बुटवल । पाँच नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन्।
समितिको शुक्रबार बसेको बैठकले प्रदेशमा बनेको लोकसेवा आयोग गठनसम्बन्धी ऐन कार्यान्वयन गर्दै भट्टराईलाई अध्यक्षमा सिफारिस गरेको हो।
आयोगकको पदाधिकारी सिफारिसमा मुख्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति रहने कानुनी व्यवस्था रहेको छ। समितिमा प्रदेशसभाका सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन्।
सन्धिखर्क नगरपालिका १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन्। समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने व्यवस्था छ।
लोकसेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तिको बाटो खुलेको छ। प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली छ। केही महिनाभित्रै लोकसेवाले विज्ञापन खुलाउने जनाएको छ।