अनि उ बौलाहा बन्छ…

Prabhu Bank

सरस्वती विद्यालयबाट
नैतिक शिक्षा पढाउने एउटा शिक्षक
पुस्तकको एक अध्याय पूरा नगर्दै
नजिकैको ‘तुफान मदिरा पसल’मा छिर्छ ।

Saftey Pads

उसले नैतिकको पाठ पढाए बापत
प्रति दिन जम्माजम्मी आठ सय कमाउँछ
तर,
उ क्षणभरमै हजार जति पर्ने
‘मेड इन नेपाल’ लेखिएको
एक राष्ट्रिय झोलको
सिंगो बोतल रित्तो बनाउछ।

अनि फुराउँछ …..
राष्ट्रवादका भयानक पंक्तिहरु,
समाजवादका सशक्त हरफहरु
उ कसैको प्रवाह नगर्दै….
विदेशी संगीतले प्रभावित भए झैँ
हल्ली हल्ली घरको गल्लीतिर लाग्छ।

उसको घरका
केहि क्विंटल भौतिक शरीरहरु
र आधा दर्जनजति मृत नाताहरु
उ घर नपुग्दै उ आएको अनुभव गरिरहेछन्
भूकम्पमा हल्लिएजस्तो
उसको चचहुईँ देखेर।

छिमेकीमा रात आउँछ
थकानको राहत बनेर
उसको घरमा रात आउँछ
भयानक मात बनेर
अरुको रात निन्द्रामा बित्छ,
उसको घरको निन्द्रा
रातमा बित्छ
बिहान,
शनिबार भनौं वा शनिको बार
उज्यालो त परको कुरा
उ ज्याला गर्नेहरु भन्दा अगावै
चियाको सट्टा चियो चर्चा गर्न
‘तुफान मदिरा पसल’मा
आफ्नो अपारदर्शी भविष्यलाई
पारदर्शी गिलासमा हाली
मस्त हुन्छ, मौला हुन्छ,
अनि एकैछिनमा बौलाहा हुन्छ।

अन्य सम्बन्धित समाचार:  रेल चढी खोज्न जाम, कहाँ जन्म्या रैछन् राम?

उसको घर जति रोईरहन्छ
दोब्बर खुशी सरकारले मनाउँछ
किनकि
उ सरकारी शिक्षक
वा भनौं सरकारको शिक्षक
उसले तिरेको करले
सरकारलाई राज गर्न
पर्याप्त राजश्व आइरहेको छ
र त
सरकारले मदिरालाई
’अमृत’ झै विस्तार गरिरहेछ।

 

– कन्चनपुर

Maruti Cement