सरकार ! जनैपूर्णिमाको बिदा काटेर ‘हिश्चियन’ बन्यौ?

Prabhu Bank

– कमलप्रकाश पौडेल

Saftey Pads

मलाई बिदाको कुनै लोभ छैन ।तर मेरो संस्कृतिप्रति मलाई अगाध प्रेम छ। मेरो सन्ततिलाई पनि संस्कृति सुम्पने दायित्व छ। मैले मेरा सन्ततिलाई मेरो संस्कारबारे बुझाउन नसके म जस्तो अपराधी को होला?

’खाएजस्तो गर्नु’ र ’खानु’मा आकाशपातालको फरक छैन र? खाएजस्तो त आमाबाबु गुमाएर कोरामा रहँदा पनि गरिन्छ नि।
सरकार! जम्मा १ दिन पैँचो बिदा पाऊँ न। मेरो कुनै साइनो नभएको चाडमा तिमीले दिएको बिदाको दिन सोधभर्ना गर्नेछु । ’जनै’को परिचय मैले कसरी दिउँला यस्तै रहिरहे? विजातीय नेता दुई तिहाइ हुँदा व्यवस्था पल्टने । तर सजातीय जनता ८१.३% हुँदा निरीह हुनुपर्ने?

सरकार ! आज मेरो संस्कृति तिम्रो कठघरामा छ। तिम्रो निगाहमा चल्ने भएको छ र त दिनभरि तिम्रो वेबसाईटमा घोत्लिरहें। कहिँ कतै बिदा बक्सिस हुन्छ कि भनेर। धेरै देश बदलिए जसले आफ्नो मौलिकता कहिल्यै गुमाएनन् । आज तिनै देशले सामाजिक-साँस्कृतिक पर्यटनका नाममा लाखौं पर्यटक भित्र्याएका छन्।

सरकार ! तिमी बदलिएर “हिस्चियन“ बन्यौ । न कालो बोको काट्न छोड्यौ न संस्कृति जोगायौ। नेपालमा मेरा कुन पुर्खा भित्रिए भन्ने यकिन गर्न नसक्दा मैले अरूलाई “आदिवासी“ घोषणा गर्दा सो भित्र म नै अटाइन। तर १० बर्ष मात्र पहिले तिमीले लादेको धर्मनिरपेक्षताका नाममा तिमीले नै व्यवस्था गरिदिएको ’मौलिक हक’को आहुती दिएको छु मैले।

सरकार किन-किन तिमी चामलको फर्काउने रोटी नफर्केर बिग्रेजस्तो न “पुवा“ बन्यौ न “रोटी“ नै रह्यौ । सरकार! मिलेसम्म मेरो संस्कृतिका नाममा १ दिनको बिदा पाउँ न। मेरा सन्ततिले तिमीलाई धन्य मान्नेछन्।

उपियाँको बोसो झिकेर साबुन फ्याक्ट्री खोल्न र बिदा काटेर समृद्धिको सपना देख्न कसले सिकायो हाम्रा नेतागणलाई?सुतेजस्तो नगर सरकार ! जाग, अब जागेनौ भने कहिल्यै उठ्ने छैनौ।

Maruti Cement