गणतन्त्रलाई गाली गर्नेहरुका नाममा..

अपदस्थ राजा ज्ञानेन्द्रले गत हप्ता एउटा ‘संदेश संग्रह’ नामक पुस्तक बिमोचन गरे। सन्देश संग्रहमा उनले ठ्याक्कै के लेखेका छन् भन्ने भन्दा बढि चर्चा त्यो किताबको अस्वभाविक मूल्यको बारेमा भयो। एउटा गरीब परिवारको एक महिनाको राशन किन्न पुग्ने मूल्य रु. ५,५५५/- को। त्यो पुस्तक कस-कसले किने त्यो पनि थाहा भएन तर पहिलो प्रकाशित प्रतिमध्ये बिमोजनकै दिन सबै बिक्री भयो भन्ने समाचार बाहिरियो। जे होस् उनको जयजयकार गर्नेहरुले नकिन्ने कुरै भएन।जति मूल्य भए पनि किने। राजावादी देखि गणतन्त्रवादी सबैका अरिंगाल मण्डलीहरुले आ आफ्ना नेताहरुलाई प्रतिरक्षा त गरिरहेकै छन्, जयजयकार गरिरहेकै छन्।

गणतन्त्रको बदनामीमा मख्ख राजावादीहरु

गणतन्त्रको कति जनाले बदनामी गरे भनेर कुनै तथ्यांकमा टेकेर बोल्नु पर्दैन किनकि हाम्रै आँखा अगाडि भएका र नभएका कामहरुले नै गणतन्त्रलाई गिज्याईरहेका छन्। खासमा संचालकहरुलाई गिज्याउनुपर्नेमा बिचरा गणतन्त्रलाई गिज्याईएको छ। ब्यवस्था फेरिएर पनि अवस्थाको जंजीरमा बेरिएका कैयौँ नेपालीहरु आज देश बाहिर छन्। आफ्नो देशमा सम्भावनाको ढोका बन्द भएपछि जो कोही पनि परदेश भासिन्छ, भासिएकै छन्, यसो हुनुमा त्यो निर्जीव गणतन्त्रको के दोष? गणतन्त्र नेपाली जनताको माग थियो थिएन भन्ने कुरा बहशको बिषय बन्न जरुरी छैन किनकि गणतन्त्रको माग समयको माग थियो, सयौँ बर्षदेखि रैतीको हैसियतमा रहेका जनतालाई राज्य संचालनको मेरुदण्ड बनाउनु थियो।

सगरमाथा र बुद्दको देशका हामीले चिनाउन खोजेको नेपालमा सत्ता र शक्तिका लागि दलका नेताहरुले राजनैतिक परिवर्तनपछि समृद्द नेपालको नेतृत्व लेलान् भन्ने बेलामा आफ्नो कार्यभार र इतिहाँस बिर्सेर समाज र राज्यलाई बिभाजनको खाडलमा हाल्न थाले। गणतन्त्रमा जनताको छोरा छोरी राष्ट्रपति हुन्छन्,जनताकै छोरा छोरी प्रधानमन्त्री हुन्छन्, कुनै बंश या खान्दानमा जन्म भएकै आधारमा राजा हुने कुराले योग्यता प्रणालीलाई सिधै चुनौति दिने हुनाले राजतन्त्रको बिकल्प गणतन्त्र बनेको हो। जनताले पाउने अधिकारका दृष्टिले गणतन्त्रको तुलना अरु ब्यवस्थासंग हुनै सक्दैन। तर यहि गणतन्त्र बदनाम गर्नेहरु बर्गेल्ती देखिदैछन्। हो,गणतन्त्रलाई त्यसकै सर्जकहरुले जोकतन्त्र बनाए। दलका नेताहरुले पटक पटक गरेको घातलाई सम्झना मात्र गर्ने हो भने सबैभन्दा बढि गाली गणतन्त्रले नै खाएको छ। नेताहरुका एकाएक परिवर्तन भएका हैसियत मात्र हेर्ने हो भने नेताले भन्दा बढि आलोचना गणतन्त्रले नै खाएको छ।

त्यसो त कुनै पनि ब्यवस्थाले आफूलाई खराब छु भन्दैन। खराब बनाउने भनेको त्यसलाई कार्यान्वयन गर्नेहरुले नै हो। संसारका २९ देशमा अझै पनि राजतन्त्र अस्तित्वमा छ ती देशमा पनि बिकास त भएकै छ।तर नेपालको सन्दर्भमा नचाहिदो शक्ति उन्मादकै प्रदर्शनले राजतन्त्र समाप्त भएको कतै लुकाएर लुक्दैन। अढाई सय बर्षसम्म भोगेको त्यो कालो ब्यवस्था राजतन्त्रलाई जयजयकार गरेर गणतन्त्रलाई सराप्नु भनेको स्वच्छन्द आकाश छोडेर पिजडामा बस्न जान्छु भनेजस्तै हो, नागरिकबाट प्रजा बन्नु हो, रैती बन्नका लागि रहर गर्नेहरुलाई के भन्नु?

हो, राष्ट्रियताको सवालमा राजाहरुको देन ठूलो छ, आज जसलाई हामी नेपाल भनेर गर्व गरिरहेका छौँ, त्यसको श्रेय राजाहरुलाई नै जान्छ। तर राजाले जनताका लागि भन्दा आफ्नै बैभवका लागि देश बचाएको कुरा कसैबाट छिप्दैन, हैन भने देश किन कहिल्यै गरीबको दुश्चक्रबाट हट्न सकेन? ब्यवस्थाको बिरोध गर्नेलाई करेन्ट लगाउने, सर्वष्वहरण गर्ने, जेल हाल्ने आदि कामहरु किन भईरहे? किन राजाहरु सर्वसम्पन्न र जनताहरु गरीब मात्र भईरहे?

तिनै राजाहरुले देशमा झण्डै अढाई शताब्दी शासन गर्दा देश संसारकै अति गरीब किन बन्यो? किन संसारले फड्को मार्दा हामी अझै बिहान साँझकै गासकै जोहोका लागि लडिरहेका छौँ? किन सोह्रौ शताब्दीको युरोप अमेरिका भन्दा हाम्रो देश अझै पनि पछाडि छ? किन हामी अझै दोश्रो दर्जाको जीवन बाँचिरहेका छौँ? तीस बर्ष शासन चलाएका दलहरुले भन्दा पहिले अढाई शताब्दी शासन गर्नेले जिम्मेवारी लिए त? कतै लिएको सुनिएन।

राजाहरु ठिक भईदिएको भए हाम्रो आर्थिक र सामाजिक हैसियत कस्तो हुन्थ्यो होला? राजाहरुले जनतालाई रैती नबनाएको भए आज नेपाल र नेपालीको हैसियत कहाँ पुग्थ्यो होला? देशको एकछत्र शासन सम्हालेका राजाले एक दुईटा सडक, एक दुई बिद्यालय,एक दुई उद्योग र एक दुईटा बिकासका काम के गरेका थिए, हामीले अहिले आएर राजाहरुलाई दूरदर्शी ठान्न थालिसक्यौ,गणतन्त्रका स्मारकहरुमा ढुङ्गा हान्न थालिसक्यौँ। तिनै राजा अहिले नागरिकको हैसियतमा बसेका छन्, देश छाडेर कतै शरण लिन गएका छैनन्, बेला बेलामा मौजूदा ब्यवस्थाप्रति असन्तुष्टि पोखेका छन्। राजालाई धन्यवाद छ। तिनै राजालाई निरुंकुश र शौखिन भए भनेर आरोप लगाउने, बर्ग संघर्षको जगबाट उदाएका नेताहरु आफू सुध्रिन कता हो कता उल्टै पूर्व राजाले ब्यक्त गरेको असन्तुष्टिलाई ‘बक बक गरे नागार्जुनबाट लखेट्ने’ धम्की दिन्छन्। त्यसो भन्ने नेताहरुलाई धिक्कार छ। तर खाँटी कुरो के भने ‘सत्ताच्युत भएपछि पूर्व राजा पनि खाँटी बिकासप्रेमी र परोपकारी बन्न खोजेको प्रष्ट देखिन्छ। तर यिनै राजाहरुले आफ्नो र आफ्नै आसेपासेको मात्र नहेरेको भए अहिले हामीले चन्दा उठाएर परोपकार गर्नुपर्थेन, याचना गरेर समाजसेवा गर्नुपर्थेन। अफ्रिकाका गरीबहरुका लागि हामी डोनर बन्थ्यौ होला, अमेरिका युरोपका लागि हामी प्रमुख दाता बन्थ्यौँ होला।

