चिकित्सकको लापरबाहीले नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा सुत्केरी महिलाको मृत्यु भएको छ। प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्कीको मृत्यु भएको हो।

नोबेल मेडिकल कलेजमा भर्ना भई सामान्यरुपमै सुत्केरी भएकी कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन्। उनको सुत्केरी सामान्यरुपमै भएको थियो । तर, अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर फाल्ने भन्दै अप्रेशन थिएटर लगेका थिए।

पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तहरुले आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  सडक विस्तारको विरोधमा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनीहरुको गुनासो छ।
वार्डमा ब्लड ब्लडिङ भए पनि चिकित्सकले चासो नदिएको उनको गुनासो छ। एक्कासी बेहोस भएपछि पाठेघर फाल्न भन्दै अप्रेशन थिएटरमा लगेपछि चिकित्सकले बुधबार बिहान ३ बजे मृत घोषणा गरेको उनले बताए। बेलैमा चिकित्सकले विरामीलाई हेरेको भए पार्वतीको मृत्यु नहुने आफन्तहरुले बताएका छन्।

नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन्। उनका आफन्तले खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए। मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य भने सामान्य छ। उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन्।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ आगलागीः पीडितलाई राहत दिन सुरु

यता अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको बताएको छ। अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले धेरै रगत बगेका कारण महिलाको मृत्यु भएको हो।