नागढुुंंगा–कलंकी सडक हरियाली बनाउन वृक्षारोपण अभियान शुरू

काठमाडौं । राजधानी काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा–कलंकी सडक किनारा हरियाली बनाउने कामको थालनी भएको छ।

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान शुरू गरेको हो।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत् थालनी गरेका छन्।

नागढुंगादेखि थानकोटसम्मको ३ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सहसचिव डा. रामप्रसाद लम्सालले जानकारी दिए।

लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए।

यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा बृहत् वृक्षारोपण गरिसकेको छ। मन्त्रालयले देशभर ५ करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ।

अन्य सम्बन्धित समाचार:  धर्नामा बसेका व्यक्तिको जीवन रक्षा गर्न आयोगको आग्रह