१ नम्बर प्रदेशले बाढीपीडितको निःशुल्क उपचार गर्ने

काठमाण्डौ । १ नम्बर प्रदेशले बाढी तथा डुबान पीडितको निःशुल्क उपचार गर्ने भएको छ। प्रदेशले सरकारी स्वास्थ्यसंस्थामा निःशुल्क उपचार र निजीमा उपचार गर्न चाहनेहरुलाई रु ५० हजार सम्म उपचार खर्च दिइने व्यवस्था गरेको हो।

विराटनगर ८ स्थित सिंघिया खोला किनारका बाढी पीडितलाई मंगलबार बिहान त्रिपाल वितरण गर्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले बाढी तथा डुबान पीडित बसेका ठाउँमा रोग फैलन नदिन प्रदेश सरकारले एकसय जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको बताए ।

हैजा लगायत बिभिन्न सरुवा रोग फैलन सक्ने देखेर चाहिएको बेला परिचालन गर्ने गरी चिकित्सकसहित सय जना स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रदेश १ सरकारले बाढीका कारण मृत्यु भएका परिवारलाई जनही रु २ लाख राहत रकम दिने यस अघि नै घोषणा गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी