नेताहरू मात्रै किन बाँच्ने?

एक जना राजा थिए, उनी असाध्यै निरङ्कुश थिए। उनी बाँचुन्जेल नागरिकलाई सँधै दमन गरिरहे। उनको राजमा नागरिकलाई शिर ठाडो गरेर बोल्ने अधिकार थिएन। राजाको विरुद्घ बोल्नेलाई कठोर मृत्युदण्डको सजाय हुन्थ्यो। राजा बूढो हुँदै गए, मर्ने बेला आफ्नो उत्तराधिकारी छोराको हात समाउँदै आग्रह गरे, “छोरा, मैले बाँचुन्जेल जनतालाई कहिल्यै राम्रो गरिन, सँधै दमन मात्र गरेँ, जनताले सम्झने मैले कुनै काम गरिन, त्यसैले मलाई जनताले कहिल्यै राम्रो भन्ने छैनन्, मलाई ठूलो पछुतो हुने भयो।” राजाको आँखाभरि आँशु टिलपिलाई रहेका थिए। युवराजले आफ्ना बाबुको आँखाभरि आँशु देखेपछि भावुक भए।

यहि मौकामा राजाले युवराजलाई भने, “बाबु म मर्ने बेला भयो, तिमीले म सँग एउटा वाचा गर्न सक्छौ?” मृत्युशैयामा पुग्नै आँटेका बाबुको कुरा टार्ने कुरै भएन, युवराजले वचन दिदैँ भने, “ महाराज ! म वाचा गर्छु, हजुरले भनेका सबै कुरा मान्नेछु।” राजाले राज कुमारको हातमा हात राखेर भने, “ बाबु, मैले जनतालाई जति दमन गरेको छु तिमीले त्यो भन्दा दोब्बर दमन गर्नू, जनताले मलाई बल्ल सम्झनेछन्। बाबुको मृत्युपछि छोरा अर्थात राज कुमारले बाबुले भन्दा दोब्बर दमन गरे, हिंसा, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघ्यो। जनताले भन्न थाले, “ यो निरङ्कुश राजा भन्दा त बूढो राजाकै पालामा ठिक थियो।”

माथिको लोक कथालाई आजको नेपाली लोकतन्त्रको आवरणमा जोडेर हेरौँ।

सेतो हात्तीको संज्ञा दिदैँ राजतन्त्रलाई निरुंकुश भयो भनेर फालेको १२ बर्ष बित्यो। बाह्र बर्षमा खोला पनि फर्किन्छ भन्थे तर लोकतन्त्रका नव युवराजहरुको बुद्घि अहिलेसम्म फर्किएको छैन। मतादेशकै आडमा त्यागको ब्याज खाँदै लोकतन्त्रका नवराजाहरुले आज राजाको शासन बिर्साउने प्रयत्न गरिरहेका छन्, आज बरु राजा ठिक थिए भन्नेहरुको आवाज ठूलो बन्दै गइरहेको छ। किनकि राजाहरू यसरी महिनैपिच्छे विदेश उपचार गर्न गएको सुनिएको थिएन।

अब नागरिकको दुःखका कथा सुनौँः

केहि दिन अगाडि पाल्पाको रैनादेवी ठहरा गाउँपालिका-१ की ३६ बर्षीय नर्मदा ज्ञवालीलाई झाड़ापखालाले कैयौं दिन सिकिस्त पारेपछि बल्ल बल्ल अस्पतालको मुख देखिन्, दश दिन अस्पत्ताल राख्दा पनि बीसको उन्नाईस नभएपछि परिवारले आश मारे। बिरामीलाई घर लाने भनी डिस्चार्जको लागि अनुरोध गरे। अस्पताल लग्नुपर्ने बिरामीलाई घर लग्ने भनिएपनि बिच बाटोमा पुगेपछि घर नभई घाटतिर लैजाने कुरोको टाँगो भयो। बचेखुचेको सम्पत्ति गुमाएर घर न घाट हुनुभन्दा बरु श्रीमती नै गुमाउन आफन्तले सल्लाह दिएपछि घाट नै लाने निर्णय भयो। संगै रहेका कुरुवामध्ये एकले गाउँमा फोन गरेर बिरामी मर्नै लागेको जानकारी दिँदै दाउरा बोकेर घाटमा आउन सबैलाई आग्रह गरेपछि मान्छेहरु घाटमा भेला भए। घाटमा नजिकै पुग्दा आफन्तहरुले नर्मदाको नाक मुखमा लगाएका अक्सिजन मास्क निकाले अनि आधा घण्टा कुरे। नर्मदा मूढो जस्तै अटल भईन्। अन्तिम संस्कारका निम्ति तयारी गरियो। अकस्मात नर्मदाले गोडा हल्लाईन् आँखा खोलिन्। दैवी शक्तिको करामत भन्दै मलामी बन्न आएकाहरुले उनलाई नजिकैको स्वास्थ्यचौकी लगे, त्यहाँबाट फेरि अस्पत्ताल लगे। अब भने नर्मदा हाललाई नमर्ने देखिएकी छिन्।

