काठमाण्डौ । खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पु¥याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पु¥याएको भन्दै प्रहरीले नेपाल आदिबासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।
दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए । परीक्षा केन्द्रमा प्रवेश गरेर विथोल्न खोजेकाले पक्राउ गरिएको प्रजिअ उपाध्ययको भनाई छ । हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएकाले नियन्त्रणमा लिईएको जनाईएको छ ।
संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाती संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ । वन्दका कारण वजार तथा यातायात सेवा प्रभावित भएको छ ।