काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले शपथ लिएका छन्।
राष्ट्रपति विद्या देवी भण्डारीबाट शीतल निवासमा आयोजित समारोहमा भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन्।
गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा भट्टराईलाई नियुक्त गर्नुभएको हो।
२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन्।
राजनीतिक यात्रा
वाममन्थी पारिवारिक पृष्ठभूमि र झापा विद्रोहको प्रभावले राजनीतिमा प्रवेश गरेका भट्टराईको राजनीति एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो।
२०३७ सालमा अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटी रहेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भए।
त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुगे। उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख भएर पनि जिम्मेवारी सम्हालेका थिए।
तत्कालीन एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा भने भट्टराई केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन्।