काठमाडौं । साफ उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएको छ। युवा तथा खेलकुद मन्त्रालयले पाँचौं महिला साफ च्याम्पीयनसिप सकिएको पाँच महिनापछि महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँसहित सम्मान गरेको होे।
खेलकुद मन्त्रालयको सम्मानसँगै महिला टोली ३ पटक सम्मानित भएको छ। मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको महिला टोलीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो। सोमबारमात्र विराटनगर महानगरपालिकाले खेलाडीलाई सम्मान गरेको थियो।
विराटनगरस्थित सहिद रंगशालामा गत चैतमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा सुनारले खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।
उपविजेता लगत्तै राष्ट्रिय खेलकुद परिषदले मन्त्रालयलाई १ लाखसहित सम्मान गर्न सिफारिस गरेपनि मन्त्रालयले ३२ हजार रुपैयाँमात्र दिएको छ। घरेलु मैदानमा कीर्तिमान बनाउने लक्ष्य रहेपनि फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
उपविजेता टोलीलाई विराटनगर महानगरपालिकाले ५० हजार र प्रदेश १ सरकारले १ लाख रुपैयाँबाट सम्मान गर्ने घोषणा गरेको थियो । घोषणा गरेको पाँच महिनापछि खेलाडीले रकम पाएका हुन् ।