मन्त्री रावललाई साझाको ‘कोट’ उपहार

काठमाडौं । विपन्न वर्ग तथा दलितहरूको क्षमता विकासको लागि तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका माथिल्लो ओहोदाका कर्मचारीदेखि पियनसम्मले कोट सिलाएको विरोधमा साझा पार्टी कर्णाली प्रदेशले सामाजिक विकासमन्त्री दल रावललाई कोट उपहार दिएको छ ।

दलित तथा विपन्न समुदायका लागि घरेलु तथा साना उद्योग विकास समितिमार्फत क्षमता विकास तालिमको लागि छुट्याइएको बजेटबाट प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायसहित ११ जनाले कोट सिलाएका थिए ।

‘कर्णाली प्रदेशका गरिब जनताको करबाट उठेको रकम यसरी अनियमितता हुनु र सम्बन्धित मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारहरू समेत मूकदर्शक बन्नुले संस्थागत भ्रष्टाचारलाई चरम उत्कर्षमा पुर्याउन प्रोत्साहित गर्ने हाम्रो निष्कर्ष छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

विपन्न र दलितलाई सीप सिकाउनुको सट्टा प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीका स्वकीयले कोट सिलाएको घटना समग्र कर्णालीका लागि दुर्भाग्यको विषय भएको साझा पार्टी कर्णाली प्रदेशको ठहर छ ।

केही समयअघि साझा पार्टीले विकासलाई दिने अनुदानको रकम काटेर ५२ वटा गाडी किनेको विरोधमा खेलौना कार उपहार दिएको थियो ।

ज्ञापनपत्रमा प्रदेश राजधानीमा रहेको खानेपानी अभाव पूर्ति गर्न, युवाहरूलाई स्वरोजगार बनाउन, डिजिटल कर्णालीको अवधारणालाई मूर्तरूप दिन, प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाउन लगायतका अन्य मागहरु गरिएको छ ।

ध्यानाकर्षण पत्र:

तपाईंको प्रतिक्रिया/टिप्पणी