहिलो पटक काम गर्न जाँदा मेजर दाइले ठूलो डोकोभरि मल हाल्नुभयो अनि उठाऊ भन्नुभयो। उहाँले जुरुक्कै उठाउनुभयो। बिहान साढे ७ बजेको थियो। मैले खाजासमेत खाएको थिइनँ। खुट्टाहरू थरथर काँप्न थाले उठाउन सकिनँ। मेजरले उठाइदिनुभयो। मैले काँप्दै त्यो मल करिब एक किलोमिटर परको खेतसम्म र्पुयाए। त्यसपछि मेजर दाइले आधा डोको मात्र मल हाल्दिन थाल्नुभयो।

बिहानको करिब ११ बजेको समयमा खाना खान बोलाइयो। हामी गयौं। बाहिर आँगनमा दुई थाली, दुई कचौरा र एक लोटा पानी राखिएको थियो। त्यो पानीले हामीले हात धोयौ। खाना लिएर शिक्षककी श्रीमती आउनुभयो। उहाँलाई म भाउजू भन्थेँ। मेजर दाइलाई उहाँले अलग्गै खाना दिनुभयो। मैले पनि त्यसैगरी थापेँ। पानी पनि त्यसैगरी थापेँ। मलाई अनौठो लाग्यो। मेजर दाइलाई सोधिहालँे। हामीलाई किन छाउपडीलाई जसरी खाना दिएको दाजु ? उहाँले भन्नुभयो— उहाँले खाना दिँदा हामीलाई छुनु हुन्न। देवता रिसाउँछन्।

हाम्रो गाउँमा लालबहादुर साउद नाम गरेका प्रधान हुनुहुन्छ। उहाँले भनेको सबैले मान्छन्। नमानून् पनि कसरी, उहाँ गाउँका मुद्दामामिला मिलाउने प्रधान हुनुहुन्थ्यो। उहाँ गाउँमा आएका आयोजनाको अध्यक्ष भएर काम गर्नुहुन्छ। हाम्रो गाउँको खानेपानी आयोजनाको अध्यक्ष भएर पनि उहाँले धेरै काम गर्नुभएको छ। तर, पाइप टाल्ने मात्रै।

२०६७ सालको कुरा हो, गाउँमा खानेपानी आयोजना निर्माणको काम चलिरहेको थियो। क्षत्रीहरूको बसोबास रहेको गाउँमा धारा निर्माण र ट्वाइलेट निर्माणको काम चलिरहेको थियो। त्यहाँ दलित बस्तीका बासिन्दा पनि श्रम गर्न गएका थिए। उनीहरूले धारा निर्माणका लागि ढुंगा बोक्ने काम गरिरहेका थिए। गाउँमा पुरुषहरू नभएका कारण महिला मात्र थिए। घरको एक जना जानैपर्ने भएकाले म पनि स्कुल छोडेर ढुंगा बोक्न गएको थिएँ। हामीसँगै काम गरिरहेकी एकजना दिदीलाई प्यास लागेछ। उहाँले कसैलाई केही नसोधी सीधै धारामा गएर पानी पिउनुभयो। त्यस बेला एकजनाको भाँडामा राखिएको पानी छोइएछ। उनलाई त्यो युवकले बेस्सरी हिर्कायो।

दिदी रुन थाल्नुभयो। त्यो पुरुषले डुमबाडी भएर पानी छुन्छेस्, उता जा ! भन्यो। दिदी रुँदै आउनुभयो। घरबाट ठूलीआमा आफ्नी छोरीलाई पिटेको भन्दै कराउन जानुभयो। भोलि बिहान गाउँमा छलफल चल्यो। उसले माफी माग्यो, झगडा सक्कियो। तर, कारबाही केही भएन। किनकि ऊ गाउँका प्रधानको भाइ थियो। यी घटना केवल उदाहरण मात्र हुन्। यस्ता धेरै विभेद समाजमा अहिले पनि छन्। पहिलेको भन्दा फरक ढंगले अहिले विभेद हुने गरेको छ।

