चितवन । मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना चितवनमा पक्राउ परेका छन्। लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेकालाई छुटाउने भनी आठ लाख रुपैयाँ ठगी गरेको आरोपमा भरतपुर महानगरपालिका–१० का २३ वर्षीय सागर क्षेत्री र ३४ वर्षीय दीपेन्द्र पण्डित पक्राउ परेका हुन्।
उनीहरूलाई भरतपुर–३ लायन्सचोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूले केही समयअघि लागूऔषधसहित पक्राउ परेका भरतपुर–४ का सन्तोष सिकारीलगायतका व्यक्तिहरूलाई छुटाइदिने भन्दै सिकारीका श्रीमतीसँग पाँच लाख ५० हजार रुपैयाँ र १० तोला सुन गरी आठ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।
सन्तोष गत असार २६ मा रत्ननगर नगरपालिका–१ बकुलहर चोकबाट खैरो हिरोईन १० ग्राम ३६० मिलिग्रामसहित पक्राउ परेका थिए।
दीपेन्द्र र सागरलाई ठगी कसुरमा चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।