गरीबीले रेटेको ममताको गला, अभावले जिन्दगीमा अपराधले गरेको राज र नेपाली महिलाको सामाजिक अवस्थाको यो कहालीलाग्दो समाचार मतादेशले उन्मत्त शासकहरुको कानमा पुग्ने कुरै भएन। नागरिकहरुले एक पोका जीवनजल समयमै नपाउँदा एउटा झाड़ापखालाको उपचारसम्म नपाएर मिर्गौला नै बिग्रिनेदेखि मृत्यु नै हुनेसम्मको घटना घटेको छ भन्नेबारे सरकारी अधिकारीहरुले थाहा पाएनन्। ईश्वरीय शक्तिले मरेको बिरामी ब्युझियो भन्ने खबर भाईरल भयो। गरीबीकै कारण चलचित्रमा जस्तै अस्पतालबाट जीउँदो मान्छे झिकेर घाट लैजानुका पछाडि राज्यको मौजूदा संयन्त्र कति निकम्मा छ भन्ने समाचारले महत्व पाएन।

त्यसको केहि दिनमै जनयुद्धको जगमा शक्तिको शिखरमा पुगेका नेपाली सर्वहारा जनताका प्रतिनिधि कमरेड प्रचण्डको स-पत्नी युएई भ्रमणको समाचार बाहिरियो,दुबईको मानव निर्मित टापुमा अवस्थित संसारकै महंगो होटलमध्येको एक पाँचतारे होटल एटलान्टिसमा प्रचण्ड दम्पती बसेको खबर भाईरल भयो।

लगभग संगै झापा बिद्रोहबाट उदाई ब्यवस्था र अवस्था फेर्न जीवन सुम्पेका देशको सर्वोच्च कार्यकारी पदमा बिराजमान प्रधानमन्त्री ओली ‘आराम गर्न सिंगापुर’ भन्ने अर्को समाचार पनि भाईरल भयो।

त्यहि दिन एउटा समाचारले मुटु कटक्क खायो, ‘उपचार खर्च तिर्न नसक्दा मकवानपुरको बसामाडीकी २६ वर्षीया सोनु तामाङ एक महिने छोरीसँगै अस्पतालमा बन्धक।’

छिमेकी देश पाकिस्तानी प्रधानमन्त्री ईमरान खाँन ईकोनोमी क्लासको टिकटमा अमेरिका उडेको, महंगो होटलमा बास नबसी दूताबासमै बसेको देखि भूपू प्रधानमन्त्री समेत भ्रष्टाचारको आरोपमा पक्राऊ परेका समाचारहरुबाट हाम्रा नेताहरुले केहि सिकेनन, ओली – प्रचण्डले केहि सिकेनन, हेगमा पुर्याए हिरो बन्छु भन्ने जवाफ दिदैँ प्रचण्ड दुबईतिर शयर गर्न हिडे भने उखान टुक्का भनेर थाकेका प्रधानमन्त्री ओली ज्यानलाई आराम दिन सिंगापुरतिर हिडे।

