माया फूल्दैन अचेल

Prabhu Bank

आजका कविताहरु पीडामा किन रुन्छन्?
मात्रृभूमिको बेदनामा, हरपल छटपटाउँछन्
गुराँस फूल्ने श्लोकहरुमा, बिष फूल्न थाल्यो
कलाकारका चित्रहरु, रगतको होली खेल्न थाले।

Saftey Pads

त्यो सिम्रिक आज रगत बनी बगेकोले हो कि?
मान्छेको रगत खुकुरीमा जमेकोले हो कि?
त्यो सुनगाभा र सयपत्री नि, आज फूल्नै छाडे
कोशी र गण्डकी नि, सुसाउनै छाडे।

प्रकृतिको सौन्दर्यमा, रम्ने कलमहरु
आज रोदन र क्रन्दनको भाषा किन बोल्छन्?
सप्तरंगमा लिपिने कलाकारका कूची
आज कालो रात र सडेको लाशको किन चित्रण गर्छन?

यहाँ हाँस्नै छोडे कविताहरु प्रकृतिको रंगमा
जाग्नै छोडे ध्वनिहरु मायाको तरंगमा
यहाँ अनाथको आँशुले नदी बनेकोले हो कि?
युवाको रगतले माटो भिजेकोले हो कि?

आज यहाँ देश रोएछ, पहाड भाँसिएछ
आत्मा सुकेर आज शास रोकिएछ
गूलाफ फूल्ने कवितामा माया फुल्दैन आज
किनकि आज जताततै बिष फूलेको छ
यहाँ आफ्नाले आफ्नैको रगत पिएको छ।

Maruti Cement