टि–ट्वान्टी सिरिज भारतले जित्यो, एकदिवसीय भोलिबाट

काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको तीन टि–ट्वान्टी क्रिकेट सिरिज क्लीनस्वीप गरेको छ। गएराति अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज क्लीनस्वीप गरेको हो।

१ सय ४७ रनको लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो। भारतको जितमा कप्तान विराट कोहली र रिसब पन्तले अर्धशतकीय पारी खेले।

भारतका लागि कप्तान कोहलीले ५९ र रिसबले अविजित ६५ रन बनाए। केएल राहुलले २० रन बनाउँदा शिखर धवनले ३ रन जोडेका थिए। वेस्ट इन्डिजका ओसाने थोमसले २ तथा फाबियन एलिनले १ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो। किरोन पोलार्डले ५८ रन बनाए पनि टोलीलाई जिताउन असफल रहे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने

वेस्ट इन्डिजका खेलाडीलाई सस्तैमा रोक्न भारतका दीपक चाहरले ३ विकेट लिए। ३ ओभर बलिङ गर्दै १ मेडन ४ रनमात्र खर्चिएका दीपक म्यान अफ द म्याच पनि भए।

यस्तै नभदिप सैनीले २ विकेट लिँदा राहुल चाहरको नाममा १ विकेट रह्यो। भारतले यसअघि पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा २२ रनले विजयी भएको थियो। टि–ट्वान्टी सिरिज कब्जा गरेको भारत भोलिबाट एकदिवसीय सिरिज खेल्दैछ।