देशमा उपचारको पैसा नभएर अस्पत्तालको छतबाट हाम फालेर आत्महत्या गर्ने, गरीबीले गर्दा छोराछोरी सहित आमाले आत्महत्या लगायतका दर्जनौ समाचार देशका शक्तिशाली प्रधानमन्त्रीले पक्कै सुनेका होलान् तर पटक पटक बिदेशी अस्पत्तालमा उपचार गर्न जानुलाई बिरोधका बावजूद पनि गौरवको बिषय मानिरहेका छन्।

छिमेकी देश पाकिस्तानी प्रधानमन्त्री ईमरान खाँन ईकोनोमी क्लासको टिकटमा अमेरिका उडेको, महंगो होटलमा बास नबसी दूताबासमै बसेको देखि भूपू प्रधानमन्त्री समेत भ्रष्टाचारको आरोपमा पक्राऊ परेका समाचारहरुबाट हाम्रा नेताहरुले केहि सिकेनन, ओली – प्रचण्डले केहि सिकेनन, हेगमा पुर्याए हिरो बन्छु भन्ने जवाफ दिदैँ प्रचण्ड दुबईतिर शयर गर्न हिडे भने उखान टुक्का भनेर थाकेका प्रधानमन्त्री ओली ज्यानलाई आराम दिन सिंगापुरतिर हिडे।

लोकतन्त्रका लागि लडेको लडाईको ब्याज आज राज्यको ढुकुटी बर्वाद पार्दै विदेश शयर गर्नुलाई सरकारका सल्लाहकारदेखि भक्तहरुले बडो ठूलो उपलब्धि भनेर जयजयकार गरिरहेकै छन्। प्रधानमन्त्रीलाई ६-६ महिनामा सिंगापुरमा हुने फलोअप नियमित भएकोले यसबारे कुरा नउठाउन ह्विपजस्तै जारी छ।

सिटामोल र जीवनजल समयमा नपाउने नागरिक भएको देशका नेताहरू शयर गर्न संसार डुलिरहँदा देशको स्वाभिमान उँचो भएको देख्नेहरुको दिमागमा लागेको बिर्को के चिजले खोल्ने होला?  देशमा अहिले एकसे एक डाक्टर छन्, सुबिधासम्पन्न अस्पताल पनि छन् अनि फेरि तीन करोड जनताले पत्याएका अस्पताल तीन जना नेताहरुलाई किन कमसल लाग्छन् होला? अनि आफ्नै देशमा एउटा आफैलाई उपचार गर्न मिल्ने अस्पत्ताल बनाउन यिनीहरुलाई कसले तगारो हाल्यो होला?

बालकृष्ण समको कविताको याद आयोः

ईच्छा यो छ महेश अन्तिम जसै त्यो मृत्यु शैया जली
मेरो रक्त सुकाउला म गरूला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परून् नेपालकै केवल
जे जे मा हिमशैलको छ मधुरो मिठो चिसो चुम्बन।

यो देशमा इमान भएको नेता जन्मेको भए, माथिको कविताको एकै हरफले उनीहरुको दायित्वबोध गर्थ्यो होला, मेरो देशमा भएका अस्पत्तालमै उपचार गर्छु नभए बरु म मर्छु भन्थ्यो होला। यसै पनि हाम्रा धेरै पहिलो पुस्ते नेताहरू जीवनको उत्तरार्धमा पुगेका छन्, अब जति बाँच्छु नेपालकै उपचारको बलमा बाँच्छु भनेपनि उनीहरु मर्दैनन्, किनकि यिनै अस्पत्तालको ढोका नदेखेकाहरु पनि जडिबुटी खाएरै पनि बाँचेका छन्। लाखौँ जनताको कन्तबिजोग भएको बेला जग नै हँसाउने गरी विदेश उपचार गर्नुलाई गौरव नै ठान्ने नेताहरू मात्रै बाँच्ने देशको समृद्दि कसरी आउला? यी हजारौँ प्रश्नहरु मेरो मात्र मनमा हैन, लाखौँको मनमा आईरहेका छन्। मलाई अझ अगाडि भन्न मन लाग्छ, “यो देशमा नेताहरू मात्रै किन बाँच्ने?”

तपाईंको प्रतिक्रिया/टिप्पणी