काठमाडौं । १२ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्तिलाई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गर्ने राजेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
सीआईबी प्रमुख डिआईजी निरज बहादुर शाहीले काभ्रेपलाञ्चोकका राजेशलाई यही साउन १० गते काठमाडौंबाट पक्राउ गरिएको बताए। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राजेश र सुनिताबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो।
राजेशले विवाहको प्रस्ताव राख्दा सुनिताले अस्वीकार गरेका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआईजी शाहीले बताए।
हत्या लगत्तै हेटौंडामा लुक्दै बसेका राजेश सात महिनापछि भने काठमाडौं आई घरमा रंगरोगनको काम गर्न थालेका थिए।