तनहुँ । तनहुँमा किराना पसल सञ्चालकको घाँटी रेटेर हत्या गरिएको छ।
डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको हो।
शाही आइतबार रातिदेखि बेपत्ता शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका थिए। प्रहरी उपरीक्षक सिलवालले घाँटीमा धारिलो चोट लागेको अवस्थामा शाहीको शव फेला परेको बताए।
शाही सुनको सौखिन भएकाले यसकै प्रलोभनमा हत्या भएको हुनसक्ने स्थानीयले बताए। प्रहरीका अनुसार शवलाई परीक्षणका लागि दमौली पठाएर थप अनुसन्धान भइरहेको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाइएको छ।