नागरिकलाई सीप मूलक तालिम दिँदै साझा पार्टी 

सुर्खेत । साझा पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सीप मूलक तालिम सम्पन्न गरेको छ। पार्टीको कर्णाली प्रदेश र प्रदेश नं. ३ ले संयुक्त रुपमा आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो।

सीप मूलक तालिम अन्तर्गत भाषण कला र घरेलु विधिमा आधारित सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको हो। तालिममा कर्णाली प्रदेशका ३० जनाको सहभागिता रहेको थियो।

शनिवार देखि शुरु भई आइतबार सम्पन्न भएको दुईदिने सीप मूलक तालिमका सहभागीहरूले अब आ आफ्नो जिल्ला तथा पालिकाहरूमा तालिम सञ्चालन गर्ने पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले बताए।

किशोरी तथा महिलाहरूलाई महिनावारीको समयमा हुने सङ्क्रमणबाट बचाउनका लागी प्याडको प्रयोग र महत्व आवश्यक भएकोले तालिम सञ्चालन गरिएको तालिमकी मुख्य प्रशिक्षक पार्टीको प्रदेश नं. ३ महिला सङ्गठन प्रमुख अनुपा श्रेष्ठले बताइन्।

अन्य सम्बन्धित समाचार:  ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश

आर्थिक अवस्था कमजोरका कारण बजारमा उपलब्ध प्याड प्रयोग गर्न नसक्नेहरूका लागि घरमै सेनेटरी प्याड निर्माण र पुन. प्रयोग सम्बन्धी तालिम सञ्चालन गरिएको श्रेष्ठको भनाई छ।

तालिमले महिला स्वास्थ्यमा देखिएको विकराल समस्याको समाधान, आर्थिक बचत लगायतमा सहयोग पुग्ने प्रदेश संयोजक दाहालले बताए। उनका अनुसार पार्टीले अख्तियार गरेको उद्यमशीलताको नीति अनुरूप सबै तहमा यस्ता सीप मूलक तालिम निरन्तर सञ्चालन गरिने छ।

तालिममा मुख्य प्रशिक्षक श्रेष्ठ सहित सन्जु राना र कर्णाली प्रदेश संयोजक दाहालले प्रशिक्षण दिएका थिए। यसअघि सुदूरपश्चिम प्रदेशको धनगढीमा महिला नेतृत्व विकास र सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो।