युवाहरू हनुमान बन्ने कि क्षमतावान?

“मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीबाट सु-संस्कृत राजनीति गर्ने भइन् रे नि त !” नेपाली राजनीतिको बारेमा चासो राख्ने तर फोहोरी खेल भन्दै यसमा प्रत्यक्ष रचनात्मक भूमिका खेल्न नचाहने मेरा एक मित्रले एकाबिहानै समाचार हेर्दै भने। उनले थपे,” मिस नेपालको प्रमुख तीन ट्यालेन्ट विजेता भएकी सुन्दरीले सिने कलाकार, मोडल या टेलिभिजन कार्यक्रम प्रस्तोता हुनु नि, के राजनीति गर्न ला होलिन् !”

“हैन दाइ, प्रियाको राजनीतिमा प्रवेश गरेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न विचार उनको बाह्य सुन्दरता भन्दा पनि अझै सुन्दर र साहसिक लाग्यो मलाई त“, मैले भनेँ।

टाउको त हल्लाए तर उनले मेरो कुरा खासै बुझे जस्तो लागेन मलाई।  “ब्युटी लाईज इन द आईज अफ बियर-होल्डर “ भन्दै आफै मन-मगन रही नौ डाँडा पारीका मात्रै सपना देख्ने धेरैलाई देशमै सामाजिक रूपान्तरण ल्याउन युवाको सक्रिय भूमिका हुनुपर्छ भन्ने सुन्दर सोचले छुँदैन।

केहि दिन अघि नेकपाका प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्री बने। सामाजिक सञ्जालमा उनलाई युवा नेता योगेश भट्टराई पर्यटन मन्त्री भएकोमा बधाई भन्नेको ओइरो नै लाग्यो, तर खासमा उनी ५३ वर्षका भइसकेका रहेछन्। त्यसो त सत्तरी वर्षका नेताहरूलाई दाई भनेर सम्बोधन गर्नेहरूको कमी छैन। देशको वर्तमान आर्थिक र राजनैतिक अवस्थाले युवालाई स्थान नै दिएको छैन या त भातृङ्गठनहरूमा मात्र सीमित गरिदिएको छ। ती भ्रातृसँगठनहरू पनि कस्ता भने ‘पार्टीका नेताहरूका पकेट जस्ता।’ त्यसो त युवा हुनु नै सबै योग्यता हुँदै होइन तर विज्ञता र क्षमता सहितको युवाले गर्ने काम अरुले गर्न सक्ने कुरै भएन। देशमा हिजो युवालाई बन्दुक भिराउने नाइके आज मानव अधिकार हननको मुद्दाको कुरो आउँदा म त्यो हिंसामा म प्रत्यक्ष सामिल थिएन भन्दै बुद्ध बन्न खोज्दैछन् त कोही वैकल्पिक शक्ति भन्नेहरू आफ्नै भविष्यको विकल्प चाहार्दै क्षेत्रीय राजनीतिमा विलय भयका छन्। यो सब निराशा चल्दै गर्दा केही नागरिक अभियानहरूको नामको नयाँ बोत्तलमा पुरानै राजतन्त्र र धार्मिकताको रक्सी बेच्न प्रतिगमनवादी तत्त्वहरू युवाहरुलाई फेरि भड्काउने प्रयास गर्दै छन्। तर एक व्यक्ति या समूहको स्वार्थ पूर्ति गर्न साढे ३ करोड जनताको बर्षौँको संघर्षले संस्थागत गरेको लोकतन्त्रलाई तिलाञ्जली दिने प्रश्न नै आउँदैन।

अब समाधान के त? के हामीले समृद्ध नेपालको सपनाको तिलाञ्जली दिई, हामी देशका लागि केही गर्न सक्दैनौँ या चाहदैनौं भन्ने स्विकार्ने? अब युवाहरुले होशियार हुन जरुरी छ।देशमा भ्रष्टाचार, बेरोजगारी मौलाई रहेको बेलामा कतै जागिरका अवसर खुल्ने बित्तिकै राजनीतिक नियुक्ति र नातावादले खुल्ला प्रतिस्पर्धाबाट चयन हुने ढोका बन्द गरिदिन्छन्। त्यसैले अहिले पहाडका युवा तराई झर्न चाहन्छन् , तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष युवा शक्ति पलायन रोक्न केही दिगो नीति र योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ। परम्परागत ठूला भनाउँदा पार्टीहरू ७० वर्षका नेता आफूलाई युवा नेता भन्दै गर्दा युवालाई स्थान खै? त्यसैले पनि युवाहरूको स्थान वैकल्पिक पार्टीहरूमा मात्रै आरक्षित भएको प्रतित हुन्छ।

