इन्टरनेट सर्च इन्जिनः गुगलको एकछत्र राज सकियो

गुगलको प्रयोगले हामीलाई इन्टरनेटमा चाहेको कुरा खोज्न सक्ने बनाएको छ। एकादेशमा गुगल अनलाइन जीवनको सुरुवात र अन्त्य थियो। यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो।

“लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,“ गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन्। गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट अरूभन्दा छिटो चाहेको नतिजा निकाल्न सकिने कारण यो अरूभन्दा ठूलो बन्यो। यसले मानिसले खोजेको वेबसाइट, ब्लग वा विकिपिडियाका पानासम्म छिटो र सही तरिकाले पुर्‍यायो।

ती दिनहरूमा कम्प्युटर प्रयोग गरेर कुनै कुरा खोज्नु भनेको सीधा र सहज काम थियो, इम्मोट भन्छन्। इन्टरनेटको आकारको कारण यसका सबै जानकारीहरूलाई सङ्ग्रहित गर्नु गार्‍हो काम थियो र अझै पनि छ। यसका लागि कुनै पनि वेब पानामा भएका शब्दहरूलाई विश्लेषण गरेर त्यो वेब पानामा कति जना मानिसहरू आए भन्ने कुराको रेकर्ड राख्नु पर्थ्यो। इम्मोटको भनाइमा अहिले इन्टरनेटमा खोज्ने प्रक्रिया धेरै जटिल भएको छ। यसको कारण अनलाइनमा हाम्रो जटिल हुँदै गइरहेको जीवन हो।

हाम्रो खोज आजकल वेब पानाहरू मात्रै होइन्, प्रेमीप्रेमिका खोज्नेदेखि ट्याक्सी खोज्ने वा जिन्दगीभर हेर्न सकिने भन्दा धेरै चलचित्र खोज्नेमा पुगिसकेको छ। “यदि तपाईँहरू एपहरू प्रयोग गर्नुहुन्छ भने दिनभर एउटा वा अर्को तरिकाले तपाईँ थुप्रै फरक फरक सर्च इन्जिन र सेवाहरू चलाउनु हुन्छ,“ इम्मोट भन्छन्। आजकल तीमध्ये धेरै खोजहरूमा गुगल प्रविधि प्रयोग हुँदैन। गुगलको उपाधि खोस्न इलास्टिक र सोलर जस्ता नयाँ प्रतिस्पर्धा तयार छन्। पुराना दिनमा खोज्नु भनेको शब्दहरू लेख्नु थियो। अब त्यस्तो छैन।

आजकल खोज्नु भनेको दाहिनेतिर औंला चलाउनु वा नक्सामा औंला चलाउनु वा एपमा बोल्नु भएको इलास्टिकका संस्थापक शे ब्यानोन भन्छन्। इलास्टिकले विकास गरेको खोज प्रविधि प्रेमीप्रेमिका खोज्ने टिन्डर, अनलाइन किनमेल गर्ने इबे, ट्याक्सी खोज्ने उबर, लिफ्ट र चलचित्र हेर्ने नेटफ्लिक्स जस्ता एपहरूले प्रयोग गर्छन्। ब्यानोनका अनुसार खोज बाकसको युग पछि सही उत्तर खोज्ने कार्यको विधि धेरै फरक छ। उदाहरणको लागि टिन्डरमा कसैको जानकारीलाई दाहिनेतिर सार्दा तपाईँका व्यवहारले स्थापित गरेका तथ्यहरूको आधारमा नयाँ खोज हुन्छ। यो गुगलले भनेजस्तो खोज होइन्। उबर र लिफ्टमा तपाईँको स्थानस्थितिका साथसाथै तपाईँले मन पराएका वा नपराएका चालकहरूको आधारमा ट्याक्सी वा वाहन खोजिन्छ। त्यस्तै नेटफ्लिक्स र इबेले तपाईँहरूको पुरानो चयनका आधारमा धेरै गणना गरेर तपाईँलाई उपयोगी लाग्ने सम्भावना भएका जानकारी देखाउँछ।

ब्यानोनले इलास्टिकको पहिलो संस्करण खाना पकाउने सेफ बन्न अध्ययनरत पत्नीलाई सहयोग गर्न बनाएका थिए। “मैले उनलाई खाना बनाउने विधिहरूको एप बनाउने निर्णय गरेँ र त्यसका लागि उनले थुपारेका ज्ञानहरूमा चाहिएको कुरा खोज्ने प्रणाली चाहिन्थ्यो,“ उनी भन्छन्। टिन्डरको सफलताको लागि छिटो र सही जानकारी खोज्ने सर्च इन्जिन आवश्यक छ
त्यसका लागि सबै विधिहरूको ज्ञान र अन्य उनले सिकेका कुराहरू थुपार्नु मात्रै यथेष्ट थिएन्। “मलाई यस्तो खोज चाहिन्थ्यो जहाँ उनले अनुभव र उनको ज्ञानको आधारमा चयन गरिएका नतिजा देखाउनु पर्थ्यो,“ उनी भन्छन्। यसको अर्थ फरक फरक जानकारीबीचको सम्बन्ध पहिल्याउनु र त्यसकै आधारमा तिनलाई एकिकृत गर्नुपर्ने आवश्यकता थियो। टिन्डरले दिनमा ३० करोड खोजहरू इलास्टिकको मद्दतले गर्छ।

नेटफ्लिक्स र टिन्डरजस्ता संस्थाका लागि आफू व्यवस्थित हुन कुन खोज्ने तरिका राख्ने भन्ने कुरा सहज थियो। “उनीहरूले खालि पन्नाबाट शुरू गरे,“ अलकामी नामक डेटा संस्थाका संस्थापक हेडेन जोन्स भन्छन्। यसको अर्थ उनीहरूले कुन खोज प्रविधि प्रयोग गर्ने भन्ने छनौट गर्न छुट पाए। यो छुट स्थापिन संस्थाहरूले पाउँदैनन्। आधुनिक खोज प्रविधि शब्दहरूको ठूलो झोला होइन्, बरु धेरै तथ्याङ्कहरू गणनाबाट निस्कने उपयोगी जानकारी हो।

श्रोतः बिबिसी नेपालीको अनलाइन संस्करणबाट साभार गरिएको 

तपाईंको प्रतिक्रिया/टिप्पणी