गर्भे काङ्ग्रेस र कमरेडहरूको राजनैतिक जीन कहिलेसम्म ?

कतै सानो भेटघाट भयो कि परदेशमा भए पनि गफ चाहिँ जहिले पनि घरदेशकै हुन्छन्, राजनीतिकै हुन्छन्। त्यसै सिलसिलामा केहि दिन अघि मेरा एक जना हितैषी दाजुले बडो गर्वका साथ भने, “म त गर्भे काङ्ग्रेस !”

उनी म तिर अघि सर्दै थप्न थाले,

“अब पार्टी जोगाउने भनेकै हामी युवाले हो। जसले जे भने पनि अब देश बचाउन पुरानै पार्टी चाहिन्छ।”

लगभग ४० उमेरका उनको प्रवास वसाइ नै १५ वर्ष कटिसकेको होला। हातमा विदेशी नागरिकता बोकिसकेका उनको अबको लक्ष्य भनेको राजनीति मार्फत देशको सेवा गर्नु रहेको छ। उनको जस्तै लक्ष्य बोकेका  गर्भे कमरेडहरू पनि बग्रेल्ती भेटिन्छन् अचेल प्रवासमा।

डेनमार्कमा लगभग २ महिनाको अन्तरालमा नेपाली काङ्ग्रेसका  शीर्ष नेताहरू सम्मिलित २ वटा कार्यक्रमहरू भए ती दुबै कार्यक्रममा सहभागी एकजना कार्यकर्ताले वढी फूर्तिका साथ भनेका उल्लेखित शब्दहरूले एक किसिमको नमिठो आभाष गरायो।

देशमा अनुकूल वातावरण नभएको कारण देखाउदै प्रवासमा पसिना बेचेर सपना सजाईरहेका हामी लाखौं नेपालीहरूका एक प्रतिनिधि पात्रको कुरा सुनेर मन बेचैन भयो। मनमा अनेकन प्रश्नहरू उब्जिए, अचेल अन्धभक्त कार्यकर्ताको कुरा सुनेर मलाई उदेक लाग्छ।

तिनै प्रश्नहरूका सेरोफेरोमा आफ्ना बिचारहरू यहाँहरू समक्ष पेश गरेको छु।

के पुराना पार्टीहरू ह्विस्की हुन, पुराना हुदैमा राम्रो हुने ?
मदिरा पारखीहरूले ह्विस्की किन्दा कति पुरानो हो भनेर हेर्ने चलन रहेछ विशेष गरी स्कचमा । उमेर अनुसार रंग, गन्ध र स्वादमा फरक पर्ने हुनाले ह्विस्कीको उमेरको महत्व हुने रहेछ । पुरानो भएकोले आफू उत्तम भन्ने खालको मान्यता नेपालमा राजनीतिक दलहरूमा  सुन्न पाइन्छ घरिघरि। नेपाली काङ्ग्रेस र नेकपाका शीर्ष नेताहरूले अधिकांश समयमा, हामी यति वर्षदेखि देश र जनता लागि लडिरहेका छौँ भन्ने भाषण गरेको गर्यै छन्।

के साँच्चै पुरानो हुदैमा राम्रो हुन्छ त विचार वा पार्टी?  
बदलिदो समय बदलिदो आवश्यकतासँगै पार्टीका नीति सिद्दान्तहरु वदलिनु पर्ने होईन र? कुनै कालखन्डमा तत्कालीन समय सन्दर्भलाई आधार मानेर बनाईएका दस्तावेजहरु परिवर्तन हुन आवश्यक हुदैन? परिवर्तन भएका कुराहरु नेता कार्यकर्तामा पुग्नु पर्दैन?  अहिलेको को यो प्रविधिको युगमा समय सापेक्ष वन्नु पर्दैन? आधुनिक प्रिन्टर चलाउन दक्षता भएन भनेर लिथो पेपर वा टाईपराईटर नै ठिक हो भनेर तर्क पेश गर्नु कतिको न्याँयोचित हो? गति फरक फरक भएका सयौं सवारी साधन आएका छन, मलाई वान्ता हुन्छ भनेर के ठेला चढ्ने हो र  हामी ?