साझा पार्टीले २४ बर्षीय प्रिया सिग्देललाई केन्द्रीय सदस्यको रूपमा मनोनयन गरेर फेरि एउटा सकारात्मक सन्देश दिएको छ। करिब एक महिना अघि स्वास्थ्य क्षेत्रमा एक सय भन्दा बढि देशमा काम गर्ने विष्व परामर्श दातृ संस्था क्युइडी ग्रुपको एसिया क्षेत्रका निर्देशकबाट राजीनामा दिएका डा. सिद्धि अर्याल मुलुक र जनताको हितका लागि काम गर्न साझा पार्टीमा आवद्ध भएका थिए। डा. सिद्धि अर्यालले, ’राम्रा व्यक्तिहरूलाई ओझेलमा राख्ने पार्टीहरूबाट रूपान्तरण र संमृद्धि सम्भव छैन, साझा पार्टीले दक्षता र क्षमता भएका व्यक्तिलाई आफ्नो पार्टीको नेतृत्व पङ्क्तिमा ल्याउँछ। अब देश हामी बदल्छौँ।’ भन्दै साझा पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका थिए। त्यसपछि पनि साझाले समाजमा स्वच्छ छवि भएका दक्ष व्यक्तिहरूलाई आफ्नो पार्टीमा नेतृत्वदायी भूमिका दिँदै आएको छ।

यसरी नै ‘हात्ती हात्ती’ नामक  गैरसरकारी संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी सिग्देलले एक युवा तथा महिला नेतृत्व लगायत विषयमा उनले विभिन्न देशमा नेपालको तर्फबाट प्रस्तुति समेत दिएकी छन्। सिग्देल भन्छिन्स् “अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।” यस्ता समाचारहरूले नेपाली राजनीतिमा विकल्प छ भन्ने आभास गराउँछ।

आफ्ना स्वार्थपूर्तिका लागि जाति, धर्म, प्रदेश अनि वर्गको नाउँमा विभिन्न गुटले फेरि आज युवालाई भड्काउने प्रयास गर्दै छन्। अब हामी युवाले स्व-विवेक प्रयोग गर्नुपर्छ। राजनीतिले हाम्रो जीवनको हरेक पाटोलाई रङ्गाइदिएको छ भने अब हामीले यसलाई फोहोरी खेल भनेर टाढा बस्ने स्थिति छैन। सडकमा गई बन्द-हडताल गरौँ भनेको हैन। सबैलाई सक्रिय रूपमा राजनीति गर्नुहोस् पनि भनेको हैन, तर अब वैचारिक रूपमा हामीले चासो देखाउनै पर्छ। बिशेष गरी अब आउने स्थानीय अनि राष्ट्रिय निर्वाचनहरूमा हामीले स्वतंत्र भई वालिग मताधिकारको सही प्रयोग गर्नैपर्छ। सु-संस्कृत राजनीतिप्रति सद्भाव राख्नुपर्छ तर, विध्वंसकारी आन्दोलनमा आफ्नो ऊर्जा र समय खर्ची देशको भौतिक संरचनाको क्षति पुर्‍याउने काम कदापि गर्नुहुन्न। देश बदल्नु छ भने अब हामी सबै नेपालीले राजनीतिक आस्थामा स्वतन्त्र भई हाम्रा भन्दा राम्राको चयन गर्नैपर्छ। अब सुसंस्कृत र मूल्य-मान्यताको वैकल्पिक राजनीति गर्न चाहने सचेत नागरिक एकै छातामुनि उभिनु जरुरी छ।

म आफ्नो “तैँ गर डर्टी पोलटिक्स सुड्डा, म त बालै दिन्न !” भन्ने कविताका केही पङ्क्ति उधृत गर्दै मेरा युवा साथीहरूलाई देशको स्थितिप्रति सचेत भई देश समृद्ध बनाउन रचनात्मक भूमिका खेल्न आग्रह गर्दैछु।

हो, देश बिग्रेकोमा मन त छ खिन्न
तर, बेफाँकको टिनसन म टाउकाँ लिन्न
अब, एक्लैले गर्न नि केहि सकिन्न
त्यसैले,
तै गर डर्टी पोलटिक्स सुड्डा, म त बालै दिन्न!

एउटा कुरा याद राख मेरा युवा मित्र
यदि बदल्नु छ भने देशको मानचित्र
आँखा खोली हेर के हुँदैछ हाम्रो देशभित्र !

देशको हितमा जो बोल्छ उसकै कुरा सुन
हाम्रा मात्रै हैन अब राम्रालाई चुन
विकल्प खोज्ने हैन अब
थाल आफैँ विकल्प हुन।

युवाले उद्यम नगरे देश समृद्ध हुन्न
आफ्नो सोँच नबदली अब देश बदलिन्न
कान खोलेर सुन सब
दुई विकल्प छन् अब,
या,
देश डुब्न दिने, आफू केहि नगर्ने
भ्रष्टाचारी सङ्गै नर्कमा कीरा पर्ने
वा,
सु(संस्कृत राजनीति गर्ने,
समृद्ध नेपाल हेरेरै मर्ने !

आफ्नो सोच नबदली अब देश बदलिन्न
त्यसैले,
नभन युवा मित्र पोलटिक्सलाई म बालै दिन्न!

खप्तडछान्ना ५ (पिठेतोला), बझाङ 
हाल: विद्यावारिधि (रसायनशास्त्र)
युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका

 

तपाईंको प्रतिक्रिया/टिप्पणी