मध्यपहाडी राजमार्ग सञ्चालन गर्न सरकारलाई दवाव, लोकसेवाका परीक्षार्थी प्रभावित

Prabhu Bank

काठमाडौं । शुक्रबारदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग सञ्चालन गर्न माथिल्लो सगरमाथा क्षेत्रका तीन सांसदले दवाव दिएका छन् । ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवार, खोटाङका विशाल भट्टराई र सोलुखुम्बुका हेमकुमार राई मन्त्रालय पुगेर भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सडक सञ्चालन गर्न माग गरेका हुन्।

Saftey Pads

खुर्कोटदेखि ओखलढुङ्गा हुँदै सोलुखुम्बु र खोटाङ जोड्ने सडक अवरुद्ध हुँदा माथिल्लो सगरमाथा क्षेत्रका स्थानीय मर्कामा परेका छन्।

बाढी र पहिरोले गर्दा मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी–ओखलढुंगा–सल्लेरी र खोटाङ खण्डका ठाउँ ठाउँमा सडक भत्किएको छ । अक्कड भीर, नवलपुर, खाङसाङ, नागथान, भँडारे, घुर्मी गैरा, सोकु लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको सांसद सुनुवारले बताए ।

आफैं तीन दिन पहिरोमा थुनिएर कष्टकर ढंगले काठमाडौं आएको भन्दै सांसद सुनुवारले पहिरोमा परेका बेला खिचेको भिडियोसमेत मोबाइलबाट देखाएका थिए ।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु

जवाफमा मन्त्री महासेठले तीन दिनभित्रमा तीनै जिल्लामा सडक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका सचिव र सडक आयोजना प्रमुख समेतलाई राखेर महासेठले भएभरको शक्ति लगाएर भए पनि मध्यपहाडी राजमार्गको खुर्कोट पूर्वको भाग तीन दिनभित्र खोलिने बताए ।

अहिले सडक सफा गर्न ९ वटा एक्साभेटर सञ्चालनमा रहेको र तीन दिनभित्र सडक सुचारु गर्नका लागि आवश्यक सबै शक्ति परिचालन गरिने मन्त्री महासेठले बताए ।

सांसदहरुले सोखु खोला, बादुरा खोला र खाङसाङमा पुल निर्माण गर्ने ठेक्का पाएको पप्पु कन्सट्रक्सन र सगरमाथा जेभीमाथि कारवाहीको माग समेत गरे । जवाफमा मन्त्रीले पप्पु लगायतका कम्पनीलाई कालोसूचीमा राखिएको र अरुमाथि पनि कारबाही हुने बताए ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेनाध्यक्षलाई कात्तिक २० मा मानार्थ महारथीको दर्जा दिइने

लोकसेवा आयोगका परीक्षार्थी प्रभावित

राजमार्ग अवरुद्ध हुँदा लोकसेवाका परीक्षार्थी प्रभावित भएका छन्। लोकसेवा आयोगको परीक्षा केन्द्र प्रदेश १ को खोटाङमा रहेकोले सडक सञ्चालन नहुँदा परीक्षार्थी समस्यामा परेका हुन्।

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापनको परीक्षा साउन ४ गतेलाई तोकिएको छ। सडक सञ्चालन नहुँदा लोकसेवाको जाँच दिने विद्यार्थी परीक्षाबाट बञ्चित हुने खतरा छ।

लोकसेवालाई सडकको अवस्था देखाउँदै परीक्षा सार्न आग्रह गर्दा नमानेको सांसद विशाल भट्टराईले बताए।

Maruti Cement