स्थापनाको मितिले कुनै पार्टी सही वा गलत छ भन्ने हुदैन। उसले ऊठाएका एजेन्डाहरु, नीतिका आधारमा पार्टीलाई समर्थन गर्ने नगर्ने कुरा बुझ्न ढिलो भईसकेको छ। ठेलागाडा चलाएको अनुभव र विद्दताले जहाज चलाऊनु भनेको दुर्घटना निम्त्याउनु हो। जहाज चलाउने क्षमता र दक्षता भएकाहरुले देशको समृद्धिको रथ हाँक्नु आजको आवश्यकता हो।

राम्रो काम शुरु गर्न कति चोटी सरकारमा जानु पर्छ ?
२०४६ सालको राजनीति परिवर्तन पश्चातको ३० वर्षको समय अवधिमा शक्ति र सत्ताको वरिपरि घुमेका भनेको अहिले सत्तामा हुने वा प्रतिपक्षमा हुने पार्टीहरू नै हुन्। यिनै नेपाली कांग्रेस, एमाले, मावोवादी वा राप्रपाले पटक पटक, आलो पालो गर्दै सत्तामा पटक पटक पुगिसकेका छन्। फलानो ४ चोटी प्रधानमन्त्री,फलानो ३ चोटी प्रधानमन्त्री,फलानो २ चोटी प्रधानमन्त्री बन्नेहरुमा पनि लामो लिस्ट बनिसकेको छ। अनि तिनै खेलाडीहरु अर्को चोटी प्रधानमन्त्रीत्वको संख्या वढाऊन सकृय छन्।के उनीहरुको ऊदेश्य नेपालमा सवैभन्दा धेरै पटक प्रधानमन्त्री बन्नेको लिस्टमा आफ्नो नाम गिनिज वुक रेकर्डमा दर्ता गराऊनु हो ?

राणाका विरुद्द लड्यौँ, पन्चायतका विरुद्द लड्यौँ, २३७ वर्ष लामो राजतन्त्रका बिरुद्द लड्यौँ भन्दैमा उनीहरुका अक्षम्य गल्तीलाई गर्भे काङ्ग्रेस या कम्युनिष्ट भनेर कहिलेसम्म बचाईराख्ने? ब्यवस्था परिवर्तन गर्न ऊहाँहरुको ठूलो योगदान छ त्यसमा दुईमत छैन, योगदानको कदर र सम्मान गर्नुपर्छ तर  पटक पटक सत्तामा वस्दा पनि  अवस्था परिवर्तन गर्न नसकेको दोषको उनीहरु भागिदार बन्नु पर्दैन? अव हामीले सोध्ने वेला आएको छ, ती परिवर्तन पश्चात देश र जनताले पाएको उपलब्धि के हो ? आर्थिक वृद्दिदर कति भयो, कुन कुन परियोजना सकिए, जनताको स्तर कहाँवाट कहाँ पुग्यो । सक्छन् भन्न ?

के नेपालीले सत्ता परिवर्तन चाहेका छन्? सत्तामा जो आए पनि नेपालीलाई फरक परेको छैन, त्यसैले त कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी, कहिले राप्रपा आदिलाई अवसर दिईरहे जनताले। ३० वर्षे निरंकुश सत्ता फ्याँक्न योगदान छ भन्दै गर्व गर्नेहरुले ३० वर्ष सरकार चलाउँदा देशको लागि के गरे?  सोध्ने बेला आएको छ,खोज्ने वेला आएको छ।

पटक पटकको प्रयासमा पनि सफल हुन नसक्नु भनेको आफ्नो क्षमता र दक्षतामा प्रश्न चिन्ह ऊठ्नु हो। आफ्नो हैसियत र औकातभन्दा बाहिरको कुरा हो भनेर प्रमाणित हुनु हो। पटक पटकको प्रयासमा पनि देश र जनताको लागि गुणात्मक नतीजा दिन नसक्ने पार्टीहरुले सत्ता प्राप्तीको खेलमा लाग्नु भनेको देश र जनतालाई धोका हो। अझै दशकौं वर्षको लागि देशलाई अन्धकारमा धकेल्नु हो। अब सवै सचेत वर्गले यो कुरा बुझ्न आवश्यक भएको छ क्षमता नहुनेहरुले अब सत्तामा जाने रहर गर्नु हुदैन बरु त्यो क्षमता राख्नेहरुलाई सत्ताको वागडोरमा पुर्याऊन सहयोग गर्नु पर्छ।

