कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

Prabhu Bank

ओखलढुंगा । ओखलढुंगामा कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको हो।

Saftey Pads

मुख्य अभियुक्त भनिएका कर्ण तामाङ बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्। उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ । पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ परेका थिए। उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।

कीर्ते कागजात बनाउने तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए। निर्वाचनमा पराजित भए पनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारिससहितका कागजात कीर्ते हस्ताक्षर गरेर दिने गरेको खुलेको छ।

सुनकोशी गाउँपालिका वडा नं ९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैद्यरुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेको पाइएको वडाध्यक्ष झनककुमार कार्कीले बताए ।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता

छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको कार्कीले बताए । कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेपछि घटना बाहिर आएको उनको भनाइ छ ।

तामाङले सिफारीश, नाताप्रमाणित, सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनी हुँदै नभएको फर्जी निर्णयको सिफारीश दिने कामसमेत गरेको पाइएको छ।  सबै कागजातमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य रहेका छन् ।

कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोवार भइरहेको सूचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए। वडा सदस्य धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाममा कीर्ते गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानविनका लागि आग्रह गरेका थिए ।

कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लगत्तै पञ्चबहादुर तामाङले जग्गा कारोवार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गासमेत कारोवार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार थिए । पक्राउ परेका अन्य व्यक्तिलेसमेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर कारोवार गरेको पाइएको छ ।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने जिल्ला मालपोत कार्यालय र लेखापढी व्यवसायीकोसमेत संलग्नता रहेकाले छानविन गर्न स्थानीयले माग गरेका छन्। मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुरले वडा नं ९ कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धान गर्दा जग्गा पास भइसकेको र अरुको मिलेमतो रहेको रहस्य खुलेको हो । तीन जना पक्राउ परेपछि गिरोहकैरुपमा लामो समयदेखि कीर्ते कागजात तयार गरेर काम हुने गरेको घटना सार्वजनिक हुन थालेका छन् ।

Maruti Cement