कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गर्न क्रान्तिकारीको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कक्षा ११ र १२ को भर्ना तथा मासिक शुल्क तत्काल निर्धारण गर्न माग गरेको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै निजी शैक्षिक संस्थाहरुले कक्षा ११ र १२ मा मनपरी ढंगले शुल्क असुल्ने गरेको भन्दै अखिल क्रान्तिकारीले शुल्क निर्धारण गर्न सरकारसँग माग गरेको हो।

संगठनले विद्यार्थीहरुलाई दिइँदै आएको छात्रवृत्ति पारदर्शी बनाउन पनि माग गरेको छ। हाल हरेक प्लस टुले १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ। अखिल क्रान्तिकारीले यसलाई बढाएर २५ प्रतिशत बनाउनसमेत माग गरेको छ।

संगठनले विद्यालयका नामका पछाडि राखिएको ‘इन्टरनेसनल’ शब्द हटाउनसमेत माग गरेको छ। विज्ञप्तिमा अनावश्यक प्रतिस्पर्धात्मक रुपमा राखिएका विज्ञापनका होर्डिङ् बोर्डहरु हटाउनसमेत माग गरिएको छ।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर

त्यस्तै अखिल क्रान्तिकारीले सीटीईभीटी, इन्जिनियरिङ र मेडिकल शिक्षामा निजी कलेजहरुले अत्यन्त मनोमानी ढंगले चर्को शुल्क असुल गरिरहेको भन्दै वैज्ञानिक तवरबाट शुल्क निर्धारण गर्नसमेत माग गरेको छ।