 गर्भे काङ्ग्रेस र कम्युनिष्टहरु
बाबु हजुरबाबुले जानेर नजानेर कुनै राजनीतिक बिचारलाई अंगालेका थिए भन्दैमा छोरा नातीले त्यसमै लाग्नुपर्छ भन्ने हुन्छ? कुनै राजनीतिक विचारको समर्थन गर्ने नगर्ने भनेको त आफूले बुझेर मनन गर्ने बिषय वस्तु  होईन र ? हुन त नेपाल, भारत लगाएतका बिभिन्न मुलुकमा बिरादरीको राजनीति फस्टाएको छ । के राजनीति भन्ने विषय जीनवाट सरेर दर सन्तानमा जाने हो त ? विज्ञानले त त्यसो भन्दैन होला सायद । आफ्नो पढे पढेको, साथी संगत र परिवेशले राजनीति वुझ्न, सिक्न पक्कै पनि मद्दत गर्ला तर कांग्रेसको छोरा नाती काङ्ग्रेस , अथवा कम्युनिष्टको छोरा नाती कम्युनिष्ट नै हुन्छ भन्ने हुन्छ र ?  राजनीति के हो, कस्तो हो भन्ने कुरा बुझ्दा नबुझ्दै प्रबासीएको एक जना युवा राजनैतिक प्रशिक्षण बिना कसरी कुनै पार्टीको कार्यकर्ता बन्न सक्ला र ?

नेपालको २०-२२ बर्षको उमेरसम्म कुनै राजनैतिक प्रशिक्षण नलिएको, कहिल्यै मतदानमा सहभागी नभएको मानिस प्रवासमा आएपछि कसरी काङ्ग्रेस कम्युनिष्ट बन्न सक्ला मेरो मनमा उठेको सार्है ठूलो प्रश्न हो यो। सिद्धान्त नबुझी कुनै पार्टी वा नेताको समर्थन गर्नु भनेको स्वयंको व्यक्तित्वको मात्र होईन, देशलाई पनि धोका हो। राम्रो भन्दा पनि हाम्रो शक्तिमा पुग्नु हो, बिकासको वाधक हो।

देशमा बिभिन्न बिदेशी वाद( जो जहाँबाट आए ती देशमै फ्लप छन्)का पुच्छर झुन्याएर वनेका पार्टीहरुको देशको लागि गरिरहेका छन् कि अन्य कसैका लागि काम गरिरहेका छन् भन्ने कुरा व्यापक रुपमा उठिरहेको वर्तमान परिस्थितिमा सबै सचेत नेपालीले वुझ्न आवश्यक भईसकेको छ। हामीलाई बिकास चाहिएको छ, देशमा समृद्दि चाहिएको छ।राजनैतिक चेतबिना कुनै पार्टी वा नेताहरुको अन्धभक्त हुने समय होईन यो वावुको, वाजेको पार्टीसँग सम्वन्ध जोडेर आफ्नो बनाउन खोज्नेहरु प्रति  सचेत हुन जरुरी छ। बाबु बाजेका पालादेखि नाती नातीनीका पालासम्म एऊटै पार्टीको ढाकर बोक्न जरुरी छैन। समृद्धिको लागि नेपालमा कुनै आयातित वाद चाहिएको होईन समृद्धिको एजेन्डा चाहिएको हो ,वाद नै चाहिएको हो भने पनि त्यो बिकासवाद चाहिएको हो,नेपालवाद चाहिएको हो।

त्यो नेपालवादी र समृद्दिवादी दल छनोट नगरेर अझै पनि आफैले आफैलाई कहिलेसम्म धोका दिईरहने? परिवर्तनका लागि लडेकाहरुको अक्षम्य हर्कतहरु टुलुटुलु हेर्दै ताली कहिलेसम्म बजाईरहने?

बिन्ती छस् अब राजनीतिको जीन बदलौँ, देश आफै बदलिन्छ।

प्रभात किरण
सामाजिक अभियन्ता, डेनमार्क डवली
कोपनहेगन डेनमार्क

 

 

तपाईंको प्रतिक्रिया/टिप्पणी