भौतिक पूर्वाधारमन्त्रीलाई तीन दिनभित्र पक्राउ गर्न आदेश

काठमाडौं। उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले भौतिक पूर्वाधारमन्त्री खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको हो।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर भएको रिटमा आदेश गर्दै पक्राउ गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ।

कृषि विकास बैंक भोजपुरबाट जारी गरेको फर्जी बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहर छ।

ठेकेदार समेत रहेका मन्त्री खत्रीको आफ्नै निर्माण कम्पनी छ। उनी ५५/५५ लाख रुपैयाँका दुई ओटा ठेक्काको बैंक ग्यारेन्टी किर्ते बनाउँदा साक्षी बसेका थिए।

‘अभियोगपत्रमा कर्णाली प्रदेशका मन्त्री कृष्ण खत्रीको छोरा भनी उल्लेख गरिएको देखिँदा यस प्रकारको अपराध अनुसन्धान र अभियोजन पद्धति फौजदारी न्यायप्रति मजाक हुने अवस्थातर्फ अनुसन्धान र अभियोजनकर्ताको गम्भीर ध्यानाकर्षण गराउँछौं’ सोमबार जारी गरिएको अदालतको आदेशमा भनिएको छ। ‘प्रतिवादी खड्गबहादुर खत्री कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री हुन् वा मन्त्रीका छोरा के हुन्, सोको यकिन जवाफसहित निज मन्त्री पदमा बहाल रहेको भए तीन दिनभित्र वयानका लागि यी प्रतिवादीलाई यस अदालतमा पेश गर्नु।’

तपाईंको प्रतिक्रिया/टिप्पणी