ऐलानीको विदेश यात्रा 

Prabhu Bank

घरको ऋण सम्झेर पेट अमिलो भएर आयो। आमाको रोगी शरीर सम्झेर मुटु निचोरिएर आयो।बिहान उठेदेखि साँझ निद्रासम्म एकछिन पनि आराम नगरेर परिवारको भरणपोषण गर्दै आएका असी बर्षीय बुबाको हालत सम्झेर आफ्नो जन्मलाई नै निरस सम्झ्यो।

Saftey Pads

पल्लो घरको हरिको जिन्दगीलाई आफ्नो जिन्दगीसंग दाँजेर हेर्न खोज्छ। आकाश पतालको फरक भेटाउँछ। उसलाई सुखी सम्पन्न देख्छ तर आफूलाई दुखको भूमरीमा फँसेको देख्छ । आफू पढ्न नलागेर खुरुखुरु विदेशतिर लागेको भए उ आफूपनि हरिजस्तै सुखी र सम्पन्न भईसक्थ्यो। उसकी बूढीको गलाभरी मोटो सुनको सिक्री उसको नजरमा आउँछ। अस्ति भर्खर मात्र हरि कतारबाट आउँदा उसका बा आमा नेपालगञ्जदेखि जहाज चढेर काठमाडौं गए। छोरासंगै काठमाडौं शहर घुमे। पशुपति लगायत सारा तीर्थस्थल घुमेर खुशीले गद्गद हुँदै घर फर्के।

आज भोलि गाउँमा मान्छेहरु भन्ने गर्छन्, “छोरो हुनु त हरिजस्तो जसले बाउआमाको ऋण तिर्ने प्रयास गर्याे।”
तर आजसम्म पनि गाउँमा आफ्नो नाम लिएर फलानोले एम.ए. पास गर्याे भनेर कतै कसैले कुरा गरेको थाहा पाएको छैन।

जागिरको लागि कति प्रयास गर्याे तर अहँ कतै केही सीप लागेन। बूढा भईसकेका बाउआमालाई जहाज चढाउनु छ,श्रीमतीको गलामा सुनको सिक्री हाल्नु छ । यसपालि पनि गहना भएन भने उ तीजमा माईत नजाने कुरा गर्छे। यी सब सम्झेर उ पागल बन्न खोज्छ, विदेश जान खोज्छ तर फेरि आशाको त्यान्द्रोमा अल्झेर कतै जागिर पाउने कल्पना गर्छ।

अन्य सम्बन्धित समाचार:  इन्क्लाब जिन्दाबाद!!

उसले जागिर पनि कसरी पाओस्, आजसम्म भोट हालेको पार्टीले उसलाई चिन्दै चिनेन , चिने पनि नेता भनाउँदालाई उसले दारु पैसामा किन्नै सकेन। सायद किन्न सक्थ्यो होला उसको आत्मा र आदर्शले यसो गर्न दिएन ।

एक स्कूलमा पढाउन उसले कति प्रयास गर्याे। स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्दै रु. २००० दरखास्त दस्तुर तिरेर निवेदन दियो। यदि स्वच्छ भयो भने त उसको ज्ञानले कसैलाई टिक्न दिने थिएन। यसपालि उसलाई व्यवस्थापन समितिको मान्छेले पनि तपाईं जस्तो मान्छे स्कूलमा चाहिन्छ भनेर राख्ने आश्वासन पनि दिलाएका थिए। तसर्थ अलि ढुक्क भएर लिखित परीक्षाको तयारी राम्रोसंग गर्याे।

परीक्षाको दिन आयो। परीक्षा दिन बाके जिल्लाको सदरमुकाम शिक्षा बिकास समन्वय इकाई कार्यालयमा जानुपर्ने भयो। उ नाम निकाले पछिको जिन्दगीको सपनामा डुबुल्की मार्दै थियो । स्कूलको युनिफर्ममा सजिएर पढाउन गएको, पहिलोचोटी चौमासिक तलब बुझेको, पढ्दाखेरिको सानोतिनो ऋण तिरेको, बाउ आमा र श्रीमतीलाई एकसरो नयाँ कपडा किनेको र दोस्रो बर्ष बाउआमालाई काठमाडौं घुमाउन लगेको, श्रीमतीलाई सुनको सिक्री किनेको कल्पना गर्दै परीक्षा केन्द्र जान्छ ।

अन्य सम्बन्धित समाचार:  इन्क्लाब जिन्दाबाद!!

आठ जना प्रतिस्पर्धी बिच परीक्षा दिन्छ । परीक्षा राम्रो हुन्छ। ठूलो आशाका साथ नतिजाको प्रतीक्षा गर्छ।
तर आशाको निराश हुन्छ। केही दिनदेखि समयले उसको भाग्य खोसिरहेको हुन्छ । परीक्षा संचालन गर्ने विज्ञहरुको आँखालाई कुनै उम्मेदवारले पैसाको विटोले अनभिज्ञ हुनेगरी छोपिदिई सकेको हुन्छ। जीवनभरि घोकेको नैतिकतालाई दारुको पानीले कुहाईसकेको हुन्छ। परिणाम उल्टो आयो।

“आजभोलि सबैतिर यस्तै हुन्छ, बा हामी जस्ता केहि नहुने र कोहि नहुने ऐलानीहरुको जीन्दगी यस्तै हो ।“ उसका बा सम्झाउदै थिए।

यो घटनाको करिब दुई महिना पछि उन्नत जातको बाख्रा पालन गर्ने सोचका साथ सस्तो ब्याजदरमा रा.बा.बैंकले ऋण दिन्छ भन्ने सुनेर पशुपालन कर्जाको बारे बुझ्न खोज्छ। बैंकको म्यानेजरले जग्गाको लालपूर्जा चाहिन्छ भने पछि उ कालो मुहार लाएर फरक्क फर्किन्छ ।

उसका हजुरबा पनि जग्गा धनी लालपूर्जा नदेखेरै मरे। अब उसका बा पनि मर्ने नै भए । अब उ पनि लालपूर्जाकै कारण बाध्यताबस बिदेशिने मनसायका साथ गह्रौ पाईलाहरु घरतिर सार्दैछ।

Maruti Cement