खोटाङमा नगर प्रमुखविरुद्ध सडकमा उत्रिएका दुई वडाध्यक्षसहित ६ पक्राउ

काठमाण्डौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध धर्नामा उत्रिएका दुई वडाध्यक्षसहित छ जना पक्राउ परेका छन्। गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ। चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए ।
चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए।

सडकमा अवरोध पुर्याएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४–७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन्।

जनप्रतिनिधिसहित छ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अहिले हलेसी नगरसमितिको बैठक बसिरहेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नगरसमिति अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।