अप्रत्यासित रुपमा मारिएर मात्र हो, नत्र राजा वीरेन्द्रको पनि कम आलोचना भएको हैन। पंचायतदेखि बहुदलीय प्रजातन्त्रको बेलासम्म राजा र राजपरिवारले बिदेशमा थुपारेको धन, राजाकै आडमा आसेपासेहरुले गरेको भ्रष्टाचारको कहिल्यै समाचार बनेन, किनकि राजा बिरुद्द आवाज उठाउनु भनेको मृत्यु शैयामा चढ्न तयार हुनु जस्तो थियो। हामीले गाली गर्ने गणतन्त्रकै कारण आज मन नपरेकाहरुलाई धित मर्ने गरी गाली गर्न पाईएको छ, बिसंगतिबारे औला ठड्याएर खबरदारी गर्न पाईएको छ, आफ्नो राष्ट्रपति प्रधानमन्त्री आफै चुन्न पाईएको छ, सहभागितात्मक बिकास, सचेत नागरिक, सुशासनको वकालत, नागरिकको भूमिकाको अर्थपूर्ण प्रयोग सम्भव हुनुका पछाडि गणतन्त्रको दोष हैन देन हो।

अपदस्थ राजा अहिले जनताकै हैसियतमा छन, पूर्व राजाको मर्यादाक्रम तोक्न नेताहरु हिच्किचाए पनि धेरै जनताले राजाप्रति सहानुभूति ब्यक्त गरेका छन्। यसको अर्थ राजा सबै मानेमा ठिक भन्ने होईन।यस्तो बेला बरु राजतन्त्र नै ठिक थियो भन्नु जनआक्रोश मात्रै हो। अढाई सय बर्षसम्मको ब्यवस्थाको प्रत्यक्ष साक्षी बनेकाहरुले राजतन्त्र ठिक थियो भनेर भन्न सक्दैनन्, किनकि स्वतन्त्रताको अर्थ पिजडाको सुगालाई थाहा हुन्छ। भोकको अर्थ भोकाहरुलाई थाहा हुन्छ।

२०६२/६३ को जनआन्दोलनमा सहभागी हुँदा मैले जस्तै धेरै जनताले सोँचेका थिए कि अब हामीलाई सेतो हात्ती पालिरहनु पर्ने छैन। बर्षौँदेखि संस्थागत भएको त्यो शक्तिशाली राजतन्त्र जरैदेखि फालेपछि बल्ल देशले समृद्दिको गति लिने छ भन्नेहरुको जमात ठूलो थियो। तर पनि गणतन्त्रका तेह्र बर्षमा जनताले खोजेको त्यो उषा अझै आएको छैन, मेरा सपनाहरु जस्तै धेरै नेपाली जनताका सपनाहरु अझै बिलीन भएपनि आशा मरेको छैन किनकि लोकतन्त्रभन्दा उत्तम ब्यवस्था अरु छैन। दाहसंस्कार गरिसकेको राजतन्त्र कुनै पनि हालतमा फर्कन सक्दैन, तर हाम्रा राजनैतिक पार्टी र नेताहरु सुध्रिन चाहे भने सुध्रिन सक्छन्, नसके यिनीहरुको बिकल्प छ, तर ब्यवस्थाकै बिकल्प छैन। ब्यवस्थालाई दोष दिएर त्यो कालो दिनको लागि कामना गर्नेहरुसंग बहश गर्नु निरर्थक छ।

पूर्व राजालाई राष्ट्र प्रमुख नै बनाउने अपेक्षा राखेर कसैले उनलाई समर्थन गरिरहेको छ भने उनलाई कुनै नयाँ पार्टी खोल्न सल्लाह दिए हुन्छ, गणतन्त्रकै छत्र छायाँमा जनताले पत्याए भने जन निर्वा्चित प्रधानमन्त्री, राष्ट्रपति हुनबाट उनलाई कसैले रोक्न सक्दैन। पूर्व राजा ज्ञानेन्द्रमा त्यो हिम्मत देख्न पाईयोस्…

तपाईंको प्रतिक्रिया/टिप्पणी