२०७६ जेठ २५ गते कान्तिपुर दैनिकको कोसेलीमा शिवहरि ज्ञवाली लेख्छन्, २०७४ सालको ५३औं अन्तर्रा्ष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा प्रचण्डले एक कार्यक्रमलाई सम्बोधन गर्दै आहुतिको नामै लिएर भने, ‘हाम्रो पार्टीमा पनि बल्लबल्ल धेरै दु स्ख गरेर एउटा बुद्धिजीवीलाई नेतृत्वमा र्पुयाएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झन्डैझन्डै बौलाउनुभयो ।’

जातीय विभेद अन्त्यकै नारा लिएर पार्टी अध्यक्ष हँदै प्रधानमन्त्री हत्याउन सफल नेकपा अध्यक्ष प्रचण्डले नै आहुतिमाथि अपमानजनक शब्द प्रहार गरेर सिंगो समुदायमाथि प्रहार गरे। सायद प्रचण्डले आफूलाई रूपलाल विश्वकर्माले कम्युनिस्ट पार्टीको सदस्यता दिएको बिर्सिन पुगेछन्।
यसरी हामी दलितको आत्मसम्मानमाथि राज्यसत्ता चलाइरहेका शासक भनाउँदाले नै खुल्लमखुला प्रहार गरेका हुन्छन्। प्रचण्डजस्तो मान्छेले नै यस्ता अपमानित शब्दहरूको प्रत्यक्ष, सांकेतिक र प्रतिनिधिमूलक अर्थ रहने कुरा बिर्सन पुग्नु दुर्भाग्य हो।
विभिन्न आन्दोलनपश्चात् महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि विभेदपूर्ण नेपाली सामाजिक संरचना कहिल्यै परिवर्तन हुन सकेको छैन । दलित समुदायको हकमा सामाजिक न्याय शून्यप्राय स् छ । जातीयताकै आधारमा १५ जनाभन्दा बढी व्यक्तिको हत्या भएको छ । पीडितले न्याय पाएका छैनन्। सबै प्रकारका सामाजिक व्यवहारमा दलित समुदायको उपस्थिति अस्वीकार्य छ । गैरदलितको घरभान्सामा प्रवेश निषेध छ ।

कागजी रूपमा बनाइएका केही कानुन छन् जसले अप्रत्यक्ष रूपमा दलितमाथि नै विभेद गरेको पाइन्छ। यसमा दलित आरक्षणका कुराहरूसमेत पर्छन्। संविधानमा दलितलाई नौ प्रतिशत आरक्षणको व्यवस्था भए पनि यसको ग्यारेन्टी भने गरिएको छैन। यसका कारण यो एक कागजी रूपमा विभेदलाई मलजल गर्ने कानुन बनिरहेको छ। बेलाबेलामा जातीय विभेद अन्त्यका लागि आरक्षण हटाइनुपर्ने। केही उपल्लो जातका शिक्षित भनाउँदाहरूको बहस हुने गर्छ।

लामो संघर्ष र बलिदानीमार्फत ल्याइएको आरक्षणको व्यवस्थालाई अधिकांशले दलित वर्गलाई दाइजो दिएको सोच्दै आएका छन्। जातीय विभेद अन्त्य र विभेदरहित समाज निर्माणका लागि दलित समुदायले विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ। यी आन्दोलनहरूले जातीय छुवाछूतमा त परिवर्तन आएको छ भने विभेदका स्वरूपहरूमा समेत परिवर्तन आएको छ। जातीय विभेद विभिन्न प्रकार र प्रकृतिका छन्। विगतमा भोगेको जातीय विभेदभन्दा फरक तर खतरानाक छन्। यसलाई विभेद भएको आभाससमेत दलित समुदायले गर्न सक्दैन। यसलाई हिंसा पनि भन्ने स्वीकार्न सक्दैनन् र नकार्न पनि सक्दैनन्। -अन्नपुर्णबाट

तपाईंको प्रतिक्रिया/टिप्पणी