लिबियामा पानी जहाज डुब्योः १५० जना बेपत्ता

काठमाण्डौ । लिबियाको समुन्द्री तट नजिक शरणार्थी चढेको एक पानी जहाज डुब्दा त्यसमा रहेका करिब १५० मानिस बेपत्ता भएका छन्। उनीहरु सबैको मृत्यु भएको हुन सक्ने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)ले जनाएको छ।

जहाजमा रहेका अन्य १५० जनाको भने स्थानीय मछुवारले उद्धार गरेका छन्। युएनएचसीआरका प्रवक्ताका अनुसार लिबिया कोस्टगार्डले ती व्यक्तिहरुलाई किनारामा ल्याएका थिए। उक्त जहाज लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किमी टाढा एक शहरबाट निस्केको थियो।

यद्यपि अझैपनि ती शरणार्थी एउटा डुंगामा सवार थिए वा दुइ वटामा भन्ने खुलेको छैन। संयुक्त राष्ट्र संघले जो व्यक्तिलाई भूमध्यसागरबाट बचाइएको छ उनीहरुलाई लिबिया नपठाउन आग्रह गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  म्यान्मार सैनिक कू: सुरक्षा फौजद्वारा गोली प्रहार, ३८ जनाको मृत्यु

यसको कारण त्यहाँ जारी संघर्ष र शरणार्थीमाथि हुने अमानवीय व्यवहार बताइँदै आएको छ। गएको मे महिनामा ट्युनिसियाको तट नजिक डुंगा डुब्दा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो।

१६ जनालाई ट्युनिसियाको तटमा नौसेनाले ल्याएको थियो । हजारौं शरणार्थी हरेक वर्ष भूमध्यसागर पार गर्ने कोशिश गर्दै आएका छन् । त्यसमा धेरैजसो शरणार्थी लिबियाका हुने गरेका छन् । (बीबीसी)