विष्णुमतीमा फोहोर फाल्ने त्यो  बा. ८८ प ८६९ (हेर्नुस भिडियो)

काठमाण्डौं। गत जेठ ३२ मा कालो टिसर्ट लगाएका बा. ८८ प ८६९ को कालो पल्सर २२० सि.सी. मोटर साइकल चालकले लेग गार्डमा झुण्डयाएर ल्याएको सेतो प्लाष्टिकका ३ वटा झोला मोटरसाइकल रोकेर विष्णुमती नदीमा झ्वाम्म फाले अनि यता उता हेर्दै आफ्नो बाटो लागे।

उनले फोहर फालेको त्यो भिडियो ट्विटर प्रयोगकर्ता प्रमोद न्यौपानेले आफ्नो ट्विटर मार्फत सार्वजनिक गरे। हेर्नेहरुले हेलो सरकारलाई मेन्सन गरेपछि हेलो सरकारले गुनासो दर्ता गर्नु भएकोमा धन्यवाद, तपाईँको गुनासो दर्ता नं ०६-२०१९ SMJGDC भनेर जवाफ फर्कायो।

धेरै व्यक्तिले तत्काल कारवाहीका लागि माग गरिरहे पनि त्यो फोहोर फाल्नेलाई के कारवाही भयो भन्ने कुरा कहिँ कतै सुनिएको छैन।

विगत झण्डै ३२५ हप्ता देखि हरेक शनिबार बागमतीको सफाइका लागि जुटेका बागमती सफाईका अभियन्ता राम साहलाई यो घटनाले नराम्ररी चित्त दुखाएको छ। शिक्षित र सम्पन्न नागरिकबाटै भएका यस्तो हर्कतले हाम्रो सभ्यताको स्तर निर्धारण गरेको उनको ठहर छ। बाग्मती प्रतिको अटुट सद्भावले आफ्नी छोरीको  नाम नै बागमती राखेका बागमती सफाईका अभियन्ता राम साहलाई बाग्मती सहितका सबै नदीहरु स्वच्छ बनाउने सपना कहिले पूरा होला भन्दै सधै चिन्तित गराईरहन्छ।

अभियन्ता राम शाह यसरी फोहर फाल्ने संस्कारले नदी सम्पदा प्रदुषित मात्र नभई शिक्षित देखिने वर्गको वातावरण तथा नदी सफाइप्रतिको बेवास्ता झल्किएको बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हेलो सरकार मार्फत गुनासो दर्ता गराएको एक महिना भन्दा बढि समयसम्म पनि बेवास्ता हुनुले प्रशासन तथा सरकारकै नदी संरक्षणप्रतिको जिम्मेवारी उदासीन भएको र यो लज्जाको विषय भएको अभियन्ता साहले बताए।

सफा वातावरण नागरिकको मौलिक अधिकार भन्दै संविधानको धारा ३० मा उल्लेख भएको बेला यस्ता कुकर्म गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्नेमा त्यसबारे कहिँ कतै केहि नसुन्दा दुःखी भएका अभियन्ता साहले सामाजिक संजालमार्फत नै दोषीको पहिचान गरी सामाजिक बहिष्कार गर्न अनुरोध गरेका छन्।
हेर्नुस् भिडियो:

तपाईंको प्रतिक्रिया/टिप्पणी