भो, जन्माउन्न एक अर्की लाचार छोरी

– ममता पन्त मिश्र
Prabhu Bank

उनी रुन्छिन्, कराउछिन् अनि चिच्याउछिन्
ती आवाजहरु उनका, उनी भित्रका आवाज ती
कसैले नसुन्ने आवाज
ती कसैलाई नसुनाईएका आवाज
ती भित्रै बनेर भित्रै मरेका आवाजसंगै
उनी हर दिन बाँच्छिन्, हर दिन मर्छिन्।

Saftey Pads

दियो जाग्छ आशाको
केहि बेरको लागि
उमङ्ग उठ्छ खुशीको
केहि क्षणको लागि
अनि उनी भित्रै बलेर,
भित्रै निभ्छ,आशाको दियो
सेलाएर बिलाउँछ भित्रै,
त्यो खुशी उमंगको
पीडा जाग्छ फेरि,
विवशतामा अल्झिन्छन् तरंगहरु
भाग्न खोज्छिन् उनी दुनियाँबाट धेरै पर
जहाँ कोहि नहोस्, केहि नहोस्
केवल होस् त उनी र उनका निश्वास मात्र।

जब कुण्ठा हराउँछ,
फेरि जाग्छन् आशाहरु
केहि परिवर्तनको आशा, न्याँयको आशा
केहि पाउने आशा, सद्भावको आशा
अनि मायाको आशा, करुणाको आशा।

तर फेरि मौसम उहि हुन्छ
त्यहि तुफान
त्यहि रात
त्यहि कोलाहल
अनि ती उनकै मात्र आवाज
बिवसताको आवाज
अन्याँयले पोलेको आवाज
शोषणले जकडिएको पीडाको आवाज
केहि गर्न नसकेको लाचारीको आवाज।

अनि बिस्तारै आफ्नै कमजोरीमा
भित्रै मर्दै गएको आफ्नै आत्माको आवाजसंगै
सुश्केराका लामा निश्वासहरु लिएर
दाउराका भारी बिसाउदै
उनी आफ्नो भारी पेट सुम्सुम्याउँदै भन्छिन्
छोरी लक्ष्मी हो
छोरी सरस्वती हो
छोरी देवी हो
तर यहाँ अपमानित छिन् देवी
शक्तिहीन छिन् देवी
देवी मूक छिन्
देवी लाचार छिन्
मौनतामा चिच्याउँछन् उनका आवाजहरु
भो जन्माउन्न एक अर्की लाचार छोरी।

(प्रकाशोन्मुख गीत र कविताहरुको संग्रह ‘हृदयका पानाहरु’ बाट)

Maruti Cement