धनीहरुको सुकुम्बासी बस्ती

काठमाडौं। हातका औंलाहरू छिट्टै सकिन्छन्, राजधानी काठमाडौंका खराबीलाई हातका औंलाहरू भाँचेर गन्ने हो भने।

फोहोर, साँघुरा र भत्किएका सडक, धुलो, हिलो,पानीको हाहाकार,अव्यवस्थित घरहरू, यत्रतत्र लत्रिएका विद्युतका तारहरू, सडकमा गाडीको जाम आदि इत्यादि। त्यसमाथि वर्षायाममा अति हिलो र हिउँदमा अति धुलो हुनु त राजधानी काठमाडौंको सदावहार विशेषता नै हो।

देशको राजधानी भनिएको काठमाडौं शहरमा विभिन्न ठाउँबाट आएका आन्तरिक तथा बाह्य पर्यटकहरू नाक थुन्दै फर्कन बाध्य हुन्छन्।

सडकमा सुत्नेदेखि लिएर सदनमा भुक्नेहरु(शब्दको लागि माफी चाहन्छु) यहाँ नै छन्। ढलको पानी पिउनेदेखि लिएर प्रति बोतल १५ हजार मूल्यको पानी पिएर जिउनेहरू यतै कतै छन्। व्यक्ति धनी छ, देश गरीब छ। विडम्बना यही छ।

‘काठमाडौं शहर हेर्दा लाग्छ रहर, गिद्धै गिद्धको संसार’ ऊ बेलामा हेरेको एउटा फिल्मको चर्चित डाइलग। अहिलेको राजधानी काठमाडौं शहर हेरेर यो डाइलग खुब मनासिब लाग्छ। कसले बनाएछन्, त्यतिबेलै यो डाइलगः आजभोलिको काठमाडौं शहर हेर्छु अनि डाइलग सम्झिन्छु, खुबै मेल खान्छ। अहिले लागेको छ।, त्यो फिल्मी डाइलग मात्रै कहाँ थियो र? यो त वास्तविक जीवनकै डाइलग रहेछ।

राजनीतिक फाँटमा खुबै चलेको एउटा स्लोगन ‘समृद्ध नेपाल, सुखी नेपाली’। राजधानीको अवस्था हेर्ने हो भने यो स्लोगन पहिले हजुरआमाले सुनाउने पुरानो कथाजस्तै लाग्छ।

राजधानीको अवस्थामा सुधार हुनुपर्नेमा झनै विकराल बन्दै गएको छ। यसले नेपालले लिएको ‘नेपाल भ्रमण वर्ष’लाई सबैभन्दा ठूलो झट्का लाग्न सक्छ। सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउने आँट गरेको छ, नेपालले। २० लाख पर्यटक भित्र्याउने सरकारको उद्देश्यसँग पटक्कै सुहाउँदै सुहाउँदैन काठमाडौंको अहिलेको अवस्था।

भ्रमण वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंको अवस्था भने झनै बिग्रँदो छ। बाटोहरू झनै भत्किने अवस्थामा छन्। विद्युतको तारहरू पोलको टुप्पोमा नभएर फेदमा लत्रिएका छन्। तर पनि देशका बागडोर सम्हालेका महाशयहरू भने मूकदर्शक जस्तै देखिन्छन्।

काठमाडौं जस्तोसुकै होस् राजधानी राम्रो हुनुपर्छ। राजधानीलाई देशकै विकसित अनि सबै कुराले सुविधासम्पन्न र देशवासीको सपनाको संसारको रुपमा चिनिन्छ। तर, नेपाल देशको राजधानी काठमाडौंलाई भने राजधानी भन्न पटक्कै सुहाएकै छैन।

नेपालमै उत्पादित श्रोतसाधन तथा जनशक्तिको सही सञ्चालन तथा उपभोग गरे मात्रै पनि काठमाडौं धनी मान्छे बस्ने सुकुम्बासी बस्तीबाट धनी मान्छे बस्ने धनाढ्य बस्ती नै बन्थ्यो।

नेता तथा सांसदहरुका भाषणले सार्थकता पाएको भए, नेपाल उहिल्यै समृद्ध बनिसक्थ्यो।

नेताहरु आरोप प्रत्यारोप र कुर्सी तानातानमै व्यस्त, अबुझ जनताहरु नेताको भाषणमै मख्ख। अलि पढेलेखेका युवाहरु विदेशको खाँडीमा अनि देशको वास्तविक बागडोर कसले सम्हाल्ने? सम्हालेका जस्तो नाटक गर्नेहरु यदाकदा धेरै नै छन्। तर, अक्सर साँच्चिकै सकारात्मक नेतृत्वको जिम्मा लिने कमी।

राजधानी काठमाडौंलाई अब गरीबको नर्क धनीको स्वर्ग मात्रै होइन। धनी गरीबकै स्वर्ग बनाउन आवश्यक छ।

…अनि बनौं न हामी पनि धनाढ्य बस्तीमै बाँचेका धनाढ्यहरु! किन बन्नु सुकुम्बासी बस्तीका धनी?

तपाईंको प्रतिक्रिया/टिप्पणी